काठमाडौं : नेपालमा ८७ हजार हाराहारीमा यौनकर्मी रहेको एक तथ्यांकले देखाएको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर ८६ हजार ८०९ यौनकर्मी छन्।
महिला, कानून र विकास मञ्च (एफडब्लूएलडी) ले आयोजना गरेको यौन श्रममा संलग्न व्यक्तिको अधिकारका सम्बन्धमा छलफल कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो।
छलफलका क्रममा अनुसन्धानकर्मी दिदीक्षा सिंहले यौन श्रमसँग जोडिएको वर्तमान कानुन, यसलाई संशोधन गर्न बनेको विधेयक र यौन श्रमिकका लागि चाहिने कानूनबारे प्रस्तुति दिइन्। ‘वर्तमान कानुनले यौन श्रमलाई अपराधीकरण गरेको छ। यौन श्रमिकमाथि हुने हिंसा न्यूनीकरण गर्नुपर्ने, पुनःस्थापित हुन चाहनेका लागि विकल्प दिनुपर्ने र नेपालमा पनि ‘नोरडिक मोडल’को कानुनी व्यवस्था अपनाउनुपर्ने छ’, प्रस्तुतीकरणमा उनले भनिन्।
सरकारले मूल संहिताको धारा ११९ र १२० लाई संशोधन गर्ने तयारी गरेको छ। यो धारा संशोधन भए यौन तथा एचआइभी रोगीको सङ्ख्या बढ्ने सम्भावन रहेको सासा नेपालका प्रतिनिधि अधिवक्ता सञ्जय तिमल्सिनाले बताए।
‘यौनकर्मीले रेडलाइट एरिया पनि खोजेका छैनन्, नोरडिक मोडल पनि चाहेका छैनन्, उनीहरूले श्रमलाई मानव अधिकारसँग जोड्न मात्र चाहेका छन्’, उनले भने। यौन श्रमिकलाई कानुनी मान्यता नभए पनि निरअपराधीकरण गर्न जरुरी रहेको अधिवक्ता तिमल्सिनाको भनाइ छ।
यौनकर्मीलाई अभद्र व्यवहारको दफा लगाएर प्रहरीले दुःख दिन नहुने धारणा राख्दै संशोधित विधेयकले यौन श्रमिकलाई सम्बोधन गर्ने र जीविकोपार्जन सहज बनाउन वकालत गर्नुपर्नेमा कार्यक्रमका वक्ताको जोड दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।