जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानभूमि जनकपुरधाममा शासकीय स्वार्थ र कुव्यवस्थाका कारण अहिले विश्वविद्यालय स्थापना भएको बताएका छन्।
मंगलबार जनकपुरधाममा राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीले बल्ल जनकपुरधाममा विश्वविद्यालय स्थापना भएको र पहिलो दीक्षान्त समारोह सम्पन्न भएकोमा आश्चर्य व्यक्त गरे।
राजर्षि जनक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू पहिलोपटक दीक्षित भएकोमा खुसी व्यक्त गरे।
जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति कलाकेन्द्र भवनमा विश्व विद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ८६ विद्यार्थीलाई दीक्षित गरेका हुन्।
उनले अब आउने दिनमा यस्ता कमजोरीलाई वास्तविक प्रजातन्त्रको अभ्यास गर्दै हटाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
प्रधानमन्त्री ओलीले भने‚ ‘यहाँ सत्ययुगमा ज्ञानको छलफल हुन्थ्यो, विद्वताको छलफल हुन्थ्यो, दर्शनको छलफल हुन्थ्यो, त्यसको ४ हजार वर्षपछि हामी फेरी त्यहीँ स्थानमा आई पुगेका छौँ, खुशी लागेको छ। ४ हजार वर्षपछि फेरि हामी त्यही ठाउँमा पुगेकोमा खुशी छु, बीचमा हाम्रो इतिहास हराइसकेको थियो, केही केही विद्वान् मात्रै निस्किए विद्यापतिजस्ता यसमा शासकीय कुव्यवस्थाको कमजोरी हो।’
उनले थपे‚ ‘हाम्रो पहिलो व्यवस्थित विश्वविद्यालय २८ सय वर्षअगाडि थियो जब कि पश्चिमा विश्वविद्यालयको परम्परा साढे ४ सय वर्ष पुरानो हुनुले पनि हाम्रो शिक्षा प्रणाली प्राचीन रहेको कुरा प्रमाणित गर्छ।’
प्रधानमन्त्री ओलीले राजर्षि जनक विश्वविद्यालयको विषयमा चर्चा गर्दै भने‚ ‘अहिले थोरै विद्यार्थी छन् तर सफलताका लागि काफी छ, किनभने ठूला ठूला यात्राको आरम्भ पहिलो पाइलाबाट हुन्छ।’
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेशका जिल्लामा निरक्षतादर पछिल्लो केही जनगणना बढ्दै जानु चिन्ताको विषय भएको बताउँदै विश्वविद्यालयबाट दीक्षित हुनुभएका विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरे।
त्यसैगरी विभिन्न संकायमा उत्कृष्ट हुने काजोल रौनियार, प्रिया कर्ण, आरतिकुमारी राउत, रूपेश ठाकुर, दीक्षाकुमारी मण्डल, पंकज यादव, दीक्षा कर्ण, रानीकुमारी साह, ज्योति चौधरी र रश्मीकुमारीलाई उपकुलपति पदक दिइएको छ।
दीक्षान्त समारोहअघि प्रधानमन्त्री एवम् कुलपति ओलीको अध्यक्षतामा विश्वविद्यालय सभा (सिनेट) को बैठक पनि बसेको थियो।
संघीय सरकार मातहतको यो विश्वविद्यालयमा हाल चार संकायका १३ वटा शैक्षिक कार्यक्रम सञ्चालन छन्। एमफिल, एमबीए, बीबीए, बीडीबीएम, बीई–सिभिल, बीआईटी, बीसीए, बीएस्सी–सीएसआईटी, बीपीएच, बीएस्सी–एमएलटी, बीएस्सी–एजी, बीए–एलएलबी र बीजेएमसी छन्।
वरिष्ठ साहित्यकार तथा प्रध्यापक डा. राजेन्द्र विमल प्रमुख अतिथि रहेको समारोहमा विश्व विद्यालयका सहउपकुलपति समेत रहेका मधेशका मुख्यमन्त्री सतीशकुमार सिंह, उपकुलपति प्रध्यापक डा. अमरप्रसाद यादव लगायत सहभागी थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।