काठमाडौँ : हालै सम्पन्न माओवादी केन्द्रनिकट युवा संगठन वाइसिएलको राष्ट्रिय सम्मेलनले फेरि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको टकराव बल्झाएको छ।
७५ सदस्यीय जम्बो पदाधिकारी टिम, त्यो विधानविपरीत हेडक्वार्टरको हस्तक्षेपमा घोषणा गरिएपछि दुई पक्षबीचको टकराव छताछुल्ल भएको हो।
दुबै पक्षका नेताहरू एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका छन्, जसले अन्य विभिन्न पार्टीसँग एकता गर्ने भनिरहेको माओवादीमा उल्टै विभाजनलाई प्रश्रय दिएको छ।
पार्टीमा विधि–पद्धतिको कुरा जोडका साथ उठाउँदै आएका उपमहासचिव शर्मा जुनसुकै तह वा संगठनको नेतृत्व प्रतिस्पर्धाबाटै आउँदा लोकतान्त्रिक हुन्छ भन्नेमा पक्ष उभिँदै आएका छन्। वाइसिएलको सन्दर्भमा पनि शर्मा पक्षले त्यसैमा जोड दिएको थियो
सर्वसम्मत भएको अवस्थामा पनि वाइसिएलको विधानअनुसार ३५ जनाकै पदाधिकारी टिम बनाउनुपर्ने पक्षमा शर्मा पक्ष थियो। तर हेडक्वार्टरले निर्वाचन नगरी पुष्प वलीको नेतृत्वमा वाईसीएलको ७५ सदस्यीय पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेपछि नेताहरू ‘सामाजिक सञ्जाल वार’मा उत्रिएका छन्।
जम्बो समितिमा २२ उपाध्यक्ष, १-१ महासचिव र कोषाध्यक्ष, १९ उपमहासचिव र ३१ जना सचिवको व्यवस्था गरिएको थियो। जम्बो पदाधिकारी टिम, त्यो पनि विधानविपरीत घोषणा गरिएपछि शर्मा पक्षले पदाधिकारी थोपरेको भन्दै आक्रोश व्यक्त गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य एव जनार्दन निकट नेता अनिल शर्माले विधान पारित गरेको केही घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चतालाई हरण गरेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्। आफ्नो अक्षमतालाई ढाकछोप गर्न वाइसिएललाई बन्धक बनाएको उनको टिप्पणी छ।
‘विधान पास गरेको केही घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चता हरण गर्ने र आफ्नो अक्षमतालाई ढाकछोप गर्ने प्रवृत्तिले वाइसिएललाई पनि बन्धक बनाएरै छोडे । यसमा वाइसिएलको खासै दोष छैन, त्यसको जिम्मा लिने र पार्टीको नेतृत्वको कारण कति भिक्टिम भए, त्यो त इतिहासको गर्भमै रहला,’ शर्माले लेखेका छन्, ‘जे जसरी होस एउटा कमिटी बनेको छ, कमरेड पुष्प वली नेतृत्वको वाइसिएल नेपाललाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’
शर्माले कडा टिप्पणी गरेपछि वाइसिएलका इन्चार्जसमेत रहेका पार्टीका अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले कमेन्टमार्फत कडा जवाफ फर्काएका छन् । उनले वाइसिएलमा केही नलागेपछि एउटा पक्षका आसेपासेले गरेको प्रचार निन्दनीय भएको टिप्पणी गरेका छन् ।
यस्ता पानीमरुवा चाल चल्न छोडेर साँच्चै चुनाव लड्न आउन उनले चुनौती दिएका छन् । ‘वाइसिएलमा केही नलागेपछि आसेपासेले शुरु गरेको प्रचार निन्दनीय छ । यस्ता पानीमरुवा चाल चल्न छोडेर साँच्चै लड्न आए हुन्छ। म माओवादीमा तपाईंका दाइ (जनार्दन शर्मा) जहाँ लड्छन् त्यही चुनाव लड्न तयार छु’, उनले लेखेका छन् ।
सोही सवाल–जवाफमा माओवादीनिकट अखिल (क्रान्तिकारी)का उपमहासचिव निर्मला गौतमले जनार्दनसँग नभई महेश बस्नेतसँग चुनाव लड्न दीपशिखालाई चुनौती दिएकी छन्। उनले लेखेकी छन्, ‘जनार्दन शर्मासँग होइन, महेश बस्नेतसँग चुनाव लडेर आउनुहोस् संसद्मा हेर्न मन छ।’
अखिल (क्रान्तिकारी)कै पूर्वसचिव खेम रनपहेलीले दीपशिखालाई पार्टी संगठनमा तपाईं पारस हो ? भन्दै प्रश्न गरेका छन्। ‘पार्टी तपाईंको पेवा पनि होइन ल। दाजुभाइको सम्बन्ध देख्नेले पार्टी अध्यक्ष प्रचण्डको नाम भजाएर राज गरेको देख्नु भएन ?’ उनले लेखेका छन्।
यसैगरी एकराज केसीले अध्यक्ष र सिङ्गो कमिटीमाथि प्रचण्डको नाम दिँदै हस्तक्षेप र अनुचित नियन्त्रण गरेर दीपशिखाले वाइसिएल कोल्याप्स गरेको दाबी गरेका छन्। उनले जनार्दनसँग चुनाव लड्छु भन्नुभन्दा वडाबाट सदस्य भएपनि चुनाव जितेर देखाउन चुनौती दिएका छन्।
केसीले भनेका छन्, ‘अध्यक्ष र सिङ्गो कमिटीमाथि प्रचण्डको नाम दिँदै हस्तक्षेप र अनुचित नियन्त्रण गरेर वाइसिएल कोल्याप्स गरेको कुलङ्गार हो तिमी। वाइसिएलको नाममा चन्दा र धन्दाले चलेको तिम्रो जीवन र कारगाडी पनि सँगै खरानी बनाउनुपर्ने हो। जनार्दनसँग चुनाव लड्छु भन्नु भन्दा पहिले तिम्रो वडाबाट सदस्य भए पनि चुनाव जितेर देखाउ न ! हैसियतबिनाको फुर्ती नलाऊ। जनार्दन त जनप्रिय जननिर्वाचित नेता हुनुहुन्छ तिमी जस्तो गुलाम होइन।’
वाइसिएलका उपाध्यक्ष सन्तोष पनेरुले भने संस्थापनको बचाउ गरेका छन्। उनले विधान पास गरेको हलले नै जम्बो टोली पदाधिकारी बनाएकाले कुनै चोरी काम नभएको दाबी गरेका छन्। उनले आकांक्षी र परिस्थितिका बीचमा अन्तरविरोध भएपछि गरिएको सन्तुलन गरिएकाले दोष थुपारेर मजा लिन छोड्न आग्रह गरेका छन्।
पनेरुले भनेका छन्,‘दीपशिखा जत्तिको कमाण्ड लिने इन्चार्ज थियो र गुटहरूले (स्वार्थ समूहहरू) धुजाधुजा पारेका अरू मोर्चाभन्दा वाइसिएल जोगिएको छ। पार्टी हेडक्वार्टरमा प्रतिबद्ध वाइसिएलमा घुनपुतला लगाउन नसकेपछि अंगुर अमिलो भयो स्टाइलमा खुराफात सुरु भएको छ ! हो, सिंगै वाइसिएल प्रचण्डमा केन्द्रीकरण छ। र त्यसको फिल्ड कमाण्ड लाइन, विचार र नेतृत्वको हिसाबले इन्चार्ज दीपशिखाले गर्छ र सिंगै फोर्स आफ्नो कमाण्डरप्रति भरोसा राख्छ ! यसमा जलेर, पीर मानेर वा सराप हालेर खास अर्थ हुँदैन!’
यता अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष पवन कार्कीले अहिलेको वर्तमान परिस्थितिमा संगठनात्मक जीवनमा अवलम्बन गरिरहेको तदर्थवादी तरिकाले भविष्यमा झन् बढी समस्या निम्त्याउने दाबी गरेका छन्।
‘हामी माओवादीहरूले आफ्नो आन्तरिक संगठनात्मक जीवनमा जे गरियो। त्यसैलाई ठीक गरियो भन्नेभन्दा पनि अहिले संगठनात्मक जीवनमा आइपरेका समस्याको पहिचान गरी त्यसको समाधान कसरी गर्न सकिन्छ। त्यो चाहिँ आजको बहसको मुख्य विषय बनाएर समाधानतर्फ लाग्नु जरुरी भएको छ’, उनले भनेका छन्, ‘अहिलेको वर्तमान परिस्थितिमा संगठनात्मक जीवनमा हामीले अवलम्बन गरिरहेको तदर्थवादी तरिकाले भविष्यमा झन् बढी समस्या निम्त्याउनेछ।’
यही सवालमा माओवादी निकट विभिन्न संगठनका अरू नेता कार्यकर्ता पनि आ–आफ्नो कित्ता क्लियर हुनेगरी तर्क–वितर्कमा उत्रिएका छन्।
माओवादी सचिव लीलामणि पोखरेल भने यसरी संगठनको आन्तरिक जीवनका कुरालाई लिएर सार्वजनिक वादविवादमा उत्रिनुलाई दुःखद ठान्छन्। जम्बो पदाधिकारी टिम बनाउनु नै गलत भए पनि त्यो चरण पार गरिसकेपछि फेरि सार्वजनिक रूपमा आरोप–प्रत्यारोपमा उत्रनुलाई उनी सही मान्दैनन्।
‘पहिलो त कुरा यो जम्बो संगठन बन्ने प्रवृत्ति जुन छ, यसले पार्टीलाई संगठनलाई क्रान्तिकारी आदर्श र उद्देश्यतिर भन्दा पदका लागि प्रतिस्पर्धा गर्ने स्थितिमा डोर्याउँछ, यो राम्रो होइन’, उनी भन्छन्, ‘फेरि जे जसरी भए पनि बनिसकेपछि त्यो चरण त सकियो । अनि त्यसपछि पनि यसरी संगठनको कुरालाई लिएर सार्वजनिक वादविवाद गर्नु पटक्कै राम्रो होइन। आन्तरिक संगठनमा छलफल गरौं न बरु । त्यो पो हो त ।’
हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आएपछि २०६४ को पहिलो संविधानसभा चुनावमा देशकै ठूलो दल बनेको माओवादी अहिले तेस्रोमा खुम्चिएको छ। संसद्मा उसको वर्तमान हैसियत हेर्दा यो पार्टी कुनै वेला देशको पहिलो शक्ति थियो भन्ने तथ्य नै पत्याउन गाह्रो पर्छ।
पार्टीको आकार बढ्नुको साटो यसरी उल्टै खिइँदै गएपछि माओवादीमा पछिल्लो समय विगतका गल्तीहरूको समीक्षा सुरु भएका छन्। अधिकांश समय सत्ताको वरिपरि बिताउँदा कमी कमजोरी भएको कुरा सबैजसो माओवादी नेताहरूले स्विकारे पनि नेतृत्वमाथि प्रश्न गर्ने आँट भने एक मात्र नेता उनै उपमहासचिव शर्मा हुन्।
पार्टी ओरालो लाग्नुमा मुख्य जिम्मेवार ठहर गर्दै शर्माले नेतृत्व हस्तान्तरणकै लागि विशेष जोड गरे। २०८१ साउनमा पार्टी बैठकमै उनले ‘पुस्तान्तरणसहितको नयाँ नेतृत्व’को प्रस्ताव गरेका थिए।
‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १२ पृष्ठ लामो प्रस्ताव पेस गरेर शर्माले अध्यक्ष प्रचण्डलाई एक दर्जन प्रश्न सोधेका थिए। त्यसले माओवादीमा ठूलो हलचल ल्याएको थियो।
प्रचण्ड–जनार्दन टकराव बढ्दै जाँदा माओवादी विभाजन हुनेसम्मको बुझाइ कतिपयको थियो। यद्यपि, केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले शर्माले उठाएका कतिपय विषय समेटेर आत्मालोचनासहितको दस्तावेज प्रस्तुत गरे भने बाँकी विषय महाधिवेशनबाट हल हुने आश्वासन दिए। त्यहीबाट प्रचण्ड-शर्मा टकरावको ‘च्याप्टर क्लोज’ भएको थियो।
अहिले वाइसिएलको विषयले यसलाई बल्झाएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।