|

काठमाडौँ : नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पठाएको ५ बुँदे प्रस्तावमा छलफल नहुने बताएका छन्।

बुधवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। उनले रास्वपाको उक्त ५ बुँदेमा कुनै हालतमा जान नसकिने बताउँदै माओवादी केन्द्रले ड्राफ्टसहित पठाएको कुरामा सहमत रहेको जिकिर गरे।

उनले विपक्षी दलहरूले फेरि छलफलका लागि एक दिनको समय मागेको कारण बिहीवारको संसद् बैठक अपराह्न बोलाइएको बताए। उनले विपक्षीहरूसँग सहमति नभएको खण्डमा पनि अब संसद् लामो समय अवरुद्ध हुन नसक्ने बताए।

भट्टराईले भने, “रास्वपाले पठाएको ५ बुँदेमा कुनै छलफलै हुँदैन, त्यसमा जान सकिँदैन। हामीले माओवादीले ड्राफ्टसहित पठाएको कुरामा सहमत छौँ। माओवादीको दुई बुँदेमा जुन हामीले पनि सहमति जनाएका छौँ, त्यसमा सहमति गर्ने कोसिस गर्नुहुन्छ होला। त्यो भएन भने लामो समय संसद् अवरुद्ध हुन सक्दैन‚ अगाडि बढ्छ।”

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएपछि नेकपा (माओवादी केन्द्र), रास्वपा लगायत प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका छन्। सोही अनुसार बुधवारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध भयो। संसद्को गतिरोध अन्त्यका लागि रास्वपाले पाँचबुँदे प्रस्ताव अघि सारेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.