|

चितवन : चितवन जिल्लामा पछिल्लो केही दिनदेखि लगातार गर्मी बढ्दै गएको छ।

नागरिक उड्डयन प्राधिकरण भरतपुरका अनुसार आज चितवनमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको छ भने अघिल्लो दिन यो तापक्रम ३९ डिग्री पुगेको थियो। 

गर्मी बढेपछि जनजीवनमा प्रत्यक्ष असर पर्न थालेको छ। गर्मीका कारण यहाँका कतिपय स्थानीय निकायले विद्यालय बन्द गरेका छन्। दिउँसो सडक र बजार सुनसान देखिन थालेका छन्। विशेषगरी वृद्ध, बालबालिका र बाहिर खटिने श्रमिकमा यसको असर बढी परेको छ। 

भरतपुर महानगरपालिका वडा १०स्थित चौविसकोठीको सडक छेउमा पचपन्न वर्षीया चन्द्रकुमारी पुनमगर मकै पोलेर बिक्री गर्ने काम गर्छिन्। उनी भन्छिन्, “दिनभर घाम र आगोका बीचमा बस्नुपर्छ, शरीर नै शिथिल हुन्छ। ग्राहक नै छैनन्, अहिले ५० मा एक घोगा मकै पनि बेच्न गाह्रो भएको छ।” सडक सुनसान भएकाले पैदलयात्री र ग्राहकको सङ्ख्या घटेको देखिन्छ। 

सोही स्थानमा भेटिएका अटो चालक खलबहादुर मगरको कुरा पनि यस्तै छ। उनी भन्छन्, “रिक्साको छत र सडक दुवैको रापले काम गर्न मनै लाग्दैन। तर के गर्ने, घर चलाउनु नै छ। अहिले मान्छे हिँड्नै छाडे जस्तो छ।”

अस्पतालमा गर्मीसम्बन्धी समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको भरतपुर अस्पतालका फिजिसियन डा गोविन्द कँडेलले बताए।

अहिले चितवनमा दुई जना व्यक्तिलाई हिट स्ट्रोक भएको पुष्टि भएको समेत उनले बताए। तीमध्ये एक जना चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचारपछि निको भएर फर्किसकेका छन्। 

त्यसैगरी, गर्मीमा दम, छातीका रोगी र सङ्क्रमणजन्य रोग पनि सक्रिय हुनसक्ने उनले बताए। अहिले झाडापखाला र बान्ताका बिरामी केही देखिए पनि मुख्य रूपमा टाइफाइड र ज्वरोका बिरामी बढी देखिन थालेका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशका केही पूर्वी भागमा वर्षा भइरहेको छ भने चितवनजस्ता स्थानमा हावामा पानीका कण धेरै भएकाले तापक्रम कम भए पनि आद्रताका कारण मानिसले बढी जस्तो महसुस गर्ने अवस्था हुन्छ। यसलाई प्राविधिक भाषामा ‘फिल लाइक टेम्परेचर’ भनिन्छ। 

फिजिसियन डा कँडेलले दिउँसोको समयमा अत्यधिक गर्मी हुँदा बाहिर काम नगर्न, सकेसम्म घरभित्र वा छायाँमा बस्न, नियमित पानी पिउनु र शरीरलाई हाइड्रेटेड राख्नु अत्यावश्यक भएको बताउँछन्। उनले लामो बाहुला भएको कपडा लगाउने र कीरा–सर्पबाट जोगिन मोजा तथा जुत्ता लगाउनुपर्ने सुझाव दिएका छन्।

मौसमविद लामिछानेका अनुसार आज रातिबाट वर्षाको सम्भावना बढ्दै गएको छ। 

यसले तापक्रम केही घटाउने आशा गरिएको छ। तापक्रम अझै केही दिन उच्च नै रहने भएकाले स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.