|

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुन नहुने र उनीहरूले स्नेहपूर्ण जीवन पाउनुपर्ने बताए।

बालश्रमविरुद्ध विश्व दिवसका सन्दर्भमा बालसंरक्षण राष्ट्रिय सञ्जाल (एनसिपिए)द्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “म बालबालिकाले दुःख पाएको सुन्न र देख्न पनि सक्दिनँ। मलाई गाह्रो हुन्छ। म उनीहरू सधैँ मुस्कुराइरहुन् भन्ने चाहन्छु। सामन्ती व्यवस्थाको शोषणका समयमा यसरी आज जस्तो बालबालिकाले आफ्ना कुरा र अधिकारबारे बोल्न तथा  शासकहरुलाई सुनाउन पाउँदैनथे। आज म प्रधानमन्त्रीका रुपमा बालबालिकाका कुरा सुनिरहेको छु।” 

बालबालिकाका समस्याका कुरा सुनेपछि भावुक हुँदै प्रधानमन्त्री ओलीले भने, “हाम्रा कुनै पनि बालबालिका सडकमा वा बालश्रममा पर्न बाध्य हुनुहुँदैन। उनीहरूले स्नेहपूर्ण जीवन पाउनुपर्छ। हामीले सडक बालबालिका मुक्त अभियान सञ्चालन गरेका छौँ, सिङ्गो मुलुकको आर्थिक–सामाजिक रूपान्तरणसँगै बालबालिकाको समग्र हितका लागि हाम्रा प्रयासहरू जारी रहनेछन्।”

आफूले जीवनमा बालबालिकालाई जिस्किएर पनि नपिटेको र एक शब्द पनि गाली नगरेको उल्लेख गर्दै उनीहरुको आफ्नो कारणले कहिले पनि बालबालिकालाई रुवाउन नचाहने प्रधानमन्त्री ओलीले स्पष्ट पारे।

“मैले विभिन्न ठाउँका बालबालिकालाई अभिभावकत्व लिएर पढाएको छु। देशभरका बालबालिकालाई स्नेहमय जीवन कसरी दिन सकिन्छ भन्नेमा हामी लागिपरेका छौँ। ​सिङ्गै देशको आर्थिक र सामाजिक अवस्था सुधारमा सरकार लागिरहेको छ। पक्कै पनि हामी स्थितिमा फरक ल्याउँछौँ”, उहाँले भन्नुभयो, “बालश्रममा परेका बालबालिकालाई त्यहाँबाट हटाएर राम्रो व्यवस्था गरिदिन सक्नुपर्छ।”

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.