पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले बिक्री गर्नका लागि अवैध रूपमा बोकेको ८५ तोला सुन सहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार भारतको न्यु प्रताप नगर जि.टी. रोड अमृतसर –१ पन्जाबका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ पुर्वबहियाका ४७ वर्षीय रामबहादुर बि.क.लाई पक्राउ गरिएको हो।
असार छ गते पोखराको विभिन्न स्थानहरूमा अवैध रूपमा विक्री वितरणको लागि सुन ल्याएको भन्ने गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी परिचालन गरेको थियो। प्रहरी टोलीले पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी हुँदै बुटवलतर्फ जाँदै गरेको माइक्रो बसमा चेक जाँच गर्दा उनीहरू सुनका गरगहना सहित पक्राउ परेका हुन्।
पक्राउ परेका दुवै जनालाई उक्त सामान सहित आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ। उनीहरूको साथबाट सुनका साना ठुला गरी दुई तोला २३ लाल, १० तोला ३१ लाल तौलका २९ थान सिक्री, दुई तोला ९४ लालको एक थान दानावाला माला, १० तोला ५४ लाल बराबरका पत्थर र हिरा जडित औँठी ५७ थान, २७ तोला ६३ लाल बराबरको कानमा लगाउने जुली तीन सय २४ थान, को पाँच तोला बराबरका १७ थान मङ्गलसूत्र, १३ तोला १२ लाल बराबरको ९९ थान लकेट, नौ तोला ३९ लाल बराबरको माला सहितका पोते १९ थान र एक तोला झुम्का गरी कुल ८२ तोला १६ लाल तौल रहेका सुनका गहना फेला पारिएको हो।
उक्त गहना गत शुक्रवारको बजार मूल्य अनुसार एक करोड ३० लाख ४१ हजार आठ रुपैयाँ बराबरका रहेको नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी सङ्घ कास्कीलाई उद्धृत गर्दै कास्की प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका दुवै जनामाथि भएको प्रारम्भिक अनुसन्धानका क्रममा भारतका कुलदिप सिंह तीन वर्ष पहिलेदेखि नै रुपन्देहीका राम बहादुर बि.क.सँग फेसबुकमार्फत साथी बनेको खुलेको छ। सुनको गरगहना सम्बन्धी काम गर्ने उनीहरूले पछिल्लो समयमा भारतको जुपि, गोरखपुर, बिहार, उडिसा, दिल्ली, हरियाणा लगायतका स्थानमा सुनका गरगहना बेच्दै हिँड्ने गरेको पाइएको छ। उनीहरूले अब नेपालमा पनि बेच्ने योजना बनाएर भारतको अमृतसरमा रहेको अमरजित साहुको सुन पसलबाट गरगहना लिएको कास्की प्रहरीले बताएको छ।
कुलदिपले रामबहादुरलाई लिएर गत असार चार गते पोखरामा सुन बिक्री गर्न खोजेका थिए। सुन बिक्री भएपछि केही रकम आफूले पाउने सर्तमा रामबहादुर बुटवलबाट कुलदिपलाई साथ दिँदै पोखरा आएका प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।