|

वीरगञ्ज :  प्रदेश नं २ को एक मात्र महानगरपालिका वीरगञ्जको नेतृत्व हात पार्न अहिले प्रमुख दलहरुबीच रस्साकसी सुरु भएको छ। असोज २ गते हुने निर्वाचन लक्षित गर्दै दलहरुले मतदाता आकर्षित गर्न घरदैलो भेटघाटलाई तिब्रता दिएका छन्। मतदाता आकर्षित गर्न वीरगञ्जलाई स्मार्ट सिटी बनाउनेदेखि मेट्रो रेल चलाउनेसम्मका विषय चुनावी नारा बनेका छन्।

मधेस आन्दोलनको 'ईपिसेन्टर' वीरगञ्ज महानगरपालिकालाई मधेस केन्द्रित दलले प्रतिष्ठाको विषय बनाएका छन्। संघीय समाजवादी फोरम नेपालको तर्फबाट वीरगंज महानगरपालिकाको प्रमुख पदका उम्मेदवार विजय सरावगी प्रतिबद्धता पत्र लिएर विहानदेखि बेलुकासम्म मतदाताको घरदैलोमै हुन्छन्। उनले मधेसको प्रतिष्ठा जोगाउन र वीरगंजको विकास आफूबाहेक अरुले गर्न नसक्ने भन्दै एक पटक मौका दिन आग्रह गरेका छन्।

फोरम नेपालबाट नगर प्रमुखका उम्मेदवार सरावगीले राजनीतिक दलले २० वर्षमा गर्न नसकेको काम आफू ५ बर्षभित्रमा गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन्। सरावगीको मुख्य प्राथमिकता युवा स्वरोजगार, महिला उद्यमशीलता, बालिकाको लागि निशुल्क स्नातकसम्म शिक्षा, स्वास्थ्य, लगायत विकसित र सफासुन्दर महानगर बनाउने रहेको छ।

अर्को मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टीमा उम्मेदवार चनयको विषयमा विवाद भएपछि त्यसको प्रत्यक्ष फाइदा संघीय सामाजवादी फोरम नेपाललाई भएको छ।

नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति अजयकुमार द्विवेदी नगरप्रमुखको उम्मेदवार बनेका छन्। वीरगञ्ज महानगरमा नेपाली कांग्रेस र संघीय सामाजवादी फोरमबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। नेपाली कांग्रेसका उम्मेदवार द्विवेदी वीरगञ्ज महानगरपालिकाको पूर्व उपप्रमुख समेत हुन्। उनी नेपाली कांग्रेसका कार्यकर्तामाझ लोकप्रिय र सबैलाई मिलाएर लैजान सक्ने नेता मानिन्छन्। उनले महानगरको विकासका लागि आफूसँग अनुभव रहेको मतदातालाई बताउने गरेका छन्।

यस्तै नेकपा एमालेले यसअघि देशको अन्य क्षेत्रमा हासिल गरेको जितको साख जोगाउन नेसनल मेडिकल कलेजका सञ्चालक बसुरुदिन अन्सारीलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ। मधेस आन्दोलनको केन्द्रविन्दु र एमालेप्रतिको आक्रोश चिरेर महानगरको नेतृत्व हात पार्न अन्सारीलाई चुनावी मैदानमा उतारेको हो। अन्सारीले महानगरका मतदातालाई आफूले नयाँ वीरगंज र स्वास्थ्य हबको अवधारणा लिएर मतदातासंग मत मागेका छन्।

नेकपा माओवादी केन्द्रले वीरगञ्ज महानगरको प्रमुख पदमा ३१ वर्षीय युवा रहबर अन्सारीलाई उम्मेदवार बनाएको छ। अन्सारीले अरु भन्दा फरक ढंगले प्रचार शैली अपनाएपछि युवाहरु माझ लोकप्रिय बनेका छन्। अन्सारीले आफ्नो एजेण्डा सामाजिक सञ्जाल र भाषण मार्फत मतदाताकोमा पुर्‍याएका छन्।

पुराना राजनीतिज्ञ तथा विकासप्रेमी नेताको रुपमा चिनिएका विमल श्रीवास्तव राजपाबाट टिकट नपाएपछि अन्तिममा नेपाल लोकतान्त्रिक फोरमबाट नगर प्रमुखको उम्मेदवार बनेका छन्। आफूले पहिले गरेको विकासको कामलाई याद दिलाउदै उनले मत मागेका छन्।

राष्ट्रिय जनता पार्टीले पहाडी समुदायका राजेशमान सिंहलाई उम्मेदवार बनाएको छ। कतिपयले राजपाले मधेसीसँगै पहाडी समुदायको पनि भोट आकर्षित गर्ने उद्देश्य अनुसार सिंहलाई उम्मेदवार बनाएको अनुमान गरेका छन्। त्यसैले सिंहलाई कम आँक्न नमिल्ने विश्लेषण पनि वीरगञ्जमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.