वीरगञ्ज : १४ स्थानीय तह रहेको पर्साको २ नगरपालिका र ९ वटा गाउँपालिका गरी ११ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक मत परिणाम अनुसार संघीय सामाजवादी फोरम नेपाल र माओवादी केन्द्रले ३/३, नेपाली कांग्रेस र नेपाली जनता दलले २/२ र एमालेले १ स्थानीय तहमा जित हात पारेको छ।
माओवादी केन्द्रले जगरनाथपुर, छिपहरमाई र ठोरी गाउँपालिकामा जितेको छ। संघीय समाजवादी फोरमले सखुवा प्रसौनी, पकाहामैनपुर र विन्दवासिनी गाउँपालिकामा जितेको छ। नेपाली कांग्रेसले पर्सागढी नगरपालिका र धोबीनी गाउँपालिकामा जित हासिल गरेको छ। संघीय समाजवादी फोरमबाट अलग भएको नेपाल संघीय समाजवादी पार्टीले पोखरिया नगरपालिका र कालिकामाई गाउँपालिकामा जितेको छ। एमालेले पटेर्वा सुगौली गाउँपालिकामा जितेको छ।
नेपाली जनता दलको पांग्रा चुनाव चिन्ह लिएर पोखरिया नगरपालिकामा चुनाव लडेका दीपनारायण रौनियार मन्टु ३०२६ मत ल्याएर विजयी भएका हुन्। निकतम प्रतिद्वन्दी संघीय समाजवादी फोरम नेपालका पूर्व सभासद प्रधुम्न चौहान २७६७ ल्याए। उप–प्रमुखमा संघीय सामाजवादी फोरम नेपालकी सल्मा खातुन विजयी भइन्।
पर्सा जिल्लाको धोबीनी गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। गाउँपालिका अध्यक्षमा कांग्रेसका सुरेश कुर्मी २१७६ मतका साथ विजयी भए। उपाध्यक्षमा भने फोरम नेपालका पारसनाथ कुर्मी २४५९ मतका साथ विजयी भए।
जगरनाथपुर गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका जालिम मियाँ ३ हजार ४ सय १ मत ल्याएर विजयी भए। निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका कृष्णमोहन प्रसाद यादवले भने ३ हजार ३७ मत प्राप्त गरे। उपप्रमुखमा फोरम नेपालकी बिस्मिल्लाह खातुन ३ हजार १ सय ४१ मतसहित विजयी हुँदा माओवादी केन्द्रकी मीरादेवी कुर्मीले २ हजार ४ सय ५० मत प्राप्त गरी पराजित भइन्।
पकाहा मैनपुर गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरम नेपालका विजय चौरसिया १७३५ मतका साथ विजयी भए। निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुरेश मेहताले १५५४ मत प्राप्त गरे। उपप्रमुखमा पनि फोरम नेपालकै कुशमीदेवी ७ सय ३९ मतान्तरले विजयी भइन्। उनी मधेस आन्दोलनका सहिद शत्रुधन पटेलकी आमा हुन्।
सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरम नेपालका प्रदीपकुमार जैसवालले ३ हजार ६ सय ५७ मतसहित विजयी भएका छन्। उपाध्यक्षमा फोरम नेपालकै फूलमती थरुनीले ३ हजार ६ सय ५२ मत प्राप्त गरिन्।
बहुदरमाई नगरपालिकामा नेपाली कांग्रेसले नै अग्रता लिइरहेको छ। शनिबार बिहान नौ बजे सार्वजनिक गरिएको मत परिणाम अनुसार नगर प्रमुखमा कांग्रेसका नितेन्द्र साहले २४५८ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार प्रमोद कुशवाहाले २१५६ र स्वतन्त्र उम्मेदवार सिंहासन साहले १९५६ मत पाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।