|

नेपालमा अहिले राष्ट्रिय एकताको खाँचो छ। राष्ट्रिय एकता धेरैकुराको निम्ति आवश्यक छ। एउटा त हामी भर्खरै बनाएको संविधान कार्यान्वयनको निम्ति पनि राष्ट्रिय एकता आवश्यक छ। दोस्रो पुनर्निर्माण अभियानलाई गति दिनको लागि पनि राष्ट्रिय एकता खाँचो छ। तेस्रो, मधेस लगायत जे समस्या देखिएका छन्, तिनको समाधानको लागि पनि राष्ट्रिय एकताको खाँचो छ। चौँथो, आमजनताको चाहना भनेको तीब्र आर्थिक विकास हो, यसका निम्ति पनि राष्ट्रिय एकताको खाँचो छ। 

हामीले राष्ट्रिय एकता हामीले बनाउन नसकेको भए नेपालमा शान्ति प्रक्रिया पनि अगाडि आउँदैनथ्यो, सायद द्वन्द्व अझै केही वर्ष चलिनैरहन्थ्यो र, स्थिति अझ भयाबह हुन पनि सक्थ्यो। राष्ट्रिय एकता नभएको भए हामीले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्न पनि सक्दैनथ्यौँ। राष्ट्रिय एकता नभएको भए संविधानसभाबाट संविधानको घोषणा गर्न पनि सकिँदैनथ्यो। त्यसकारण राष्ट्रिय एकता यतिबेलाको ऐतिहासिक आवश्यकता हो भन्ने हाम्रो भनाई छ। 

कतिपय मानिसहरुलाई भ्रम पर्ने गरेको छ। मैले राष्ट्रिय सहमति, एकताको कुरा गर्दागर्दै सरकारको पनि कुरा गर्छ भन्ने परेको हुन सक्छ। मैले भूकम्प गएपछि भनेको थिएँ, हामीलाई राष्ट्रपति चाहिएन, हामीलाई प्रधानमन्त्री चाहिएन। तपाईँहरु ठूलो पार्टी, हामी प्रतिपक्षमा छौँ, म प्रतिपक्षी दलको नेता छु, अहिले मलाई न राष्ट्रपति चाहिएको छ, न प्रधानमन्त्री, एउटा राष्ट्रिय एकता चाहिएको छ। भूकम्पबाट क्षतविक्षत भएको जनताको मन मस्तिस्कमा एउटा नयाँ राहत, उद्धार र पीडामा मह्लमपट्टी गर्नको लागि मैले राष्ट्रिय एकताको कुरा गरेको हुँ।  

मैले सुशील कोइरालाजीलाई भनेको थिएँ तपाईँ राष्ट्रपति हुनुस्। मैले बडो प्रष्टसँग आन्तरिक बैठकमा सुशीलजीलाई तपाईँ राष्ट्रपति हुनुस्, केपीजीलाई तपाईँ प्रधानमन्त्री हुनुस् भनेको थिएँ। यसलाई ‘जेन्टलम्यान एग्रिमेन्ट’ भनेर बुझ्ने गरिएको छ। त्यसैमा संविधान चाहिँ घोषणा गर्नेतिर जाउँ भनियो। त्यसपछि एउटा राष्ट्रिय एकताको बाटो बन्यो र संविधान घोषणासम्म आयौँ। तर पछि हामीले त्यो एकतालाई जस्ताको तस्तै कायम गर्न सकेनौँ। जे भए पनि मैले प्रतिपक्षी दलको नेताको हैसियतले सुशीलजीलाई तपाईँ दह्रोसँग उभिनुस्, हामी तपाईँको पछि छौँ भनेर भन्दै गर्दा संसदीय परम्परा त तोडियो होला तर राष्ट्रको हितमा नयाँ एकता र नयाँ संकलप त्यसबाट पैदा भएको थियो। 

अहिले पनि हिजोको समझदारीअनुसार जब ओलीजीलाई मैले नै प्रस्तावित गरेर प्रधानमन्त्रीमा अगाडि बढाएँ र राष्ट्रपतिमा पनि हामीले सम्माननीय विद्या भण्डारीजीलाई अगाडि बढाउने जमर्को गर्‍यौँ। त्यसपछाडि नेपाली जनतामा माओवादीबारे या प्रचण्डका बारेमा जे जस्ता भ्रम थिए धेरै हदसम्म त्यो पखालियो भन्ने मलाई लाग्छ। हामीलाई चाहिएको पद होइन, राष्ट्रको एकता हो। सम्बृद्धि हो भन्ने कुरा स्थापित भयो भन्ने लाग्छ। अहिले पनि थुप्रै भ्रमहरु बजारमा छन्। अहिले पनि हाम्रो चिन्ता के छ भने यदि राष्ट्रिय एकता भएन भने संविधान बनेर पनि त्यो कागजको खोस्टा बन्ने खतरा पैदा हुन्छ। त्यसकारण राष्ट्रिय एकताको खाँचो छ। अनि मधेस लगायतका समस्या मसाधान गर्न पनि राष्ट्रिय एकताकै खाँचो छ। जनताको आर्थिक विकासको तीब्र आकांक्षालाई सम्बोधन गर्न झन् बढी राष्ट्रिय एकताको खाँचो छ। कमसेकम दुईढाइ वर्ष हामी एकठाउँमा उभिएर गयौँ भने देशलाई एउटा स्थितरतामा लैजान सकिन्छ र सम्बृद्धिको आधारशीला खडा गर्न सकिन्छ। 

हामी के ठान्छौँ भने नराम्रो कुरा उत्कर्षमा पुग्यो भने त्यही विन्दुबाट राम्रा कुराको सुरुवात हुन्छ भनेर मान्छौँ। दर्शन र विज्ञानले यही मान्छन्। हामीले भूकम्प बेहोर्‍यौँ, नाकाबन्दी बेहोर्‍यौँ, बडा नकारात्मक भयो। यसकै गर्भबाट अब सकारात्मक विकासको प्रक्रियाको सुरुवात सम्भव छ। हामी सबैले एउटा संकल्प त्यहीँबाट गर्नुपर्छ। धेरै अस्थिरता र धेरै अराजकता हामीले भोगेका छौँ। त्यही विन्दुबाट हामीले स्थितरता र अनुशासन पैदा गर्नु छ। 

नेपालमा अहिले पूँजीको दुःख पनि होइन। पूँजीको ठिक लगानीमैत्री वातावरण अनि सामाजिक न्याको वातावरण वा श्रममैत्री वातावरण समग्रमा राष्ट्रिय पूँजीको विकासको वातावरण र अनि व्यापार विविधिकरण औधोगिकरणको प्रक्रियालाई नयाँ सोचको साथ अगाडि बढाउनु अबको आवश्यकता हो। त्यसको निम्ति एउटा चिज के चाहिँ पक्का रहेछ भने ‘लिडरसिप’ को केन्द्रीकरण भएन भने कुनै पनि देशले छिटो विकास गर्न सक्ने रहेनछ। नेपालमा राजनीतिको केन्द्रीकरण र नेतृत्वको केन्द्रीकरण यतिबेलाको ऐतिहासिक आवश्यकता छ। त्यसका लागि पनि राष्ट्रिय एकताको खाँचो छ।

(नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको दोस्रो महाधिवेशनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको सम्बोधनको सम्पादित अंश)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.