|

बिर्तामोड: पवित्रा निरौला खरेल झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवार हुन्। नेकपा एमाले र माओवादी केन्द्रलगायतका वाम सम्बद्ध दलका तर्फबाट उम्मेदवार रहेकी पवित्रा एमाले नेता हुन्। झापाका सन्दर्भमा पवित्रा राष्ट्रिय प्रजातन्त्र पार्टीकी समेत साझा उम्मेदवार हुन्। २०७० को संविधानसभा निर्वाचनमा पनि प्रत्यक्षतर्फ उम्मेदवार रहेकी पवित्राले चुनाव भने जित्न सकेकी थिइनन्।

२०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका सुधीर शिवाकोटीले पवित्रालाई झिनो मतको अन्तरले पराजित गरेका थिए। सोही क्षेत्रबाट पवित्रा अहिले नेपाली कांग्रेस झापाका जिल्ला सभापति उद्धव थापासँग प्रतिस्पर्धा गर्दै छन्। उद्धव २०७० को निर्वाचनमा साविकको झापा- ४ बाट नेकपा एमालेका प्रेम गिरीसँग पारजlत भएका थिए।

पवित्रा अहिले जनताको घरदैलोमा व्यस्त छन्। बाक्लो बस्ती भएको क्षेत्रमा घरदैलो र पातलो बस्ती भएको क्षेत्रमा चुनावी कोणसभाहरू आयोजना गर्दै आएको उनले बताइन्।

पवित्रा यस निर्वाचनमा भने जित्ने दाउमा छन्। एमालेको राम्रो मत भएको यस निर्वाचनमा क्षेत्रमा वाम गठबन्धन र राप्रपाको समेत संयुक्त चुनावी तालमेल भएपछि मत थपिएको छ।

कम्युनिष्ट युवाहरूले गरेको झापा आन्दोलनको केन्द्र, झापा आन्दोलनका शहीदहरू रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नेत्र घिमिरे, नारायण श्रेष्ठको जन्म र कर्मभूमिसमेत रहेको यस क्षेत्रमा यस निर्वाचनमा कम्युनिष्टले जित्ने झापाका कम्युनिष्ट अगुवाहरूको भनाइ छ।

झापा आन्दोलनमा सेल्टरका रूपमा प्रयोग गरिएको यस क्षेत्रमा वाम गठबन्धनले चुनाव जित्न वातावरण तयार भयो पवित्रा बताउँछन्। 'यो क्षेत्रमा वाम शक्ति बलियो छ। अहिले हामीसँग झापामा राप्रपा पनि थपिएको छ। यहाँ राप्रपाको पनि राम्रो मत छ', पवित्रा भन्छिन्, 'हिजो हार्दा पनि मैले झिनो मतले हारेकी थिएँ। अहिले हारको कारण पत्ता लगाएर जित्नका लागि वातावरण तयार भएको छ। वाम गठबन्धनको जीत निश्‍चित छ।'

को हुन् पवित्रा निरौला खरेल?

वि. सं. २०२० माघ २० गते दमक नगरपालिका- ३ मा जन्मिएकी पवित्राले १४ वर्षको उमेरदेखि अनेरास्ववियुबाट राजनीति सुरु गरेकी हुन्। २०३५/०३६ सालदेखि राजनीतिमा लागेकी निरौला दमक बहुमुखी क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भएकी थिइन्।

सामान्य परिवारमा जन्मिएकी पवित्रा असमानता, अन्याय तथा छोराछोरीबीचको विभेदको अन्त्य गर्नका निम्ति राजनीतिमा लागेको बताउँछिन्। अखिल नेपाल महिला संघ गाउँ कमिटीमा आवद्ध हुँदै पवित्रा २०३७ सालमा अनेमसंघ पुनर्गठन भएपछि २०४४ सालमा उक्त संघको झापा संयोजक भएकी थिइन्।

२०४६ सालमा काठमाडौंमा भएको अनेमसंघको पहिलो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य भएकी पवित्रा भूमिगत हुँदा २०४० सालमा झापामा पक्राउ परी २६ दिन हिरासतसँगै दुई वर्ष जेल बसेकी थिइन्।

जेलबाट छुटेपछि २०४४ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेर पुनः पार्टीमा सक्रिय भएकी पवित्रा २०४४ सालमा पुनः पक्राउ परे पनि भाग्न सफल भएर राजनीतिक भूमिक्षेत्र परिवर्तन गरी इलाम जिल्ला गएर पार्टी जिल्ला सदस्यको भूमिकामा काम गरेकी थिइन्।

२०४६ सालपछि इलाम छाडेर झापा आएकी पवित्राले लामो समय मेची अञ्चल सदस्यको भूमिका निर्वाह गरेकी थिइन्। हाल नेकपा एमाले प्रदेश नम्बर- १ को सदस्य रहेकी पवित्रा अनेमसंघको केन्द्रीय सदस्यसमेत हुन्।

कस्ता छन् एजेण्डा?

झापाका वाम-राप्रपाका उम्मेदवारहरूले मुख्यगरी समृद्ध नेपाल, सुखी नेपालीको केन्द्रीय नारालाई मुख्य नारा बनाएका छन्। यससँगै झापा- २ की उम्मेदवार पवित्राले झापा उर्वर भूमि भएको र प्राकृतिक हिसाबले समेत सुन्दर भूमिका भएका कारण कृषि र पर्यटनलाई मुख्य एजेण्डा बनाएको बताइन्।

'झापा यस्तो भूमि हो, जहाँ जे रोप्यो त्यही फल्छ। यो भूमि चिया र सुपारीका निम्ति अत्यन्तै महत्त्वपूर्ण मानिन्छ', पवित्रा भन्छिन्, 'यो क्षेत्र झापा आन्दोलनको उर्वर भूमि हो। सुखानी यही छ। यस्ता विषयलाई जोडेर पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने हाम्रो योजना छ।'

महिला उम्मेदवार भएका कारण महिलाहरूको अधिकारको कुरा केन्द्रमा गएर व्यवहारमा लागू गराउन लाग्ने उनले प्रतिबद्धता जनाइन्। महिलाले अहिलेसम्म घरमा गर्दै आएको घरायसी कामको मूल्यांकन नभएको भन्दै पवित्रा अब महिलाको घरभित्रको कामको पनि मूल्य हुनुपर्ने बताउँछिन्।

महिला आर्थिक रूपमा अहिले पनि सक्षम हुन नसक्दा अन्य खालका पीडाको भागिदार हुनुपरेको भन्दै महिलालाई सक्षम बनाउनका लागि राज्यले तालिमको व्यवस्था गर्नुपर्ने बताउँछिन्। 'यहाँ कृषि, पर्यटन, अन्य विभिन्न उत्पादनको राम्रो सम्भावना रहेको छ। त्यसको विकासका निम्ति म काम गर्नेछु', पवित्राले भनिन्, 'त्यससँगै म महिलालाई आर्थिक रूपमा सक्षम बनाउनका निम्ति काम गर्नेछु। हामीले भनेको ३३ प्रतिशत अहिले पनि व्यहावहारमा लागू हुन सकेको छैन। अब त्यसलाई व्यवहारका लागू गराउन केन्द्रमा पहल गर्नेछु।'

यस्तो छ मतको लेखाजोखा

झापा क्षेत्र नम्बर- २ अन्तर्गत अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिकाका १, २ र ३ वडाहरू, कन्काई नगरपालिकाका ८ र ९ वडाहरू र बिर्तामोड नगरपालिकाका १ देखि ९ वडाहरू पर्छन्। झापा क्षेत्र नम्बर- २ मा २५ वटा वडाहरू छन्, जसमा गएको स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनका एमाले, माओवादी केन्द्र र राप्रपाले ४० हजार ४१६ मत प्राप्त गरेका थिए। झापामा वाम-राप्रपा गठबन्धनको प्रतस्पर्धीको रूपमा रहेको नेपाली कांग्रेसले २२ हजार ८८२ मत ल्याएको थियो।

यसरी हेर्दा १७ हजार ५३४ मतको फराकिलो मतान्तरले कांग्रेस भन्दा वाम-राप्रपा गठबन्धन अगाडि देखिन्छ। यस निर्वाचन क्षेत्रमा स्थानीय तहअनुसार अर्जुनधारा नगरपालिकामा वाम-राप्रपा गठबन्धनले १६ हजार ३८८, कांग्रेसले नौ हजार ९३७, बिर्तामोड नगरपालिका १ देखि ९ वडामा वाम-राप्रपा गठबन्धनले १६ हजार ३०८ र कांग्रेसले सात हजार ५१४ मत ल्याएका थिए।

यस्तै बुद्धशान्ति गाउँपालिकाका १, २ र ३ मा वाम-राप्रपा गठबन्धनले छ हजार १११, कांग्रेसले तीन हजार ८८७, कन्काई नगरपालिकाका ८ र ९ वडामा वाम-राप्रपा गठबन्धनले एक हजार ६०९ र कांग्रेसले एक हजार ५४४ मत प्राप्त गरेका थिए।

स्थानीय तहमा प्राप्त मतान्तरका हिसाबले कांग्रेसभन्दा झण्डै १८ हजारको मतान्तरले अगाडि रहेकी वाम-राप्रपा गठबन्धनकी पवित्रा आफ्नो जीत सुनिश्चित भएको दाबी गर्दै आएकी छन्।

(झापाबाट फर्केर)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.