वीरगंजः पर्सामा मुख्य राजनीतिक दलका उम्मेदवारहरू प्रचार प्रसारको नाममा अस्वस्थ्य प्रतिस्पर्धामा उत्रिएका छन्।
विशेषगरी पर्सा क्षेत्र नं.– १ का प्रमुख दल संघीय सामाजवादी फोरम नेपाल र नेपाली कांग्रेसका उम्मेदवारहरूले विभिन्न सामाजिक संजालमा, चुनावी प्रचार प्रसारको समयमा एकअर्कालाई विभिन्न आरोप लगाउँदै अश्लील गाली गलौजमा समेत उत्रिएका देखिन थालेको छ।
पर्साको क्षेत्र नं.– १ मा मुख्य प्रतिस्पर्धी रहेका फोरम नेपालका उम्मेदवार प्रदीप यादव र कांग्रेसका उम्मेदवार तथा व्यवसायी अनिल रुँगटा समर्थित फेसबुक पेज र अनलाइन पोर्टलहरूमा एकअर्काविरुद्व अश्लील शब्द प्रयोग गर्दै सामाचार तथा सूचना प्रकाशन भइरहेका छन्।
कांग्रेस पर्साको नाममा बनेको फेसबुक पेजमा ‘चुनावी सभामा प्रदीप यादवमाथि चप्पल प्रहार’ भनेर स्टाटस लेखेर आरोप लगाइएको छ भने फोरम नेपाल समर्थित अनलाइन वीरगंज सिटीले ‘रुँगटा चुनाव हार्ने निश्चित भएपछि दारु पिएर क्वाँक्वाँ गर्दै’ शीर्षकमा सामाचार प्रकाशन गरेको छ। यस्तै विभिन्न चुनावी प्रचार प्रसारमा एकले अर्कोलाई आरोप लगाउनमै व्यस्त छन्। कांग्रेस समर्थित युवा आवाज अनलाइनले ‘फोरम नेपाल चुनाव हार्ने निश्चित भएपछि बौलाउँदै’ शीर्षकमा सामाचार प्रकाशन गरेको छ।
देस्रो चरणको चुनाव नजिकिँदै जाँदा यी पार्टीहरूले एकअर्काविरुद्ध आरोप प्रत्यारोपमै लागेपछि चौतर्फी टिप्पणी हुन थालेको छ।
पार्टीका नेता, कार्यकर्ता र उम्मेदवारहरूले सामाजिक संजालको फेसबुक, अनलाइन सामाचार पोर्टलमार्फत अस्वस्थ्य प्रतिस्पर्धामा उत्रिनु भनेको उनीहरूले आफ्नो प्रतिष्ठा गुमाइरहेको नागरिक सामाजका अगुवा तथा अधिवक्ता पन्नालाल गुप्ताले बताए।
स्वतन्त्र, निष्पक्ष र तटस्थको मान्यता बोकेका वीरगंजका केही अनलाइन तथा पत्रपत्रिका पनि पार्टीको भ्रातृ संगठन जस्तै बनेर सामाचार संप्रेषण गर्न थालेपछि संचार जगतप्रति जनताको भरोसा उड्न थालेको भन्दै स्वतन्त्र नागरिक तथा शान्ति सामाज पर्साका अध्यक्ष कृष्ण खनालले टिप्पणी गरे।
वीरगंजका विभिन्न स्थानमा राखिएका नेपाली कांग्रेसका झण्डा फोरम नेपालले फालेको आरोप लगाउँदै सम्बन्धित निकायसँग कारवाहीको माग गर्दै कांग्रेसले हिजो शनिबार पत्रकार सम्मलेन नै गरेको थियो भने फोरम नेपालले प्रेस विज्ञप्ति निकालेर त्यसको खण्डन गर्दै प्रमाण पेस गर्न चुनौती दिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।