|

कपिलवस्तु : कपिलवस्तु  सम्बन्धित प्रदेशसभाको दुई तिहाई बहुमतले निर्णय गरेको ठाउँलाई प्रदेश राजधानी तोकिने संवैधानिक व्यवस्था भए पनि कपिलवस्तुका नवनिर्वाचित सांसद तथा विधायकले प्रदेश राजधानी कपिलवस्तु बनाउने प्रतिबद्धतालाई जोडतोडका साथ उठाएका छन्।

मंसिर २१ गते भएको निर्वाचनमा विभिन्न दलका दलका उम्मेदवारले प्रदेश राजधानी कपिलवस्तु बनाउने कुरामा प्रतिबद्ध भएरै चुनावमा राम्रो मत ल्याए। घोषणापत्रदेखि सभा तथा भेटघाटमा प्रदेश राजधानीलाई साझा एजेण्डा बनाएका थिए दलहरुले। तर अब भने नवनिर्वाचित सांसद तथा विधायकले आफूले गरेको प्रतिवद्धता पूरा गर्न सक्ने हुन् कि होइनन् हेर्न बाँकी छ।

प्रदेश नम्बर ५ को राजधानी कहाँ भन्ने बहसले खासगरी तराईका ३ जिल्ला रुपन्देही, कपिलवस्तु र दाङलाई तताएको छ। आर्थिक रुपमा सबल मानिएका रुपन्देही र दाङको बीचमा रहेको कपिलवस्तुलाई खुल्ला संग्रहालय भन्दै प्रदेश राजधानीका लागि उपयुक्त भएको तर्क यहाँका राजनीतिक नेताहरुले गरेका छन्। भगवान गौतम बुद्धका बाबु शुद्धोधनको राज्यको राजधानी तिलौराकोट रहेको र बुद्धसंग सम्बन्धित सय भन्दा बढी पुरातात्विक स्थलहरु जिल्लामा रहेकोले कपिलवस्तु राजधानी बन्नुपर्छ भन्ने धारणा पनि आएको छ।

‘हरेक दृष्टिले कपिलवस्तु नै उपयुक्त स्थान हो’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित चक्रपाणि खनाल (बलदेव) भन्छन्, ‘कपिलवस्तुलाई राजधानी बनाउने कुरामा दुई मत छैन, शान्तिका अग्रदूत गौतमवुद्धसंगै क्रकुछन्द र कनकमुनि बुद्धकोसमेत जन्म कपिलवस्तुमा भएको हो, पवित्र स्थल हो।’ कपिलवस्तुलाई प्रदेशको राजधानी बनाउन आफू जस्तोसुकै लडाई पनि लड्ने खनाल बताउँछन्।

कांग्रेस नेता एवं भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय वुद्धका अनुयायीहरुले पवित्र मान्ने यो जिल्लालाई राजधानी बनाउन आफूले पनि पहल गर्ने बताउँछन्।

जिल्लाबाटै निर्वाचित अर्का प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता, संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य सहसराम यादवसंगै जिल्लाका नेताहरु अहिले प्रदेश राजधानी कपिलवस्तु बनाउनुपर्ने कुरामा एकमत छन्। जिल्लामा निर्वाचित सांसदहरुको सम्मान तथा स्वागत कार्यक्रममासमेत वाम गठबन्धनका उम्मेदवारले प्रदेश राजधानी कपिलवस्तु बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

रुपन्देहीको पनि रस्साकस्सी

लुम्बिनी अञ्चलको क्षेत्रीय कार्यालय रहेको भन्दै रुपन्देहीका नेताहरु भने प्रदेश राजधानी रुपन्देही नै हुनुपर्ने दाबी गर्दै आएका छन्। रुपन्देही व्यापारिक केन्द्र भएको र जनसंख्या पनि बढी भएको उनीहरुको तर्क छ। रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित घनश्याम भुसालले प्रदेश राजधानी रुपन्देही नै हुने दाबी गरे। प्रतिनिधिसभा क्षेत्र नं २ मा निर्वाचित एमालेका उपमहासचिव विष्णु पौडेल पनि रुपन्देहीमै राजधानी हुने बताउँछन्। ‘सबै हिसाबले प्रदेश नं. ५ को राजधानी पायक पर्ने ठाउँ बुटवल नै हो’ सांसद पौडेलले भने, ‘यसमा शंका नगर्न आग्रह गर्छु।’

उता दाङ २ बाट निर्वाचित जनप्रतिनिधिले भने दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउने बताउँदै आएका छन्। संविधानको धारा २८८ को उपधारा २ मा प्रदेश राजधानीबारे भनिएको छ, ‘यस संविधान बमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भए बमोजिम हुनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.