२ मृतक र २ घाइते दमकलकै कर्मचारी, छानविन समिति गठन

|

वीरगंजः पर्साको वीरगंज महानगरपालिका– २२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा बुधबार बिहानदेखि सुरु भएको आगलागी नौ घण्टापछि नियन्त्रणमा आएको छ। 

बिहान ६ बजेदेखि ग्यास लिक भएर उद्योगमा लागेको आगो दिउँसो ३ बजे मात्र नियन्त्रणमा आएको हो। ग्यास प्लान्टमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र भारत विहारको रक्सौबाट आएको केमिकलसहितको फायर म्यान टोलीले नियन्त्रणमा लिएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए।

आगलागीपछि त्रसित बनेको जनजीवन अहिले सामान्य बनेको छ। घरबाहिर रहेका आसपासका बासिन्दा घर फर्किरहेको प्रहरीले बताएको छ। 

दुई मृतक र दुई घाइते दमकलकै कर्मचारी, एक जना उद्योगका फोरम्यान 
बिहान ६ बजे ग्यास उद्योगमा आगो लागेको सूचना पाउनासाथ विना तयारी आगो निभाउन पुगेका वीरगंज महानगरपालिकाका वारुण यन्त्रका दुई जना कर्मचारीको मृत्यु भएको छ भने गम्भीर घाइते २ जना पनि दमकलकै कर्मचारी रहेको प्रमुख जिल्ला अधिकारी सिंहले बताए। एक जना अम्बिका पटेल भने उद्योगको फोरम्यान रहेको सिंहले जानकारी दिए। 

मृत्यु हुनेमा वीरगंज महानगरपालिकाबाट खटिएका दमकलका हवल्दार तनहँु दमौलीका मधुसूदन मिश्र र सर्लाही लालबन्दी– ७ का फायरम्यान यादवप्रसाद अधिकारी रहेका छन्। 

गम्भीर घाइते बनेका महानगरपालिकाका ३ नम्बर दमकलका चालक वीरगंज महानगरपालिका– १६ नगवाका अरुण महतो र दमकलका फायरम्यान विराटनगर निवासी सविन नेपालको वीरगंजमा उपचार सम्भव नभएपछि काठमाडौंमा उपचार भइरहेको छ भने सामान्य घाइते अम्बिका पटेलको वीरगंजस्थित हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए।

ग्यास उद्योगका कर्मचारी बाँच्न सफल, ४ वटा बुलेट पनि सुरक्षित
आज बिहान सुपर ग्यास उद्योगमा बुलेट लिक भएर सिलिन्डरबाट आगलागी सुरु भएपछि उद्योगका कर्मचारीहरू बिहानै बाहिर निस्केर ज्यान बचाउन सफल भएका छन् भने चारवटा बुलेट सुरक्षित रहेको पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता राजन लिम्बूले बताए। उद्योग परिसरमा रहेका भरिएका ग्यास सिलिन्डरमध्ये कतिमा क्षति भएको छ भन्नेबारे विवरण संकलन भइरहेको प्रहरी नायब उपरीक्षक लिम्बूले बताए। 

कसरी भयो घटना?
सुपर ग्यास उद्योगमा लागेको आगोबारे सूचना पाउनासाथ महानगरपालिकाका दमकलका चालक अरुण महतोसहित चार जना कर्मचारीहरू मधुसूदन मिश्र, यादव अधिकारी र सविन नेपाल पौने ७ बजे दमकलसहित गएका बताए।

उद्योगबाट करिब १०० मिटर पर गण्डक नहर सडकमा दमकल उभ्याएको उद्योगका फोरम्यान सामान्य घाइते बनेका अम्बिका पटेलले बताए।

उद्योग परिसरको ग्यास सिलिन्डिरमा लागेको आगो निभाउन १०० मिटर परबाट दमकल चालु गर्न लागेपछि दमकलको साइलेन्सरबाट निस्केको आगोको झिल्कोले दमकलको चारैतिर फैलिएको लिक ग्यास टिपेर कर्मचारीको जिउमा लगाएको कपडा र चालु अवस्थामा रहेको दमकलमा समेत आगो लागेको पटेलले सुनाए। साइलेन्सरपट्टि रहेका मृतक मधुसूदन मिश्र र फायरम्यान यादवप्रसाद अधिकारी ज्यान जोगाउन उद्योग भएको पश्चिमपट्टि भाग्न खोज्दा कपडामा लागेको आगो झनै बलेर उनीहरूको दमकलभन्दा १०० मिटर पर पुगेपछि मृत्यु भएको थियो।

आफूहरू चाहिँ आगो लागेपछि नहरमा हाम फालेकाले कपडा जले पनि बढी क्षति हुन नपाएको उनले बताए। 

आगलागीबारे छानविन समिति गठन 
आज ग्यास उद्योगमा भएको आगलागीका घटनाबारे छानविन गर्न ग्यास उद्योग संघले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ। संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेको संयोजकत्वमा छानविन समिति गठन गरेको हो। 

समितिमा कुशप्रसाद मल्लिक, मनोजकुमार दास, विजयहरि शर्मा र राजकुमार सन्धी रहेका छन्। छानविन समितिले घटनाको सत्यतथ्य छानविन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउने ग्यास उद्योग संघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.