तिनका घरका जटिलता हुन् ती, संवैधानिक जटिलता केही छैन

|

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै दलविशेषको स्वार्थ वा दुरूपयोगका लागि राष्ट्रियसभाको निर्वाचनसम्बन्धी अध्यादेश कुनै पनि मुलुकमा पारित नहुने बताएका छन्। संयुक्त वाम गठबन्धन काठमाडौंले प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सदस्यहरूलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा बोल्दै नेता ओलीले यस्तो बताएका हुन्।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि सरकार गठनका सन्दर्भमा उत्पन्न विवादका सन्दर्भमा बोल्दै नेता ओलीले वर्तमान प्रतिपक्ष तथा भावी सरकारसँग कुनै पनि सल्लाह नगरी ल्याइएको अध्यादेश अहिलेको अवस्थामा पारित गर्न नसकिने बताए। अध्यादेशका विषयमा राष्ट्रपतिलाई सरकारले अनावश्यक विवादमा तान्न खोजेको नेता ओलीले बताए। एकल संक्रमणीय प्रणालीको कुरा अहिले उठिरहे पनि संविधानले बहुमतीय र समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरेकाले अन्य विषयमा सोचिरहन आवश्यक नरहेको ओलीले बताए। 'अध्यादेशका विषयमा सम्माननीय राष्ट्रपतिलाई अनावश्यक विवादमा तान्न खोजिँदै छ', ओलीले भने, 'अध्यादेश भन्ने कुरा एउटा दलविशेषको स्वार्थ पूरा गर्नका निम्ति दुरूपयोग गर्न कुनै पनि मुलुकमा प्रयोग गरिँदैन।'

अध्यादेशका विषयमा निर्वाचनबाट बहुमत ल्याएको वाम गठबन्धन र हालको प्रतिपक्षलाई समेत थाहा नभएको भन्दै कसैलाई पनि थाहा नभएको अध्यादेश नहुने ओलीले बताए।

अहिले मिडियामा आएजस्तो संवैधानिक जटिलता नभएको भन्दै नेता ओलीले केही दिनमै संविधानसम्मत ढंगले सरकार बन्ने बताए। ओलीले भने, 'संविधानसम्मत ढंगले केही दिनमा सरकार बन्छ। ढुक्क हुनुस्। केही मिडियामा ब्याख्या गरिएको छ संवैधानिक जटिलता भनेर, तिनका घरका जटिलता हुन् ती, संवैधानिक जटिलता केही छैन।'

निर्वाचन सम्पन्न भइसके पनि निर्वाचन आयोगले हालसम्म आधिकारिक रूपमा परिणाम दिइनसकेकाले परिणाम आउनुभन्दा पहिले राष्ट्रियसभा गठन गर्ने भन्ने कुरा नहुने नेता ओलीले बताए। 'आयोगले निर्वाचन परिणाम दिएकै छैन। राष्ट्रियसभा गठन गर रे! परिणाम नआईकन कसरी राष्ट्रियसभा गठन हुन्छ?', ओलीले प्रश्न गरे।

केहीले यसलाई नेपाली कांग्रेसको शक्तिसँग पनि जोडेर व्याख्या गरिरहेको बताउँदै ओलीले निर्वाचनमा गइसकेपछि कोही कमजोर वा कोही बलियो हुने लोकतान्त्रिक प्रक्रिया नै भएको उल्लेख गरे। 'यसो गरे त कांग्रेस कमजोर हुन्छ नि त भनेर पनि कतिपयले भन्ने गरेका छन्। कमजोर नहुने त एउटा मात्रै बाटो छ, चुनावमा भागै नलिने', उनले भने, 'चुनावमा भाग लिएपछि कम पनि आउँछ, बेसी पनि आउँछ।'

ठेगानमा बस्‍न मन्त्रीलाई चेतावनी

मंगलबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पत्रकार सम्मेलन गरी दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले नैतिक सीमाभित्र बस्न सरकारलाई चेतावनी दिएका छन्। अोलीले सञ्चारमन्त्रीले पत्रकार सम्मेलन गरेर गरेको गतिविधिलाई कुस्ती खेल खेल्नुअघिको गतिविधिसँग तुलनासमेत गरे। 'अखडामा पस्दै गर्दा कुस्तीको खेलाडीले जसरी तिघ्रा ठटाउँछ, सञ्चारमन्त्रीको प्रेस मिटको सुरुआत तिघ्रा ठटाएर भयो', ओली भन्छन्, 'विज्ञप्तिमा लेखिएको भाषा! हेक्का रहोस् तेस्रो पार्टीले शासन चलाउँछ। जनमत एकातिर छ, सञ्चारमन्त्री त्यसो भन्छन्।'

नेता ओलीले आफ्नो हैसियत, मर्यादा र ठेगानमा बस्नसमेत सरकारका मन्त्रीहरूलाई चेतावनी दिए।

पार्टी एकता हुन्छ, ढुक्क हुनुहोस्

अर्को एक प्रसंगमा नेता ओलीले निकट भविष्यमै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताउँदै कार्यकर्ताहरूलाई ढुक्क भएर बस्न आग्रह गरेका छन्। तत्काल नआत्तिन आग्रह गर्दै ओलीले निर्वाचनका लागि गरिएको गठबन्धन मात्रै नभएकाले यसलाई टुंगोमा पुर्‍याएरै छाड्ने बताए। उनले भने, 'ढुक्क हुनुहोस्, नआत्तिनुस्, निकट भविष्यमा पार्टी एकता हुन्छ। यो प्रयास कसैले सुटुक्क लगेर दिएको गुरुमन्त्र होइन।'

पार्टी एकता प्रक्रिया भड्काउन केही शक्ति गठबन्धनको पछि लागेको भन्दै ओलीले त्यसको पछि अब कोही पनि नलाग्ने बताए। 'केहीकेही गैँडाका जस्तो जिब्रा लिएर माया गरेजस्तो गरेर चाट्न खोज्दै छन्', ओलीले भने, 'हामी त्यो बुझ्छौँ। यस्तो जिब्रो धेरै देखेका छौँ।'

नेता ओलीले नेपालमा कम्युनिष्ट आन्दोलन एकजुट भइसकेको भन्दै एमाले र माओवादी एकजुट भएपछि मूलतः कम्युनिष्ट एकजुट भइसकेको बताए। सबै कम्युनिष्टलाई एकजुट गराउन प्रयास गरिरहेको भन्दै अझै पनि एकता प्रक्रिया भड्काउन केही शक्तिहरू माओवादीतिर गएर एकथरि कुरा तथा एमालेतिर गएर अर्कोथरि कुरा गर्दै आएको उनले बताए। तर त्यसबाट नआत्तिन कार्यकर्तालाई ओलीले आग्रह पनि गरे।  

त्यस अवसरमा काठमाडौं जिल्लाबाट निर्वाचित छ जना प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित १६ जना सदस्यहरूलाई काठमाडौं जिल्ला वाम गठबन्धनले संयुक्त रूपमा सम्मान गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.