|

काठमाडौं : मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको नतिजा तयार भएको छ।

प्रदेशसभा सदस्यको २२० समानुपातिक सिटको बाँडफाँड गरेर बिहीबार नै सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। उनका अनुसार आज बेलुकी ५ बजेसम्म उक्त नतिजा सार्वजनिक गरिनेछ। ढकालले प्रतिनिधिसभा सदस्यको समानुपातिक सिट बाँडफाँडमा काम भइरहेको जानकारी दिए।

प्रदेशसभा सदस्यमा समानुपातिकतर्फको निर्वाचनमा सहभागिता जनाएर सदर मतको एक दशमलव पाँच प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलका उम्मेदवार प्रदेशसभा सदस्यमा निर्वाचित हुने आयोगले जनाएको छ।

समानुपातिकतर्फ प्रदेश अनुसार फरकफरक सिट रहेका छन्। प्रदेश नम्बर १ मा ३७, प्रदेश नम्बर २ मा ४३, प्रदेश नम्बर ३ मा ४४, प्रदेश नम्बर ४ मा २४, प्रदेश नम्बर ५ मा ३५, प्रदेश नम्बर ६ मा १६ र प्रदेश नम्बर ७ मा २१ गरी जम्मा २२० सिट समानुपातिक रहेका छन्।

तर, प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फका ११० सिटको बाँडफाँड गरिसकिएपनि त्यसको नतिजा हाल सार्वजनिक नगरिने भएको छ। स्रोतका अनुसार प्रतिनिधिसभा सदस्य समानुपातिकको काम सकिएको तर राजनीतिक गतिरोधका कारण सार्वजनिक नगरिएको हो।

प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीको नतिजा राष्ट्रियसभा गठन गरेपछि गर्ने कि पहिल्यै भन्नेबारे राजनीतिक दलहरुबीच सहमति नभएपछि निर्वाचन आयोगले नतिजा रोकेको हो। राष्ट्रियसभा गठनसम्बन्धी विधेयक हाल राष्ट्रपति कार्यालयमा पुगेको छ। सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एकल संक्रमणीय विधिबाट राष्ट्रियसभा गठन गर्नुपर्ने भन्दै विधेयक राष्ट्रपति कार्यालयमा पठाएको छ। राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी उक्त विधेयकको वाम गठबन्धनमा आवद्ध दलहरु एमाले र माओवादीले विरोध गरिरहेका छन्। गठबन्धन गरेर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बहुमत हासिल गरेका यी दुई दलले बहुमतीय प्रणालीअनुसार राष्ट्रियसभा गठन गर्नुपर्ने भन्दै विधेयकको विरोध गरिरहेका हुन्।

विधेयकबारे राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार र राजनीतक दलका नेताहरुसँग दलहरुबीच सहमति गरेर आउन आग्रह गरेकी छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.