|

वीरगञ्ज : भारतीय रेलवे बोर्डले रक्सौल रेलवे माल यार्डमा क्लिङ्करको लोड–अनलोडमा रोक लगाएपछि नेपाली आयातकर्ता मारमा परेका छन्। 
रक्सौलका बासिन्दाले क्लिङ्करको लोड–अनलोडबाट प्रदुषण बढेको भन्दै चरणवद्ध आन्दोलन गरेपछि भारतीय विदेश विभाग तथा रेल्वे बोर्डले रक्सौलमा क्लिङ्कर लोड–अनलोड बन्द गर्न पत्राचार गरेको हो।

रक्सौलबासीको आन्दोलनलाई मध्यनजर गर्दै त्यहाँका सांसद डा. सञ्जय जैसवालले भारतीय संसद तथा विदेश विभागमा आवाज उठाएपछि रेल्वे बोर्डले नेपाल आयात हुने क्लिङ्कर रक्सौलको साटो वीरगञ्जको सुख्खा बन्दरगाहमा अनलोड गर्ने जनाएको छ।

भारतीय रेल्वेले सिमेन्टको कच्चा पदार्थ क्लिङ्करको लोड–अनलोड वीरगञ्जस्थित सुख्खा बन्दरगाहबाट गर्न भने पनि  रेल सेवा सम्झौतामा वीरगञ्ज बन्दरगाहमा धुलो उड्ने कार्गो लोड अनलोडको सहमति नभएको निर्यात प्रवर्द्धन, व्यापार तथा पारवहन महाशाखाका प्रमुख रविशङ्कर सैंजुले बताए।

शनिबार वीरगञ्ज आइपुगेका रेलवेको मध्यपूर्वी क्षेत्रीय कार्यालयका अधिकारीहरूले यो रेलवे उच्च तहको निर्णय भएकाले आफूहरूले केही गर्न नसक्ने बताएपछि आयातकर्ताहरू अन्योलमा परेका छन्।

रक्सौलका बासिन्दाको आन्दोलनका बारेमा जानकारी दिँदै समस्याको निकासका लागि आग्रह गर्दा समेत नेपाल सरकारले गम्भीरता नदेखाएको र अचानक लोडिङ बन्द भएपछि यो क्षेत्रका सिमेण्ट उद्योगीहरू चिन्तित भएको संघका अध्यक्ष ओमप्रकाश शर्माले बताए। 

भारतबाट आयात हुने सिमेन्टको कच्चा पदार्थ क्लिङ्कर रक्सौलबाट लोड–अनलोड भारतीय रेल्वे बोर्डले रोक लगाएपछि  वीरगञ्ज पथलैया औद्योगिक करिडोरका करिब १ दर्जन भन्दा बढी सिमेन्ट उद्योगको उत्पादन प्रभावित बनेको नारायणी सिमेन्ट उद्योगका महाप्रबन्धक सतिस चाचानले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.