|

  • भोजराज कार्की-

सोलुखुम्बु : २०६५ सालमा थुलुङ दूधकोशी गाउँपालिका– २ काँगेलकी विष्णुमाया कार्की काँगेलडाँडा विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाजमार्फत पहिलो पटक काठमाडौं गइन्। विमानस्थल नजिकै घर भएकाले केही वर्ष होटलमार्फत राम्रै्र आम्दानी लिन सफल भएकी कार्की अहिले त्यस विमानस्थलमा गाईवस्तु चाराउँछिन्। उनले मात्र होइन, त्यस क्षेत्रका करिब १५ घरको पशु चरन नै काँगेलडाँडा विमानस्थल बनेको छ। 

घरनजिकै विमानस्थल बनेपछि विमानमार्फत सहजै काठमाडौंसम्मको यात्रा गर्न सकिन्छ भन्ने ठानेर विष्णुमायाले १५ रोपनी जग्गा नागरिक उड्डयन प्राधिकरणलाई दिइन्। कार्कीसहित स्थानीय छ जनाले केही रोपनी जग्गा निःशुल्क र केही रोपनी कम शुल्कमा दिएको जग्गादाता रुद्र कार्की बताउँछन्। ‘संकटकालमा सदरमुकाम सल्लेरीदेखि नेपाली सेना आएर उडान गराउँथे, अहिले शान्तिकालमा आएर पूर्ण बन्द भएको छ’, उनले भने।

कहिलेदेखि बन्द भयो?
२०५८ सालदेखि सञ्चालनमा आएको उक्त विमानस्थलमा व्यवस्थापनको कमजोरीका कारण तीन वर्षयता गौचरनमा परिणत भएको हो। २०७१ फागुन २७ गते परेको चट्याङले मौसमी विमानस्थलको टावरको उपकरणमा क्षति पुर्‍याएसँगै बन्द उडान सञ्चालनमा आउन नसक्दा विमानस्थल गौचरनमा परिणत भएको हो। 

चट्याङले टावरको उपकरणमा क्षति नपुर्‍याउँदासम्म साताको एउटा उडान नियमित थियोे तर अहिले धेरै भयो हवाईजहाजको त कुरै छाडौँ, गाउँगाउँमा बिरामी बोक्न पुग्ने हेलिकोप्टरसमेत बसेको छैन।

जिल्लाको तल्लो क्षेत्रका साविकका करिब १५ गाविस र खोटाङको उत्तरी क्षेत्रका नागरिकले सेवा लिने गरेको उक्त विमानस्थलमा नेपाल एयरलाइन्सले उडान गर्दै आएको थियो। सुरुमा विमानस्थल सञ्चालनमा आउँदा नेपाल एयरलाइन्ससँगै तारा एयरलाइन्सले समेत सेवा दिएको थियो। थुलुङ दूधकोशी गाउँपालिका– २ का स्थानीय मानबहादुर कार्की भन्छन्, ‘स्थानीयले वस्तु चराउन पाए पनि सम्बन्धित निकायको उदासीनताका कारण जनता भने हवाई सेवाबाट बञ्चित हुनुपर्‍यो।’ 

सेवा सुचारु गर्न माग
‘हवाई सेवा सञ्चालन भएको भए वृद्धवृद्धा, अशक्त भएकालाई धेरै सहज हुन्थ्यो’, जलेश्वरी खोटाङका रामकुमार राईले भने, ‘हवाई सेवा सञ्चालन भएको भए मेरा ७० वर्षका बुबालाई सहजै काठमाडौं लान्थेँ तर हवाई सेवा नहुँदा काठमाडौंसम्म लान सकेको छैन।’ उनले आफू जस्ता धेरै खोटांगेहरू यस्तै अवस्थामा रहेका र यो विमानस्थल सुचारु गर्न सम्बन्धित निकायले पहल गर्न माग पनि गरे।

‘न त सडक यातायातको पहुँच छ, न नजिकै भएको विमानस्थल पनि सञ्चालनमा आउँछ’, खोटाङ ऐँसेलुखर्कका भीमराज राईले भने, ‘हेलिकोप्टर चार्टर गरौँ भने औकात छैन, बुढा बाबालाई बोक्ने मान्छे खोजौँ भने मान्छे नै पाइँदैन।’ उनले आग्रह गरे, ‘नेताहरूले विमानस्थल सञ्चालनमा ल्याउने प्रयास गर्नुपर्‍यो।’

नेपालको सबैभन्दा बढी विमानस्थल भएको जिल्लाको रूपमा सोलुखुम्बुलाई लिइन्छ। थुलुङ दूधकोशी गाउँपालिका– ९ का उत्तरकुवीर राई भन्छन्, ‘यहाँ सेवाका लागि भन्दा नामका लागि मात्र विमानस्थल रह्यो।’ 

जिल्ला सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थल र तेञ्जिङ–हिलारी विमानस्थल सञ्चालनमा छन् भने स्याङ्बोचे र लुक्ला विमानस्थल बन्द छन्। अहिले महाकुलुङको गुदेलमा अर्को विमानस्थल निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ। 

‘निर्माण गर्नु ठूलो कुरा होइन’, देउसाका चूडामणि केसीले भने, ‘दिगो सञ्चालनमा ल्याउनुचाहिँ प्रमुख कुरा हो, तर यहाँ त्यस्तो देखिएन।’ सम्बन्धित निकायको चासो कम हुनु र दबाब दिने नेतृत्वको कमीका कारण विमानस्थल सञ्चालनमा आउन नसकेको उनको भनाइ छ। ‘तीनै तहको निर्वाचन सकिएको छ, अब जनप्रतिनिधिले पहल गर्नुपर्छ।’

यता, नवनिर्वाचित प्रदेशसभा ‘क’का सांसद उत्तमकुमार बस्नेतले विमानस्थल सञ्चालनमा ल्याएरै छाड्ने बताए। उनले भने, ‘मेरो प्राथमिकतामा परेको एउटा काम काँगेलडाँडा विमानस्थल नियमित सञ्चालनमा ल्याउनु पनि हो।’

आईपी क्याप्टेन नहुँदा पुनः उडान सुचारु गर्न सकिएन
प्राविधिक कारण विमानस्थल बन्द भएपछि पुनःपरीक्षण उडान गर्नुपर्ने एयरलाइन्सको नियम छ। ‘मौसमी विमानस्थल भए पनि अहिले नियमित उडान तालिका आएको छ, तर नेपाल एरलाइन्ससँग आईपी क्याप्टेन छैन’, नेपाल एयरलाइन्स काँगेलका इन्चार्ज नारायणकाजी कार्कीले भने, ‘परीक्षण उडान गर्न नसकिने मुख्य कार्यालयबाट जानकारी आएको छ।’

विमान यात्रुले बारम्बार सम्पर्क गर्ने गरे तापनि परीक्षण उडान नै हुन नसक्नु दुखद कुरा भएको उनको भनाइ छ।

मासिक खर्च ५५ हजार, आम्दानी शून्य
अहिले विमानस्थलमा मासिक ५५ हजार रुपैयाँ खर्च हुन्छ तर आम्दानी भने शून्य छ। घरभाडा र त्यहाँ कार्यरत नेपाल एयरलाइन्सका चार जना कर्मचारीको नाममा उक्त खर्च हुने गरेको छ। 

त्यहाँ सात जना नेपाल प्रहरीले सुरक्षा दिएका छन् भने एक जना एयर ट्राफिक कन्ट्रोलरसमेत छन्। उनीहरूको समेत खर्च जोड्दा विमानस्थलको खर्च अझै बढ्छ।
‘विमानस्थलको खर्चतर्फ कसैले ध्यान दिएका छैनन्’, स्थानीय राजेन्द्र बस्नेतले भने, ‘जनताको कर अनावश्यक खर्च भइरहेको छ, यसको सदुपयोगमा ध्यान दिनु आवश्यक छ।’ 

वस्तु गोठालासँग गफ गर्दै दिन कटाउँछन् सुरक्षा गार्ड 
विमानस्थलको सुरक्षार्थ सात जना नेपाल प्रहरी परिचालन गरिएको छ। सहायक प्रहरी निरीक्षकको नेतृत्वमा रहेको प्रहरी टोलीले विमानस्थल सञ्चालनमा नआएपछि त्यही विमानस्थलमा वस्तु चराउन आएकाहरूसँग गफ गरेर दिन बिताउने गरेका छन्। एक प्रहरीले भने, ‘काम छैन, बेलाबेलामा गाउँमा झगडा पर्‍यो भने मिलाउन जान्छौँ, नत्र गोठालासँग गफ गरेर दिन बिताउने गरेका छौँ।'

एयरलाइन्सका कर्मचारी घरमै काम गर्छन्, नागरिक उड्डयनका काज मिलाउँदै जान्छन् 
नागरिक उड्डयन प्राधिकरणका कर्मचारी पनि बेलाबेलामा देखापर्छन्। नयाँ नियुक्ति पाएकालाई काँगेलडाँडामा पठाउने गर्छन। उनीहरू केही दिन हाजिर गर्नका लागि कार्यालयमा आए पनि विमानस्थल बन्द भएपछि काज सरुवा मिलाएर अन्यत्र जाने गरेका छन्। 

यता, नेपाल एयरलाइन्सका कार्मचारीले भने घरैमा काम गरेर तलब खाने गरेका छन्। उनीहरूले स्थानीयस्तरमा ठेक्कापट्टा गर्नेदेखि अन्य काम गरेर दिन बिताउने गरेका छन्। एयरलाइन्सको कार्यालय वर्षौंदेखि भाडा तिर्दै राखिएको छ भने त्यहाँ कर्मचारी नै नआउने गरेको घरभेटी विष्णुमाया कार्कीले बताइन्।

झाडी र खेलमैदानमा परिणत हुँदै
विमानस्थलको वरिपरि उत्तिसका बिरुवाहरू दिन प्रतिदिन ठूला भएर झाडीको रूपमा विकास भइरहेको छ। झाडी बनेसँगै त्यहाँ दाउरा काट्न र वस्तु चराउन थप सहज भएको स्थानीयको भनाइ छ।

अहिले उक्त विमानस्थलमा करिब १५ घरले वस्तु चराउने गर्छन्। विमानस्थलमा घेराबार गरिएको भए पनि घेराबारको उचित व्यवस्थापन नहुँदा गाईवस्तु चरनमा लैजान स्थानीयलाई थप सहज भएको हो। त्यति मात्र नभई फुटबल खेल्ने खेलाडीलाई समेत राम्रो खेलमैदान बनेको छ विमानस्थल। 

‘विमानस्थल वरिपरि रूखबिरुवा बढ्दो मात्रामा देखिन्छन्’, देउसाका चूडामणि केसी भन्छन्, ‘केही वर्ष यस्तै रह्यो भने विमानस्थल हो कि जंगलबीचमा रहेको खेलमैदान, छुट्याउन मुस्किल पर्छ।’

विमानस्थल टावरको उपकरणसँगै बिग्रिएको रेडियो चल्यो तर विमान चलेन
चट्याङले विमानस्थलको उपकरणमा क्षति पुर्‍याएकै दिन विमानस्थलसँगै रहेको रेडियो चोमोलोङ्माको पनि विभिन्न उपकरणमा क्षति पुगेको थियो। सामुदायिक रेडियोको उकपरणमा क्षति पुगेर तीन दिन प्रसारण अवरुद्ध भएको थियो भने साढे दुई लाख रुपैयाँ खर्च गरेर उकरणको मर्मत सम्भारपछि रेडियो नियमित प्रसारणमा आएको रेडियो सञ्चालक समितिका अध्यक्ष बलराम गुरुङले बताए। उनले भने, ‘तर अहिलेसम्म विमानस्थल सञ्चालनमा आउन नसक्नु सर्वसाधारण नागरिकका लागि दुःखको कुरा हो।’

घर नजिकैको विमानस्थलबाट यात्रा गर्ने योजना सपना मात्र
थुलुङ दूधकोशी गाउँपालिका– ७ का नैनबहादुर केसीले काँगेलडाँडा विमानस्थल सञ्चालनमा आएपछि काठमाडौं जाने योजना सपनामा सीमित भएको बताए। उनले भने, ‘मेरी श्रीमती बिरामी भएका बेला उपचारमा काठमाडौँ लैजान गाडी थिएन, प्लेन आउला अनि लैजाउँला भन्ने सोच्यौँ’, भक्कानिँदै भने, ‘त्यति बेला भर्खर विमानस्थल टावरको उपकरण बिग्रिएको छ भन्थे, तत्काल बन्छ भन्ने सुनेका थियौँ, एक महिना कुर्‍यौँ तर प्लेन आएन। त्यसपछि मेरी श्रीमतीको पनि मृत्यु भयो, अहिले पनि मलाई त्यस कुराले बेलाबेलामा सताइरहन्छ।’

विमानस्थल सञ्चालनमा कहिले आउँछ अनि घर नजिकैको सेवा सहजै उपभोग गरौँला भन्ने सोचेका सोलुखुम्बुका पूर्वी–दक्षिणी क्षेत्रका नागरिक र खोटाङको उत्तरी क्षेत्रका नागरिकको सपना सपनामै सीमित भएको छ। यो सपना साकार गर्दै राज्यको लगानीलाई खेर नफाली आम्दानीको स्रोत बनाउन समयमै ध्यान दिन आवश्यक भएको स्थानीयवासीको सुझाव छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.