काठमाडौं : डा. ज्योति भट्टराई र डा. अरूण कुँवर चिकित्सा क्षेत्रमा पछिल्लो समयको चर्चित जोडी हो। त्रिवि शिक्षण अस्पताल (टिचिङ)को इमर्जेन्सी वार्डमा पहिलो पटक भेटेर प्रेम सम्बन्धमा रहेको लामो समयपछि विवाह गरेका हुन् उनीहरूले।
डा. अरूण हाल कान्ति अस्पतालको बाल मनोरोग विभागको प्रमुखको रूपमा कार्यरत छन् भने वरिष्ठ मधुमेह तथा थाइराइड विशेषज्ञ रहेकी डा. ज्योति शिक्षण अस्पतालमा कार्यरत छन्। यही शिक्षण अस्पतालको इमर्जेन्सीमा पहिलो पटक भेट भएपछिको प्रेम सम्बन्धपछि विवाह गरेका यो जोडीको हाल ३ छोरी छन्। विवाहपश्चात लामो समय अमेरिका बसेर नेपाल पर्किएको यो जोडीसँग यस वर्षको भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसरमा थाहाखबरले प्रेम सम्बन्ध र विवाहबारे गरेको कुराकानी प्रस्तुत छ।
टिचिङको इमर्जेन्सीमा पर्यो लभ
सन् १९९६ मा डा. ज्योति एमबीबीएसको पढाइ पूरा गरेर टिचिङको इमर्जेन्सीमा इन्टनरूपमा काम गर्दै थिइन्। त्यही समयमा भर्खरै भारतबाट एमबीबीस पूरा गरेर फर्किएका डा. अरुण पनि टिचिङकै साइक्रियाटिक विभागमा कार्यरत थिए।
इमर्जेन्सीमा मानसिक रोगका बिरामी आउँदा डा. अरूण त्यहाँ पुग्ने हुँदा आफूहरूको पहिलो भेट नै टिचिङको इमर्जेन्सीमा भएको डा. ज्योति बताउँछिन्।
'म इमर्जेन्सीमा कार्यरत थिएँ, उहाँ साइक्रियाटिक डाक्टर, कहिलेकाहीँ इमर्जेन्सीमा मानसिक रोगका बिरामी आउँदा उहाँ आउनुहुन्थ्यो', डा. ज्योतिले भनिन्, 'पछि हाम्रो सम्बन्ध प्रेममा परिणत भयो।'
डा. अरुणको बिरामीलाई गर्ने मायालु व्यवहारले नै उनीप्रति आकर्षित बनाएको डा. ज्योति बताउँछिन्। इमर्जेन्सीमा कोही मानसिक बिरामी आउनासाथ हतार हतार फोन गरेर डा. अरुणलाई बोलाउने र उनले बिरामीलाई उपचार गर्दा हेरिरहने गरेको ज्योतिको भनाइ छ।
ज्योतिले यसो भन्दै गर्दा उनको छेउमा रहेका डा .अरुण मुस्कुराउँदै ज्योतिको काममा समर्पित भएर लाग्ने बानीले नै उनीप्रति आकर्षित भएको बताउँदै थिए।
इमर्जेन्सीको भेटपछि बिस्तारै खाली समयमा सँगै खाजा खाने गर्दै जाँदा भेट भएको एक महिनामै आफूहरू प्रेममा परेको उनीहरू बताउँछन्।
डा. ज्योतिले 'आई लाइक यु' भनेपछि
भारतबाट एमबीबीएस पढाइ पूरा गरेर नेपाल फर्किएका डा. अरुण बाँकी पढाइ नेपालमै पूरा गर्ने सोचाइमा थिए। यसले गर्दा उनले महारागञ्ज क्याम्पसमा एमडीको पढाइका लागि प्रवेश परीक्षा दिए र नामसमेत निकाले। यता, ज्योति भने एमबीबीएस नेपालमै पढेकाले बाँकी पढाइ अमेरिकामा गएर पढ्ने सोचाइमा थिइन्। यसले गर्दा उनलाई डा. अरुणको नेपालमै पढ्ने निर्णयले दुखी बनाइरहेको थियो।
'म बाँकी पढाइ अमेरिका गएर पढ्ने सोचमा थिए तर आफूले मनपराइरहेको मानिसको यहीँ पढ्ने निर्णयले मन कुँडियो। आफू अमेरिका जाने सोचमा छु, उहाँले भने यहीँ जाँच दिएपछि मन नपरेजस्तो पनि भयो', उनले भनिन्, 'तर एक दिन कफी खाँदा आफैँले 'आई लाइक यु' भनेँ।
विदेशमा अध्ययन सकेर भर्खर नेपाल फर्किएका डा. अरुणले भने ज्योतिसँग विवाह गर्ने र नेपामै पढ्ने भनेर निर्णय गरिसकेका थिए। आफू विदेश नजाने र नेपालमै बस्ने तर ज्योतिसँग विवाह गर्ने इच्छा रहेको निर्णय सुनाए रे पछि अरुणले, जसको कारण उनले ज्योतिलाई समेत सकेसम्म नेपालमै पढ्न रोक्ने कोसिस गरेका थिए।
यता, परिवारको सपना पूरा गर्न भए पनि विदेश पढ्न जाने निर्णयमा पुगेकी ज्योतिले भने अन्त्यमा अमेरिकाको भिसा प्रक्रियालाई निरन्तरता दिइरहिन्। एक वर्षसम्मको प्रेममा डा. ज्योति विदेश पढ्न जान खोज्ने तर डा. अरुणले रोक्ने प्रक्रिया चिलरहे पनि डा. अरुण बुबा बिरामी भएर उपचार भारत गर्न गएको समयमा अमेरिकाको भिसा प्रक्रिया आफूले अगाडि बढाएको डा. ज्योति बताउँछिन्।
'उहाँ विदेश गएर नपढ्ने, म विदेश गएर नपढी नछोड्ने भएकाले हाम्रो कुरा नमिल्ने भयो, त्यसपछि मैले सहमतिमै रिलेसनसीप ब्रेकअप गर्ने निर्णय गरेर उहाँ आफ्नो बुबा बिरामी भएर इन्डिया गएको समयमा मैले अमेरिकाको यात्रा तय गरेकी थिएँ', डा.ज्योतिले भनिन्।
अरुणको मायाले ३ महिनामानै नेपाल फर्किइन् ज्योति
परिवारको सपनालाई पूरा गर्नका लागि भर्खरै बसेको प्रेम सम्बन्धलाई छोडेर अमेरिका हानिएकी ज्योतिलाई अमेरिका पुगे पनि अमेरिकाको बसाइ जति लम्बिँदै गयो, त्यति नै अरुणको यादले सताउँदा रातभर रुने गरेको ज्योतिले बताइन्।
'हामीबीच प्रेम भए पनि उद्देश्य फरक भएको कारण म अमेरिका पुगेँ तर म उहाँबाट जतिजति टाढा भएँ, उहाँको अभाव खड्किँदै आयो', उनले भनिन्, 'त्यो समयमा न फोन थियो, न फेसबुक, रातभर सम्झिएर रुन्थेँ।'
फोन र फेसबुक नभएको त्यस समयमा यता आफ्नो हालत पनि त्यस्तै भएको डा. अरुणले बताए।
'ज्योति अमेरिका पुगेपछि न काम गर्न मन लाग्ने, न रातभर निद्रा लाग्ने। जति पछि भयो, उति ज्योतिको सम्झना आउने', अरुणले भने। टिचिङमा काम गर्न जाँदा पनि ज्योतिकै यादले सताउने हुँदा ज्योति अमेरिका पुगेको ३ महिनापछि ३ पन्ना लामो चिठी लेखेर ज्योतिलाई पठाएको डा. अरुण सम्झन्छन्। 'उनी अमेरिका पुगेको ३ महिनामा आई लभ यु भनेर ३ पन्नाको पत्र उनलाई पठाएँ', डा. अरुणले भने।
अमेरिका पुगेको लामो समयपछि डा. अरुणले पठाएको चिठ्ठी हातमा परेर पढेपछि डा. ज्योतिलाई धेरै रुन मन लाग्यो रे! ३ पन्नामा लेखिएको चिठ्ठीभित्र किट्क्याट् राखेर पठाएको चिठ्ठी पाएको दिन नै डा. अरुणसँग जसरी पनि विवाह गर्ने निर्णयमा पुगेर अमेरिका पुगेको ३ महिनामै नेपाल फर्किएको बताेँछिन् डा. ज्योति।
'जब उहाँले पठाएको चिठ्ठी हात पर्यो, त्यो दिन चिठ्ठी पढेर धेरै रोएँ र अब जसरी पनि उहाँसँग बिहे गर्छु भनेर ३ महिनामै नेपाल फर्कने निर्णय गरेँ', डा. ज्योतिले भनिन्।
प्रेमले जित्यो जातलाई
दूरीले टाढा भएपछि एकअर्कामा कतिको माया रहेछ भन्ने कुराको अनुभव हुँदोरहेछ, जसले गर्दा मायाको गाढापनले अन्य सबै अवस्था र परिस्थिति फिक्का बन्दै जाने रहेछन् भन्ने लाग्यो रे ज्योतिलाई। 'अमेरिका पुगेपछि एकअर्कालाई धेरै मिस गर्न थाल्यौं', उनले भनिन्। आखिर जहाँ भए पनि विवाह गरेर सँगै बस्ने सल्लाह स्वरूप आफू नेपाल आएर विवाह गर्ने निर्णय गरिसकेकाले नेपाल फर्किएको बताउने डा. ज्योतिले आफूहरूको विवाहका लागि जातले भने थोरै अप्ठ्यारो पारेको बताइन्।
त्यसैले पनि अरूको जस्तो भन्नेबित्तिकै विवाहका लगि ज्योतिको परिवार राजी हुने अवस्था थिएन। तर, एकअर्काप्रतिको अटुट मायाको विश्वासका अगाडि त्यो समस्या ज्यादै सामान्य बन्यो। परिवारको सहमतिबाटै आफूहरू विवाह बन्धनमा बाँधिएको डा. ज्योतिले बताइन्। 'म ब्राह्मण परिवारकी छोरी परेँ उहाँ क्षेत्री, जसले गर्दा बिहे गर्न केही अप्ठ्यारो भए पनि हामीबीचको प्रेमले जातलाई जित्यो र हामी परिवारको सहमतिमै विवाह बन्धनमा बाँधियौँ', उनले भनिन्।
विवाहपछि लामो समय अमेरिका बसेर आएको यो जोडी सच्चा प्रेमकै कारण आफूहरूको प्रेम सफल भएको बताउँछ।विवाहको एक महिनापछि डा. ज्योति पुन: अमेरिका फर्किइन्। उनी पुगेको एक महिनापछि यहाँको पढाइ छाडेर अरुण पनि अमेरिका हानिए।
प्रेम सफल हुन एकअर्कामा विश्वास र स्वतन्त्रता हुनुपर्छ
दुवै जना चिकित्सक भएकै कारण पनि आफूहरूको दैनिकी निकै व्यस्त हुने हुँदा एकअर्कालाई समय दिन मुस्किल हुने भए पनि आफूहरूले समय मिलाएर घर परिवारका साथै एकअर्कालाई समय दिने गरेको डा. अरुण बताउँछन्।
'हामी दुवै जनाको दैनिकी व्यस्त नै हुन्छ तर पनि हामीले समय मिलाएर एकअर्कालाई समय दिइरहेका हुन्छौँ', अरुणले भने, 'हामी सकेसम्म शनिबार काम गर्दैनौँ, शनिबारको दिन घुम्न जाने, परिवारलाई समय दिने गरेका छौँ।'
एकअर्कालाई समय दिन सकिएन भने सम्बन्धमा फिक्कापन आउने हुँदा सकेसम्म कम्तीमा पनि सातामा एक दिन सबै कामलाई भुलेर एकअर्कासँग मात्र समय बिताउन सके सम्बन्ध बलियो हुने डा. अरुणको बुझाइ छ।
३६५ दिन भ्यालेन्टाइन डे
एकअर्कामा प्रेम गर्न र प्रेम प्रकट गर्न कुनै विशेष दिन नचाहिने यो जोडीको बुझाइ छ। त्यसैले आफूहरूले प्रेम गर्नका लागि भ्यालेन्टाइन डे नकुर्ने डा. अरुण बताउँछन्।
'हामीलाई एकअर्कालाई प्रेम गर्न कुनै विशेष दिन चाहिन्छ भन्ने लाग्दैन, त्यसैले हाम्रा लागि ३६५ दिन नै भ्यालेन्टाइन डे हो', अरुणले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।