रौतहट : आपराधिक योजना बनाइरहेको थाहा पाएपछि रौतहट प्रहरीले रौतहटको गौरबाट अत्याधुनिक हतियारसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। गत शनिबार पक्राउ परेका उनीहरूलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका– ५ स्थित जिल्ला अस्पताल अगाडि मुन्ना होटलबाट विशेष सूचनाको आधारमा उनीहरूलाई हतियारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए।
यसरी पक्राउ हुनेहरूमा भारत बिहार राज्य मुजफ्फरपुर जिल्ला हरसेर ग्रामपञ्चायत– १ कोदरियाका मदन कुशवाहा, घोसउत ग्रामपञ्चायत– १ स्वर्णमाधोपुरका दिनेशप्रसाद कुशवाहा र मानिर ग्रामपञ्चायत– २ गदाईका अजयप्रसाद कुशवाहा रहेको जिल्ला प्रहरी प्रमुख पोखरेलले बताए।
उनीहरूसँग रहेको स्वचालित पेस्तोल १ थान, नलकटुवा पेस्तोल १ थान र एसएलआरको गोली ३ राउण्डसहित शनिबार राती प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए।
उनीहरूका बारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।