रौतहट : सधैँ पैसाको अभावमा चाडवाड मान्न झैझगडा गर्ने रौतहटको चन्द्रपुर नगरपालिका ८ सन्तपुरका मुसहर समुदायका दलितहरूले यस वर्षको होली पर्व हर्षोल्लासकासाथ मनाएका छन्।
शुक्रबार दिउँसो १ बजेसम्म सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको पर्खाइमा बसेका मुसहर समुदायले उनीहरू आएपछि सन्तपुर नमुना बस्ती नै हर्षोल्लासमय बनेको थियो। धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिदिएको सो बस्तीमा जब धुर्मुस र सुन्तली प्रवेश गरे तब दलित नमुना बस्तीमा होलीको रौनक नै तातेको थियो।
धुर्मुस सुन्तलीलाई स्वागत गर्न आतुर स्थानीयबासीले भव्यरुपमा स्वागत मात्र गरेनन् नाचगानसहित भरपुर मनोरञ्जन समेत गराए।
धुर्मुसलाई भगवान मान्ने सो बस्तीका बासिन्दा तथा निर्माण समितिका सदस्य सत्य नारायण माझीले शुक्रबार जस्तो खुशी यो जीवनमा कहिले नआएको प्रतिक्रिया दिए। माझीले भने, ‘सँधै अभाव नै अभावमा जेलिने हामीले यसपाली सुविधा सम्पन्न घरमा बसेर होली मनाउन पाएका छौँ,यो भन्दा ठूलो खुशी कुनै हुँदैन।’ उनी भन्छन्, ‘हामी दलित भए पनि यहाँ विभिन्न जिल्लाका आगन्तुकहरूसँग होली खेल्ने मौका पाएका छौं। यो नै हाम्रो खुशी हो।’ यता कलाकार एवं समाजसेवी धुर्मुसले पनि आफूले बनाइ दिएको बस्तीमा आएर होली खेल्न पाउँदा धेरै हर्षित भएको बताए।
आफनो घर भन्दा प्यारो लाग्ने यो नमुना बस्तीमा दलित समुदाय संघ दिल खोलेर होली मनाउन पाउँदा मन भित्रैदेखि हर्षित भएको धर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष तथा कलाकार कट्टेलले बताए। उनले भने, ‘आपसी सद्भावलाई अझ प्रगाढ बनाउनको लागि पनि होली खेल्न सन्तपुर नै रोजेको हुँ र यहाँहरूको अपार मायाले मलाई यहाँसम्म तानेको हो।’ कलाकार तथा धुर्मुस सुन्तली फाउण्डेसनकी उपाध्यक्ष कुन्जना घिमिरे (सुन्तली) ले यहाँ आएर होली बनाउँन पाउँदा मन एकदमै हर्षित भएको प्रतिक्रिया दिइन्।
स्थनीयबासीसँग मन फुकाएर होली मनाउँदै सुन्तलीले भनिन्, ‘यस्तो खुशीयाली जो कोहीले पाउँदैन जुन हामीले पाएका छौँ।’ उनीहरूसँगै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइराला, सशस्त्र प्रहरी नायव उपरीक्षक शुशिल पराजुली, सञ्चारकर्मी लगायतको बाक्लो भीडकासाथ नमुना बस्तीमा होली मनाइएको थियो। उक्त बस्ती गत माघ २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहकाबीच समुदायलाई हस्तन्तरण गरेकी थिइन्।
४७ सुविधा सम्पन्न घर, सामुदायिक भवन, बाल कक्षा, भ्यु टावर लगायतको संरचना १ सय १४ दिनमा निर्माण कार्य गरी सम्पन्न भएको थियो। करिब ५ करोड ९६ लाखको लागतमा सम्पन्न सो बस्ती हेर्न अहिले विभिन्न जिल्लाहरूबाट आगन्तुकहरू आउने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।