रौतहट : अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बिहीबार बजारका चोकचोकमा महिला अधिकारकर्मीहरू ठूलोठूलो स्वरले महिलाको अधिकार प्राप्तिका लागि भाषण गर्दै गर्दा चन्द्रपुर नगरपालिकाकै एक गाउँका महिलाहरूलाई भने यस दिवसले छोएन।
चन्द्रपुर नगरपालिका– ६ लमाहाका महिलाहरू नारी दिवसको त कुरै छाडौँ, नारी भन्ने शब्द नै नसुनेको बताउँछन्। उक्त गाउँकी सीतामाया पहरीले
नारी भन्ने शब्द नै नसुनेको बताइन्। उनी भन्छिन्, ‘मलाई कुनै नारी दिवस थाहा छैन र कसैले भनेको पनि छैन।’
सोही गाउँकी अर्की महिला आइतीमाया कान्छीले पनि अन्तर्राष्ट्रिय नारी दिवसबारे अनभिज्ञता प्रकट गरिन्। ‘आफूलाई घरको कामले फुर्सद छैन, केको नारी दिवस?’, उनले भनिन्। उक्त गाउँका दर्जनभन्दा बढी महिलाहरूले नारी दिवसबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिए। २०४४ सालदेखि बसेको उक्त बस्तीका नारीहरूले आधा घण्टा हिँडेर खोलाको पानी ल्याएर खानुपर्ने बाध्यता छ। यस्तो कुरामा महिला अधिकारकर्मीले कुनै चासो नदिएको सोही गाउँकी अर्की महिला फूलमाया पुलामीले बताइन्।
उक्त गाउँमा १४ वटा घर रहेका छन्। गाउँका कुनै पनि बालबालिका विद्यालय जाँदैनन्। यतिसम्म कि नेपाल सरकारले दिँदै आएको पोषण भत्तासमेत लिन नपाएको उनीहरूको गुनासो छ। चन्द्रनिगाहपुर मेन चोकदेखि करिब आठ किलोमिटर पश्चिममा महेन्द्र राजमार्गकै छेउमा रहेको उक्त गाउँमा नेपाल सरकारले उपलब्ध गराउनुपर्ने कुनै पनि सेवा सुविधा पुग्न सकेको छैन।
यता, बजारका विभिन्न चोकचोकमा नारी दिवस मनाउनका लागि विभिन्न गैरसरकारी संस्था र स्थानीय तहले लाखौँ रुपैयाँ लगाएर तामझामका साथ नारी दिवस मनाइरहेका छन्। बुधबार नै चन्द्रपुर नगरपालिकाको कार्यालयले भव्य रूपमा नारी दिवस मनाएको थियो।
हेर्नुहोस् फोटो :
तपाईंको ईमेल गोप्य राखिनेछ ।