रौतहट : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब सबै राजनीतिक पार्टी एक स्थानमा उभिएर विकास र समृद्धिको संकल्प गर्ने बेला आएको बताएका छन्।
रौतहटको चन्द्रनिगाहपुरमा सोमबार सिटी जेसिजले आयोजना गरेको चन्द्रपुर महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। इतिहासको एउटा राजनीतिक अध्याय समापन भई अब विकासको नयाँ अध्यायतर्फ देशलाई लैजान सबै प्रतिबद्ध हुनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो।
नेपाली जनताले भाषणमा भन्दा पनि अब प्रत्यक्ष काम गरेको हेर्न चाहेको उनले उल्लेख गरे। देशमा आर्थिक विकासको नयाँ युगको सुरुवात गर्नुपर्ने उनको धारणा थियो। उनले भने, ‘प्रदेश २ सम्भावनाले भरिएको र छिटो विकास हुने प्रदेश भएकाले यसतर्फ सरकारले जिम्मेवार र गम्भीर भएर प्रस्तुत हुनुपर्छ।’
यसैगरी कार्यक्रममा उद्योगपति विनोद चौधरीले उद्योगपति, लगानीकर्ता र व्यापारीहरूलाई राज्यले सम्मानका साथ बोलाउन सक्नुपर्ने बताए। उद्योगपति र व्यापारीहरू उद्योग स्थापना गर्न पाऊँ भनेर नेताको घरमा धाउने दिनको अत्य गर्नुपर्ने उद्योगपति चौधरीको भनाइ थियो।
विकास र समृद्धिको नारा उद्यमी तथा व्यवसायीले मात्र नभई सबै राजनीतिक दलले बोकेको चौधरीले बताए। नयाँ सरकारले पाँच वर्षमा औँल्याएको विकासका काम हेर्न जनता आतुर रहेकोसमेत उल्लेख गरे। चौधरीले भने, ‘सरकारले सातवटै प्रदेशमा औद्योगिक क्रान्तिको सुरुवात गर्नुपर्छ।’
सोमबारदेखि सुरु भएको चन्द्रपुर महोत्सव चैत ७ गतेसम्म रहनेछ। करिब पाँच करोड रुपैययाँको कारोवार गर्ने लक्ष्यका साथ महोत्व सुरु भएको चन्द्रनिगाहपुर जेसिसका अध्यक्ष अनन्त अधिकारीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।