रौतहट : विद्युत चोरिरहेको अवस्थामा रौतहटको गरुडाबाट वडा अध्यक्षसहित १९ जना पक्राउ परेका छन्।
विद्युत प्राधिकरण गौर शाखाका इन्जिनियर राजव साहको नेतृत्वमा शुक्रबार गएको टोलीले गरुडा नगरपालिका– ७ का अध्यक्ष रामेश्वर यादवसहित १९ जनालाई पक्राउ गरेको विद्युत प्राधिकरण गौर शाखाका प्रमुख उमेशप्रसाद यादवले जानकारी दिए।
गरुडा नगरपालिका– ७ पिपरियाका वडा अध्यक्ष यादवले हुक लगाई बत्ती बालिरहेको अवस्थामा पक्राउ गरेर प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक रामकुमार दानीले जानकारी दिए। उनीहरूलाई धरौटीमा रिहा गरिएको दानीले बताए।
रौतहटमा अधिक मात्रामा विद्युत चुहावट भएपछि विद्युत प्राधिकरण गौर र चन्द्रपुर शाखाले चोरी नियन्त्रण गर्न दौडाहा टोली खटाएका छन्। गत बुधबार पनि ६३ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको गौर शाखा प्रमुख यादवले जानकारी दिए।
विद्युत प्राधिकरण गौर शाखाले बक्यौता बाँकी रहेका र हुक लगाई विद्युत चुहावट गर्नेहरूलाई कारवाही गरेर करिब सात लाख रुपैयाँ राजस्व संकलन गरेको बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।