|

प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको भारत भ्रमण यसबेला सर्वाधिक चासो र चर्चाको बिषय बनेको छ। यसअघि नेपालका प्रधानमन्त्रीलगायत उच्च स्तरबाट भएका भ्रमणहरूबाट अपेक्षाकृत लाभ लिन नसकेको मात्र होइन, दीर्घकालमा कतिपय विषयमा नोक्सान व्यहोर्नुपरेको तीतो यथार्थ हामीले भोग्दै आएका छौँ। यस सन्दर्भमा प्रधानमन्त्री ओलीको भ्रमणप्रति पनि आशा र शंका गर्ने उत्तिकै छन्।

मूलत: २००७ सालको परिवर्तनका सन्दर्भमा नेपाल-भारतबीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धिदेखि नै दुई देशबीच हुने प्राय: हरेक सन्धि सम्झौता विवादमा पर्दै आएका छन्।

२०४६ मा बहुदलीय व्यवस्थाको पुन:स्थापनापछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको भ्रमणका क्रममा सम्पन्न व्यापार तथा पारवहन सन्धिले उत्साहित नेपाली जनता अर्का प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा भएको टनकपुर सम्झौता तथा शेरबहादुर देउवाको समयमा गरिएको महाकाली सन्धियता सशंकित रहेका छन्।

महाकाली सन्धि हालका प्रधानमन्त्री ओलीकै विशेष सक्रियतामा आफ्नो दलको इज्जत प्रतिष्ठा नै दाउमा राखेर सहमति जुटाइएको थियो। सन्धिले दुई दशक पार गर्दा पनि कार्यान्वयनको पाइलो सार्न नसकेको पीडा स्वयं प्रधानमन्त्री ओलीलाई नै ज्यादा होला।

यसबाहेक दुई देशबीच रहेको असन्तुलित व्यापार सन्तुलनका लागि नेपालबाट सहज निर्यात प्रणाली, दशकौँअघिदेखि पूरा हुन नसकेको हुलाकी मार्ग, सीमा क्षेत्रमा देखिएका आतंकवादलगायतका अवान्छित गतिविधि नियन्त्रण र सार्कअन्तर्गत द्विदेशीय विषयहरू टुंगो लाग्न सकेका छैनन्। लिपुलेक प्रकरण मात्र होइन सिमा क्षेत्रका डुवान समश्या र रेलदेखि तेल सम्का कुरा हुनु जरुरी छ । यी सबै सन्दर्भ नाकाबन्दीका बेला उठेका छन् र २०४५/२०४६ को अलि बिर्सिए पनि पछिल्लो नाकाबन्दीको घाउ आलै छ ।  नेपाली जनताले मात्र होइन भारतका लागि झनैं प्रत्युत्पादक बनेको नाकाबन्दी भारतीय प्रधानमन्त्री मोदीले पनि राम्ररी सम्झेको हुनु पर्छ ।

नेपाली जनताले भारतका तर्फबाट देखिने गरेका अर्घेल्याइँ, हेपाहा र मिचाहा प्रवृत्तिको व्यावहारिक र मनोवैज्ञानिक अन्त्य मात्र चाहेको होइन, नेपाली नेतृत्वले कहिले गाली गरेको र कहिले अनावश्यक शिर झुकाएको लज्जाजनक अवस्था पनि देख्न चाहेका छैनन्। यतिबेला गाली र तालीको पछि लाग्ने भन्दा पनि नेपालको भूराजनीतिक यथार्थसमेतलाई मनन् गरी सन्तुलित र विश्वासको सम्बन्ध कायम गर्न आवश्यक छ।

नेपाल र भारतबीचको सम्बन्ध भनेको राजनीतिक र फाइदाको सम्बन्ध मात्र होइन, जनस्तरमा रहेका/भएका सामाजिक, सांस्कृतिक र धार्मिक सद्‍भाव र सम्बन्ध युगौँदेखि अद्वितीय छन्। यिनै विषयलाई आत्मसात गर्दै प्रधानमन्त्री ओलीले भनेझैँ यस भ्रमणबाट नेपाल र नेपालीले फेरि अर्को पटक शिर झुकाउनु नपरोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.