'आगामी २० वर्षमा डाक्टर/इञ्जिनियर बन्छन्'

|

लहान : प्रधानमन्त्री केपी शर्मा ओली सिरहाको कल्याणपुर नगरपालिका- ११ का विपन्न दलित समुदायका दुई विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन्। 

‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, सुनिश्चितता र सिकाइको स्थायित्व’ भन्ने नारासहित कल्याणपुरस्थित रामदुलारी माविमा बुधबार आयोजित विद्यार्थी भर्ना अभियान- २०७५ अन्तर्गत प्रधानमन्त्री ओलीले कक्षा १ की रूपाकुमारी खत्वे र पवन मल्लिक डोमको अभिभावकत्व ग्रहण गरेका हुन्।

‘आगामी २० वर्षभित्र मैले अभिभावकत्व लिएका रूपा र पवन डाक्टर/इञ्जिनियर बन्नेछन्’, अभिभावकत्व ग्रहण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अल्पसंख्यक, पछाडि पारिएकाहरूलाई अवसर र सुरक्षा दुवै दिन्छौँ।’ आगामी दिनमा कसैले पनि शिक्षाबाट वञ्चित हुनु नपर्ने र उपचार, खान नपाएर, जाडोले कठ्याङ्ग्रिएर ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने प्रधानमन्त्री ओलीको उद्घोष थियो। 

'बोक्सीलाई मविरुद्ध लगाइदिनुहोस्'

कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्वान्, ऋषि महर्षिहरूको पवित्र भूमि नेपालका हामी गरिब, अशिक्षित मात्र होइन, मूर्खसमेत बनेको औँल्याउँदै सीता पुजिने भूमिमा महिलालाई बोक्सी भनेर अपमानित गरिरहेकामा व्यंग्य गरे। ‘महिला बोक्सी हुने भए मविरुद्ध नै लगाइदिनुहोस्’, उनले भने। 

मानवीय विकास सूचकांकमा विकट मानिने कर्णालीको अवस्थामा रहेको सिरहा जस्तो सुगम जिल्लालाई समृद्ध बनाउन प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा संघीय सरकारको सक्दो सहयोग रहने बताउँदै प्रधानमन्त्रीले त्यसका लागि सुनकोसी–मरिण–कमला डाइभर्सन बनाई कृषिको आधुनिकीकरण गरिने उद्घोष गरे। जनताले नै सरकार बनाएको उल्लेख गर्दै ओलीले जनताको सरकारले सिँचाइ, सडक, रेल, बिजुली, औद्योगिकीकरण, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको विकास गरी मुलुकलाई समृद्ध बनाउन केन्द्रित रहेको बताए। 

सशस्त्र गतिविधि गरिरहेकाहरूप्रति लक्षित गर्दै प्रधानमन्त्रीले राजनीतिको नाममा आतंकपूर्ण क्रियाकलापसहित चन्दा, अपहरण, फिरौती असुलीलाई कडाइका साथ नियन्त्रण गरिने र नमान्नेलाई कारबाही गरिने उनको भनाइ थियो। उनले भने, ‘तथाकथित क्रान्तिको नाममा जनता अल्मल्याउने होइन, काम गरेर देखाउने हो।’ 

कार्यक्रममा उनले विद्यार्थी भर्ना कार्यक्रमको श्रव्य-दृश्य सामग्रीको स्विच अन गरेर थालनीसमेत गरे। कार्यक्रममा प्रधानमन्त्रीलाई कल्याणपुर नगर प्रमुख सूर्यनाथ मण्डल र युवा संघका वैद्यनाथ साहले मायाको चिनो हस्तान्तरण गरे।  

सामाजिक विकृतिविरुद्ध अभियान

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले हरेक क्षेत्रमा पछाडि रहेको प्रदेश २ मा शैक्षिकसँगै सामाजिक विकृतिविरुद्धको अभियान पनि सँगसँगै चलाउनुपर्ने खाँचो औँल्याए। ‘आर्थिक, भौगोलिक विकटता र संस्कृतिजन्यलगायतका कारणले शिक्षा क्षेत्र बिथोलिएको छ’, शिक्षामन्त्री पोखरेलले भने, ‘विकासको आधार शिक्षा हो, त्यसबाट कसैले पनि वञ्चित हुनु नपर्ने गरी अनिवार्य शिक्षा ऐनको आधारमा शिक्षामा सबैको पहुँच र सहभागिता सुनिश्चित गरिनेछ।’ 

भर्नासँगै विद्यार्थी टिकाउन सबैले आआफ्नो सामाजिक दायित्व बहन गर्नुपर्ने र शिक्षालाई जीवनोपयोगी बनाउँदै प्रविधिमा आधारित शिक्षा प्रणालीको विकास गरी समाजवाद उन्मुख समृद्ध राष्ट्र बनाउन सकिने मन्त्री पोखरेलले बताए। कार्यक्रममा शिक्षामन्त्री पोखरेलले कल्याणपुर- ११ का राहुलकुमार महराको अभिभाकत्व ग्रहण गर्दै विद्यालय भर्ना रजिष्टरमा हस्ताक्षरसमेत गरे। 

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले खानेपानी, गरिबी, बेरोजगारी, सामाजिक विकृतिमा अगाडि रहेको आफ्नो प्रदेशमा छोरीलाई विशेष प्राथमिकता दिएको बताए। विद्यालय छाड्ने दरमा न्यूनीकरण गर्दै अल्पसंख्यक समुदायसहित छोरीलाई बीमासहितको शिक्षा नीति ल्याइने र त्यसमा संघीय सरकारले सघाउनुपर्ने माग गरे। कार्यक्रममा उनले पनि कक्षा १ मा पढिरहेका सोनुकुमार खत्वेको अभिभावकत्व ग्रहण गरे। 

विद्यार्थीलाई झोलासहित पाठ्यपुस्तक र पोसाक

कार्यक्रममा प्रधानमन्त्री ओलीसहित शिक्षा मन्त्री पोखरेल, मुख्य मन्त्री राउत, सिरहाका प्रमख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले अभिभावकत्व लिएका मनीषाकुमारी मल्लिक डोमसहित पाँच जना विद्यार्थीलाई झोलासहित पाठ्पुस्तक र पोसाक हस्तान्तरण गरिएको थियो। कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका तारक धितालले कल्याणपुर क्षेत्रका थप १० जना गरिब, विपन्न र दलित समुदायका १० विद्यार्थीको अभिभावकत्व लिएका थिए। 

शिक्षा विकास तथा समन्वय इकाई सिरहाका अनुसार सिरहामा १५ हजार ९५ जना अर्थात् ७.८ प्रतिशत विद्यालय जाने उमेर समूहका बालबालिका अझै विद्यालयबाहिर रहेका छन्। जिल्लाको साक्षरता प्रतिशत ५१.१५ प्रतिशत रहेको समन्वय इकाईले जनाएको छ।  
    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.