|

सोलुखुम्बु : ‘असी पुगी बसी खाने’ बेला भयो भन्ने नेपाली उखानै छ। तर, यो उखानेले माप्य दूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय वृद्ध पासाङ शेर्पालाई छुन सकेको छैन। 

शेर्पा विगत ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा माथि सगरमाथा जाने बाटो निर्माणमा सक्रिय छन्। गाला चाउरी परिसके, केश फुलिसक्यो, ढाडसमेत कुप्रो प¥यो तर अझै जोस जाँगर भने १६ वर्षे जवानीको जस्तै छ। 

आँखा राम्ररी देख्दैन, कान समेत मुस्किलले सुन्छन्। तर, उनी बाटोमा बसेर चन्दामा माग्छन् र बाटो बनाउने कार्यमा सक्रिय हुन्छन्। पैदलयात्रीसँग चन्दा मागेर बाटो बनाउन लागेको ३३ वर्ष पुग्यो। लुगाफाटा मैला छन्। बाटोमा चन्दा बाकस राखेका छन्। बाटो हिँड्ने जोसुकैलाई सकेको सहयोग माग्छन्। र मागेको पैसाले बाटो निर्माण गर्छन्। 

तल पर्खाल लगाएर उठाइएको, माथितिर पर्खाल अड्याएको फराकिलो समथर बाटो साना गाडी गुड्न मिल्ने ग्राभेल सडक जस्तो। तर यो सडक नभएर पैदल मार्ग हो। उनले आफूले पैदलयात्रुसँग मागेको पैसाले बनाएको मार्ग हो त्यो। विगतमा त्यहीबाट हिँड्न निकै सास्ति हुने गरेको थियो। आफ्नो ज्यानसमेत थेग्न नसक्ने अवस्थाको भए पनि अझै बाटो बनाउने कार्यमा सक्रिय छन्, उनी। 

जिल्लाको माथिल्लो क्षेत्र खुम्बुको विकासमा उनले महत्त्वपूण योगदान दिएका छन्। एक्लो प्रयासबाट पर्यटकीय क्षेत्रमा पथप्रदर्शक हिड्ने घोरेटो बाटो मर्मत गरेर कहिल्यै नथाकेका शेर्पाको कामले नेपाल सरकारलाई चुनौती दिएको छ। वास्तविक नाम पासाङ शेर्पा भए पनि ‘लामा सेरु’को नामले चिनिन्छ, उनी।

चन्दाबाट दिङ्बोचेदेखि फुगिचेसम्मको करिब १४ किलोमिटर बाटो बनाइसकेको शेर्पाले बताए। उनले भने, ‘फेरिचेदेखि एभरेस्ट बेस क्याम्पसम्मको करिब ५ किलोमिटर बाटो पनि बनाइसकेँ। अहिले नाम्चे–त्याङ्बोचे हुँदै दिङ्बोचे जोड्ने अभियानमा छु। यो बाटोको दूरी करिब २० किलोमिटर छ। अब यो बाटो सक्न धेरै बाँकी छैन। एकदुई किलोमिटर होला। ०७५ को वैशाखभित्र सक्ने तयारी छ।’

उमेरले बुढेसकाल लागे पनि तन र अभियानमा बुढेसकाल नलागेको उनले सुनाए। उनले एक मुठी सास रहुन्जेल बाटो बनाउने कार्यमा नै लाग्ने बताए। उनले भने, ‘एक मुठ्ठी सास रहुन्जेल पनि म बाटो बनाउने कार्यमा नै हुन्छु।’ 

किन बाटो बनाउने अभियान

बाटो निर्माण कार्यमा सक्रिय शेर्पा पनि सोही बाटो हिड्दा असहज भएपछि बाटो बनाउने अभियानमा जुटेको बताउँछन्। ‘म पहिला ट्रेकिङ गर्थे, त्यसबेला बाटो थिएन, झाडी समाउदै हिड्नपथ्र्यौ।’ विगतलाई सम्झदै भने, ‘नेपालको मात्र हिड्ने भएता हुन्थ्यो नि फेरि विदेशी हिड्ने बाटो, सरकारले ध्यान देला जस्तो लागने त्यसैले यसलाई बनाउनुपर्ने महशुस गरेर म अभियानमा जुटेँ।’ 

पर्यटक लिएर खुम्ब घुमाउन लगेको राम्रै इतिहास छ शेर्पासँग। ‘त्यसबेलाको अप्ठ्यारो बाटो देखेर कुन बेला हामी नै लडेर मरिने हो कि भनेझैं हुन्थ्यो’, उनले भने, ‘झन् पर्यटकलाई कस्तो हुँदो हो? त्यसैले पर्यटक घुमाउनुभन्दा बाटो बनाए धेरै पर्यटकलाई सजिलो होला भन्ने लागेर यो अभियान चालेको हुँ।’

सगरमाथा राष्ट्रिय निकुञ्जको स्वीकृति लिएरै बाटो बनाउन लागेका शेर्पाले केही वर्षयता भने दुई जना मान्छे राखेर काम गराउँछन्। उनीहरूले बाटो बनाउने काम गर्छन् र पारिश्रमिक लिन्छन्। दुई जनालाई दिने पारिश्रमिक पनि चन्दाबाट उठेको रकमबाट नै हो ।  दैनिक तीन पटक खाएर एक हजार रुपैयाँ एक जनाको ज्याला छ। उनीहरुलाई खाना खुवाउने काम शेर्पा आफैँले गर्छन् भने महिना पुगेपछि दैनिक एक हजारको दरले पारिश्रमिक दिन्छन् ।

सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा वर्षेनी हजारौं पदयात्री र आरोही जान्छन्। सोही बाटो भएर जाने पर्यटक र गाइडहरूको स्वेच्छिक सहयोगले बाटो बनाउने काम सफल भएको छ। शेर्पाले भने, ‘मेरो आफ्नो गुजारा पनि यहि हो, काम गर्नेको पारिश्रमिक पनि त्यसैबाट पुग्छ, मैले कुनै पनि रकम हिनामिना गर्दिन सबै बाटो बनाउनुमै खर्च गर्छु।’

मासिक कति रकम उठ्छ भन्ने एक्किन तथ्याङ्क छैन तर पनि अहिलेसम्म करिब २ करोड रकम संलकन भएको उनको भनाइ छ। खाना अतिनै महङ्गो बस्नको लागि समेत गाह्रो छ। शेर्पाले भने, ‘म बाटोमा बसेर माग्छु। श्रीमती खाना बनाउछे। दुई जनाले काम गर्छन्। हामी सबैले चन्दाबाट संकलन भएकै रकमले व्यवहार सञ्चालन गर्छौ।’

शेर्पाले अहिलेसम्म करिब २० किलोमिटर ट्याक्सी गुड्ने बाटो बनाइसकेका छन् भने १६ वटा चौतारासमेत निर्माण गरिसकेका छन्। ‘पर्यटक र भरियाका लागि ठाउँठाउँमा बिसाउनको लागि चौतारा निर्माण गरेको छु,’ शेर्पाले भने, ‘मैले पनि भारि बोकेर जाँदा बिसाउने ठाउँ कहाँ पाइन्छ भन्ने लाग्थ्यो, त्यहि भोगाइले पनि सबैलाई सहज होस् भनेर चौतारा निर्माण गरेको हुँ।’

बाटो बनाउने, चौतारा निर्माण गर्ने मात्र नभई उनले धर्मकर्ममा समेत ध्यान दिन्छन् । सोही क्षेत्रमा करिब २५ लाख बराबरको लागतमा माने समेत निर्माण गरेका छन्। शेर्पाले भने, ‘सरकारले हेर्नुपर्ने यस क्षेत्रमा कसैले पनि हेरेनन् अझै पनि हेर्लान भन्नेमा मलाई संका छ।’

हरेक कामको हिसाब किताब राखेको छैन। तर, उनको काम र सहयोग रकम कतै हिनामिना भयो कि भन्ने मान्छे समेत भेटिन्दैन। पर्यटन व्यवसायी तथा दलित समुदायको तर्फबाट पहिलो सगरमाथा आरोही विजय विश्वकर्मा (घिमिरे)ले शेर्पालाई शंका गर्नु पर्ने कुनै कारण नभएको बताए। ‘मान्छे हिँड्न नसकिने बाटो ट्याक्सी गुड्न सक्ने बनाइएको छ। उनीजस्तो विकासप्रेमी वृद्धसँग हामीले शंका गर्नु आवश्यक छैन।’ विश्वकर्माले भन्ने, ‘एक जना वृद्धले यति काम गरेका छन् भने हामी युवा सुतेर बसेका रहेछौँ भन्ने लाग्छ। हामीले त काम गरेनौ राज्यको लगानीसमेत सहि ठाउँमा भएनछ भन्ने प्रष्ट भयो।’

बाटो बनाउने अभियानमा सक्रिय पासाङ शेर्पा अग्रेजी भाषा बोल्न जान्दैनन्। विदेशी पर्यटकलाई पनि शेर्पाको कामका बारेमा बुझाएर सहयोग गर्न लगाउने गरेको पर्यटक गाइड छिरी शेर्पाको भनाइ छ।

वर्षमा दुई सिजनमा सगरमाथा आरोहण हुनेगरेको छ । एकै सिजनमा हजारौँको संख्यामा स्वदेशी तथा विदेशी पर्यटक खुम्बु जान्छन्। खुम्बु क्षेत्रको बाटो बनाएर आवतजावतलाई सहज बनाइदिने शेर्पाको कदर सरकारले गर्नु पर्ने ट्रेकिङ गाइड चुडामणि केसीले बताए। केसीले भने, ‘खुम्बु क्षेत्रको बाटो बनाएर पर्यटन तथा सर्वोच्च शिखर जाने आरोहीलाई सहज बनाउने काम पासाङ शेर्पालेनै गरेको हो यसमा त्यसैले सरकारले उनको योगदानको कदर गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.