गाउँकाे जीवनशैली फेरियाे

|

उदयपुर : कटारी नगरपालिका १२ का रामबहादुर खुलाल मगरका बारीमा कोदो, मकै र फापर प्रशस्तै उत्पादन हुन्छ। पाखोबारीका धन मगरको ६ जनाको परिवारलाई आफैँले फलाएको अन्नले वर्षभर खान पुग्छ। तर, मगरको भान्सामा कोदो र फापरका परिकार प्राय:पाक्दैनन्। ‘मगर जातिले कोदो खाने भनेको  जाँड बनाएर मात्र हो’ मगरले भने, ‘कोदो बेच्ने हो। धानकाे चामल किनेर खाने हो।’

यसरी नै उदयपुरगढी-२ का बमबहादुर थापाले गएको वर्ष झन्डै २० मुरी फापर र ३० मुरी कोदो बेचेको बताउँछन्। मगर जस्तै पाखोबारीका धनी थापा बारीमा फल्ने कोदो, मकै र फापर बेचेर चामल नै खरिद गरेर खान्छन्। ‘हिजो आज गाउँ मै सडक आएको छ’ उनले भने, ‘बारीमा फलेको कोदो, मकै, फापर र जौ खरिद गर्न ठेकदार गाउँ मै आउँछन्। उनीहरूले नै चामलसँग साटेर लान्छन्।’

मगर र थापा उदयपुरको पहाडी क्षेत्रकाे पाखो तथा भिरालो जग्गामा उत्पादन हुने अन्न बेचेर तराइको चामल खाने उदाहरण मात्र हुन्। किसानका बारीमा कोदो, मकै र फापर प्राय: लगाइन्छ। तर ती उत्पादक किसानले यी अनाज खान छोडेको धेरै भयो। शहरमा मकै, कोदो र फापरको माग बढेको छ। त्यसैले किसानले आफूले खानु भन्दा बिक्रीबाट आम्दानीको राम्राे  स्रोत बनाएका छन्। अाफूले भने अाफ्नै कमाइ खाना छाडिसकेका छन्। ‘फापरको स्वाद नलिएको वर्षाै भयो’ उनै कटारी नगरपालिका १३ का मगरले भने, ‘अव त फापरकाे स्वाद पनि बिर्सियो।’ खानु भन्दा बेच्दा धेरैआम्दानी हुने भएकाले बजारै पुर्‍याउन थालेका छन्। 

दुईवर्षअघिसम्म खाजाका रुपमा मकै, भटमास, कोदो र मकै र फापरको रोटी खाने उनी अहिले चाउचाउ र बिस्कुट नै प्रयोग गर्न थालेका छन्। ‘केटाकेटीहरू चाउचाउ, बिस्कुट र चटपटेमा रमाउन थालेका छन्’ रौतामाई गाउँपालिका एकका राम रास्टकोटीले भने, ‘बिहानको खाना सामान्य भए पनि दिउँसो खाजा भने चाउचाउ, बिस्कुट र चटपटे मुख्य बनेको छ।’

मकै, कोदो र फापर नपाएर उनीहरूले यी तयारी वस्तुलाई खाजा बनाएकाे होइन। गाउँघरमा सहजै यी चिज आपूर्ति हुन थालेपछि अहिले तयारी खाजाको बिक्री पनि बढेको छ।

सदरमुकाम गाइघाटका शिव दाहाल बिहानको खाना कोदोको ढिँडो मन परेको बताउँछन्। ‘पाएसम्म दिउँसोको खाजामा फापरको रोटी, भुटेको मकै खान्छु’ दाहालले भने, ‘उच्च रक्तचापका कारण डाक्टरले बजारमा पाइने तयारी चाउचाउ, चामलको भात नखानु भनेको छ। त्यसकारण बेलुका बेलुका भने मकैको भात खान थालेको दुईवर्ष भयो’ अहिले सहरमा तयारी खाजा खानुभन्दा गाउँबाट ल्याएको मकै,कोदो र फापरका परिकार बनाएर खाँदा राम्रो भन्दै त्यस्ता स्थानीय उत्पादनलाई प्रयाेग गर्नेकाे संख्या बढिरहेकाे छ।

चाउचाउ र बिस्कुटजस्ता खाद्य वस्तु गाउँमा पुर्‍याउन ग्रामीण सडकले सहज भएपछि गाउँको जीवनशैली फेरिँदै गएको छ। ग्रामीण क्षेत्रमा सडक सञ्चालन भएपछि दैनिक उपभोग्य वस्तुको ढुवानीमा सहज भएको छ। गाउँगाउँमा सडक सञ्जाल जोडिएपछि चाउचाउ, बिस्कुटजस्ता तयारी खाजा सस्तो भएकाले यिनको प्रयोग पनि बढेको हो। सडकका कारण गाउँगाउँमा निर्वाध सवारी सञ्चालन भएका छन्।

पहिले गाडी नचल्दा दैनिक उपभोग्य वस्तुको ढुवानी पनि महँगो थियो। उपभोग्य वस्तु पनि किनिसक्नु थिएन। गाउँवस्तीमा सडक नपुग्दा भरिया र खच्चडमा बोकाएर दैनिक उपभोग्य वस्तु लगिन्थ्यो। भरियाले गाइघाटबाट चार खच्चडले तीदिन लगाएर गाउँ पुर्‍याउँदा चीज महँगो पनि हुने व्यापारी कुमार माझीले बताए।अहिले जताततै सडक सञ्जालले जोडिएकाे छ। चाउचाउ, बिस्कुट, दालमोट भुजियाजस्ता खानेकुरा खाजाका लागि प्रयोग गरिने भएकाले धरान, विराटनगर, राजविराज, लहान, जनकपुर र गाइघाटलगायतबाट सोझै ग्रामीण भेगमा पुग्ने गरेको व्यापारीहरूको भनाइ छ।

‘गाउँ फलाएको मकै, कोदो र फापर भने अहिले सहरमा बढी माग हुन थालेकाे छ’ त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले भने, ‘तयारी खाजाको गाउँमा माग छ।’  त्यसैले पनि गाउँ र सहर दुवैको खाजा खाने शैली फेरिएको उनले बताए।खाद्य सुरक्षासम्बन्धी सराेकारवाला निकायले गर्ने विभिन्न कार्यक्रमहरूमा ग्रामीण क्षेत्रमा उत्पादन हुने मकै, कोदो, भटमास, जौ खानुपर्छ भन्ने जनचेतना प्रचार प्रसार नहुँदा गाउँमा पाइने माैलिक खानेकुरा लोप हुँदै गएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.