|

सोलुखुम्बु : सोलुखुम्बु तामाखानीका दलित समुदायका युवाहरु पछिल्लो समय आफ्नो पुख्र्यौली पेशाप्रति आकर्षित बनेका छन्। वैदेशिक रोजगारीमा वर्षौ बिताएका दलित युवा यतिबेला आफ्नै घरको आरनबाट मनग्य आम्दानी लिइरहेका छन्। 

दूधकुण्ड नगरपालिका–३ तामाखानीका ३५ वर्षीय पदमबहादुर विश्वकर्माको छ जनाको परिवार छ । हट्टाकट्टा ज्यान देखिने विश्वकर्माले १२ वर्ष कतार र मलेसियामा बिताए। विदेशमा जसोतसो सामान्य कमाई गरेका विश्वकर्मा हजुरबाले स्थापना गरेको आरनमा तामाको ढाली बनाउदै गरेको अवस्थामा भेटिए।

उनी आफ्नो पुख्र्यौली पेशाबाट सन्तुष्ट देखिन्छन्। ‘सबैले पुख्र्यौली पेश त्यागिरहेका छन्। तर, यस गाउँका युवाहरु चाही यसैबाट मनग्य आम्दानी लिइरहेका छौँ, यो पेशाबाट म सन्तुष्ट छु, परिवार पनि खुसी छन्, अन्यले सेवा पनि राम्रै पाएका छन्।’ 

सोही गाउँका लक्ष्मण घतानी पाँच वर्ष बहराइनको एक ग्यारेज कम्पनीमा सेवा गरी नेपाल फर्किएको करिब तीन बर्ष भयो। २५ वर्षीय घतानी आफ्नै घरमा तामाको डाली, झ्यांगा, ग्रागी, पञ्चपालीलगायत आवश्यक सामाग्री निर्माण गर्छन्। 

आफ्नो बाबु बाजेले अँगालेको पेशाभन्दा वैदेशिक रोजगारी उत्तम लागेर बहराइन पुगेका उनी त्यहाँ बस्दा अत्यान्तै कष्ट भएको बताउँछन्। ‘आफ्नो सपना विदेशले पूरा नगरेपछि स्वदेशमा आई पुख्यौली पेशालाई निरन्तरता दिने सोच बनाएँ, जसबाट घरखर्च पूरा गरी मासिक १५ हजारसम्म बचत गर्छु’ उनले भने, ‘आफ्ना पेशाको संरक्षण गर्न पाउदा गौरवान्वित छु।’  

सोलुखुम्बु जिल्लामा निर्माण भएको तामाका सामाग्रीलाई उच्च महत्त्वका साथ हेरिन्छ। विभिन्न कार्यक्रममा आउने पाहुनालाई उपहारको रुपमा यहाँ निर्माण भएको तामाको डाली पठाउने संस्कार छ। यस्तै, छोरीको विवाह हुँदा गोडा धुनको लागि खड्कुला, ग्रागी र तामाको डालीको अझ बढी प्रयोग गरिन्छ। त्यसैले यहाँ निर्माण गरिएको सामाग्रीको बजार पनि राम्रै रहेको उनीहरुको भनाई छ। 

‘विदेशको पसिना विदेशीकै लागि भयो, अहिले घरमा परिवारसँग रमाइलो दिनहरु बितिरहेका छन्’ १० वर्ष दुवईमा समय बिताएका कृष्णबहादुर विश्वकर्माले भने ‘मेरो हातको सीप देशको विभिन्न ठाउँदेखि विदेशसम्म कोसेलिको रुपमा पठाउनु पाउँदाको अत्यान्तै खुसी छु।’ उनले मासिक ५० हजार रुपैयाँभन्दा बढी कमाइ घरमै बसेर गर्छन। उनी भन्छन्, ‘मासिक ५० हजार रुपैयाँभन्दा बढी कमाई घरैमा हुन्छ। विदेशमा रहँदा बल्ल बल्ल ४० हजार रुपैयाँ हुन्थ्यो।’ 

अहिले उनलाई दश वर्ष किन विदेशमा बिताएँ भनेर पछुतो लागेको छ। उनी थप्छन्, ‘मेरो दश वर्षको समय विदेशमा खर्च गरेर ठूलो भुल गरेछु भन्ने लाग्छ।’ तामाखानीमा निर्माण गरिएको सामाग्रीको मुख्य बजार सदरमुकाम सल्लेरीलगायत अन्य भाँडा पसलेले पनि होलसेलमा लाने गरेको उनको भनाई छ। 

यो पेशालाई अझ व्यवस्थीत बनाउँनको लागि सरकारको लगानी आवश्यक रहेको कृष्णबहादुर घतानीको भनाई छ। ‘आधुनक प्रविधि र थप सहयोग, हौसला सहित उद्योगको रुपमा विकास गर्नुपर्छ,’ घतानीले भने, ‘यहाँ उत्पादीत बस्तुलाई बाह्य व्यापारको रुपमा समेत विस्तार गर्न सकिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.