|

काठमाडौं : भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले नेपालमा रहेका भुटानी शरणार्थी समस्याको स्थायी समाधान गर्न नेपाल र भारतका प्रधानमन्त्रीसँग माग गरेका छन्। वैशाख २८ गते हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको अवसर पारेर दुवै देशका प्रधानमन्त्रीसँग मानवअधिकारवादी नेता रिजालले शरणार्थी समस्याको स्थायी समाधान गर्न माग गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीलाई २६ पृष्ठ लामो खुलापत्र लेखेर रिजालले भुटानका नागरिकले स–सम्मान आफ्नो देश फर्कन पार्ने बताएका छन्। भारतले पछिल्लो दिनमा गर्दै आएको प्रगतिबाट भुटानी शरणार्थी गौरवान्वित रहेको उल्लेख गर्दै रिजालले लेखेको खुलापत्रमा भारतको छेउछाउमा भुटानी शरणार्थी समस्या लामो समयदेखि अल्झदा विश्व समुदायले भारतको प्रभावलाई कम आँक्ने अवस्था नआओस भन्ने कुराले चिन्तित् रहेको लेखिएको छ।  

यो चिन्ता व्यक्त गर्नुअघि रिजालले दक्षिणी भुटानमा भारतको सीमा रक्षकको रूपमा सयौँ वर्षदेखि बस्दै आएका भुटानीलाई हिन्दू धर्मावलम्बी भएको र नेपाली भाषी भएको आधारमा नै सन् १९८८ मा भारतको बाटो हुँदै नेपाल तर्फ लेखेटिएको स्मरण गराएका छन्। अहिले भुटानमा प्रजातन्त्र छ भनिन्छ तर जातीय वा धार्मिक रुपमा उत्तिकै उत्पीडान रहेको छ रिजालले मोदीलाई खुलापत्र मार्फत भनेका छन्, ‘भुटानमा रहेका जनता निरंकुशतामा बाँच्न विवश रहेका छन्।’ 

भारतको प्रधानमन्त्रीको हैसियतमा एक पटक बोलिदिएकै अवस्थामा ३ दशकदेखि अल्झिरहेको समस्या समाधान हुने भुटानी मानवअधिकारवादी नेता रिजालको विश्वास व्यक्त गरेका छन्। यस्तै, नेपालका प्रधानमन्त्री ओलीलाई रिजालले खुलापत्र लेखेर भुटानमा कहालीलाग्दो जीवन बिताइरहेका र देशबाहिर निरीह जीवन बिताइरहेका भुटानी नागरिकलाई नागरिकको हैसियत दिलाउन माग गरेका छन्। उनले यसका लागि भुटान, नेपाल र भारतको उच्चस्तरीय छानविन समिति गठन गरी समस्याको जरो पत्ता लगाउन र समस्या समाधान गर्न ११ बुँदे अपिलसमेत गरेका छन्। 

भुटान विगत ३० वर्षदेखि जातीय राजनीतिमा फेसको छ, यसका लागि कारक को हुन सक्छ? के कारण यस्तो भयो? रिजालले प्रश्न गरेका छन्। उनले देश छाडेर जान बाध्य बनाइएका एक लाख नागरिक आजसम्म पनि अनिर्णयको बन्दी बनेको उल्लेख गरेका छन्। रिजालले मोदीको नेपाल भ्रमणका क्रममा यो समस्या राखिदिन नेपालका प्रधानमन्त्री ओलीसँग अपिलसमेत गरेका छन्। 

मोदीलाई लेखेको खुलापत्रमा रिजालले भुटानमा कार्यरत केही भारतीय मानिसलाई प्रयोग गरेर भुटानले भारतको केन्द्रीय नेताहरुको मन जितेको मात्रै दावी प्रस्तुत गरेका छन्। उनले अप्रत्यक्ष देशी–विदेशी सहयोग जुटाएर अपराधको श्रृखला बढाउँदै गरेको भुटान सरकारलाई मानवताको नाताले अधिकार, स्वतन्त्रता र अन्तराष्ट्रिय कानुनको बारेमा बोध गराइदिन प्रधानमन्त्री ओली समक्ष अनुरोध गरेका छन्। 

‘विगत ३० वर्षदेखि भुटानको जेलमा निर्दोष नागरिक निर्मम जेल यातना भोगिरहेका छन्, आफन्त कहाँ छन् र भविष्य के हो? भन्नेसमेत थाहा छैन’ रिजालले लेखेका छन्, ‘भुटानले अझै आफ्ना नागरिक खेदाउन छाडेको छैन, तेस्रो देश पुर्नबासको सिलसिला स्थगित भएसँगै परिवारविहीन नौ हजारभन्दा बढी शरणार्थी बिचल्लीमा छन्।’

अन्तराष्ट्रिय समुदायको पहलमा सन् २००७ देखि भुटानी शरणार्थीलाई तेस्रो देशमा लग्ने कार्य सुरु भएकोमा सन् २०१७ को डिसेम्वर महिनासम्ममा एक लाख १२ हजारभन्दा धेरै भुटानी शरणार्थी त्यसतर्फ गइसकेका छन्। रिजालले अहिले नौ हजारभन्दा बढी भुटानी शरणार्थी नेपालका शरणार्थी शिविरमा बस्दै आएको अवगत गराएका छन्। 

भुटानको राजकीय सल्लाहकार परिषद्का पूर्व सदस्यसमेत रहेका मानवअधिकारवादी शरणार्थी नेता रिजालले भारतीय प्रधानमन्त्री नेपाल आउने समयमा खुलापत्र लेख्दै आएका छन् तर उनको कुरा भारतले सुनेको नसुनेझै गरिरहेको छ। भुटानका नागरिकले ससम्मान आफ्नो देश फर्कन पाउनु पर्ने, आफ्नो लुटिएको सम्पत्ति फिर्ता हुनुपर्नेलगायतका रिजालले अघि सारेका ११ बुँदे मागमा भारतीय प्रधानमन्त्री मोदीले चासो लेलान? त्यो त मोदीको आसन्न नेपाल भ्रमणपछि नै भन्न सकिएला तर, अहिले यति भन्न सकिन्छ अन्तराष्ट्रिय समुदायको सहयोगमा तेस्रो देश पुर्नबास भएका एम लाख १२ हजारभन्दा धेरै र नेपालमा रहेका ९ हजारभन्दा धेरै भुटानी शरणार्थी मोदीको बोलीको प्रतिक्षा गरिरहेका छन्।  

थाहा खवरसँगको भेटमा रिजालले आर्थिक समस्याका कारण काठमाडौंमा बस्न नसकेर झापा पुगेको बताए। उनले आज मात्रै तयार गरेको खुलापत्र भोली (आइतवार) पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.