|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारी र राष्ट्रिय गौरवका आयोजनाका बारेमा भएका प्रगतिबारे निरीक्षण गर्न आफू जुनसुकै बेला मन्त्रालयहरुको अनुगमनमा जाने बताएका छन्। 

व्यवस्थापिका संसद्‍मा २३ भदौमा गरेको सम्बोधनका क्रममा गरेका प्रतिबद्धता कार्यान्वयनका लागि सरकारका सचिवहरुले बनाएको कार्ययोजना र प्रगतिबारे आइतबार जानकारी लिँदै प्रधानमन्त्री प्रचण्डले आफू कुनै पनि मन्त्रालयको अनुगमनमा जाने बताएका हुन्। राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने सवालमा सरकार गम्भीर रहेको प्रधानमन्त्रीले उल्लेख गरे। 

बैठकमा प्रधानमन्त्री प्रचण्डले भूकम्पपछिको पुनर्निर्माण अनुदान सम्झौताको काम सन्तोषजनक रहे पनि उत्साहजनक नभएकाले त्यसलाई अझ तीव्र गतिमा अगाडि बढाउन सरकारका सचिवहरुलाई निर्देशन दिएका हुन्।

के भने प्रधानमन्त्रीले?

१. तल्लो वर्ग र समुदायको अावाज सम्बोधनमा लाग्नुस्

तल्लो वर्ग र समुदायलाई बेलैमा सम्बोधन गर्न सकिएन भने नयाँ द्वन्द्व आउन सक्छ। यसमा म एकदमै सचेत छु, त्यसैले मैले शान्ति र स्थिरताका लागि निकै जोड लगाएर काम गर्न खोजेको छु। तपाईँहरु नै विज्ञ हुनुहुन्छ, यो कुरा मैले तपाईँहरुप्रति विश्वास र अनुभवका कारणले भनेको हुँ। तर, तपाईँहरुले परिवर्तनका लागि नयाँ संकल्प गर्नुपर्ने आवश्यकता छ। तपाईँहरुले मिहिनेत गर्न आवश्यक छ। तसर्थ तल्लो वर्ग र समुदायको आवाज सम्बोधनमा लाग्न म निर्दिष्ट गर्न चाहन्छु।

२. परिणाममुखी काम गर्नुस्

यसपटक म विश्राम नगरी दिनरात जनताको काममा खटिरहेको छु। हामीले केही दिन सकेनौं भने गम्भीर समस्या आउँछ भन्नेमा म स्पष्ट छु। सचिवज्यूहरुलाई जनतालाई राहत दिने गरी परिणाममुखी काम गर्न निर्देशन दिन चाहन्छु। 

३. परिवर्तनका एजेन्डा सम्बोधनमा लाग्नुस्

सरकार संविधानले परिलक्षित गरेका परिवर्तनका एजेण्डा सम्बोधन गर्न गम्भीर रुपमा लागि परेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको चरित्रअनुसार मैले सम्बोधनमा संकेत गर्न खोजेको छु, यसलाई गम्भीरतापूर्वक लिनुका साथै परिवर्तनका एजेन्डा सम्बोधनमा लाग्न म निर्दिष्ट गर्न चाहन्छु।

४. संसदको सम्बोधन कार्यान्वयनमा लाग्नुस्

मैले संसदमा गरेको सम्बोधन महत्वकांक्षी छैन। हिजो राज्यबाट उपेक्षा परेका समुदायलाई अग्रभागमा ल्याउन खोज्दा महत्वकांक्षी देखिएको हो। तर, त्यसो नगरी परिवर्तन सम्भव छैन। नीतिगत र कानुनी जटिलता भए सरकारलाई भन्नुस्, बजेट अपुग भए पेश गर्नुस्। तर, संसद्को सम्बोधनको कार्यान्वनयन र परिणाममुखी काम हुनैपर्छ।

५. पुनर्निर्माणलाई उत्साजनक रुपमा अगाडि बढाउनुस्

४५ दिनभित्र पहिलो किस्ता अनुदान सम्झौता गर्ने घोषणा पूर्ण रुपमा लागु भएको छैन। अनुदान सम्झौताको काम सन्तोषजनक छ। तर, उत्साहजनक छैन। आफैलाई बाँध्ने संरचनाले पनि यसमा काम गरेको छ। युद्धस्तरमा काम गर्न रोक्ने संरचनामाथि पुनर्विचार गर्नेबारे सोच्दैछु। तसर्थ पुनर्निर्माणका कार्यलाई उत्साहजनक रुपमा अगाडि बढाउनुस्।

६. आयोजना छिटो सम्पन्न गर्न प्रतिष्पर्धा गर्नुस्

अरु देशमा राष्ट्रिय गौरवका साथै अन्य विकासका आयोजना छिटो सम्पन्न गर्न प्रतिस्पर्धा हुन्छ। तर, हामी कहाँ ढिलो काम गर्ने, अपारदर्शिता हुनेमा प्रतिस्पर्धा हुने गरेको छ। हाम्रो समस्या यहीँनेर छ। विकासका ठूला आयोजनाहरुको नियमित अनुगमन गर्नेछु। तपाईंहरु काम ढिलो गर्नेतिर होइन, छिटो गर्नेतिर प्रतिस्पर्धा गर्नुहोस्।

७. अनुगमनलाई प्रभावकारी बनाउनुस्

हेलो सरकारमा आउने गरेका गुनासा, सिधा प्रश्न प्रधानमन्त्रीसँग कार्यक्रममा बोलेका विषयहरु हाम्रो कार्ययोजनामा आउनुपर्छ। कालोबजारी र महंगी नियन्त्रण गर्न अनुगमन अगाडि बढिरहेको छ। तर, जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी अनुगमनलाई प्रभावकारी बनाउन जरुरी छ। राम्रो काम गर्ने र राम्रो काम देखिने अवस्था आउनुपर्छ। त्यसैले अनुगमनलाई निरन्तरता र प्रभावकारी बनाउन म सचिवज्यूहरुलाई निर्देशन दिन चाहन्छु।

८. जनतालाई नयाँ परिणामको अनुभूति दिलाउनुस्

जनतालाई आशावादी बनाउनु पर्छ। सरकारी निकायप्रति जनताले सकारात्मक धारणाले सोच्ने वातावरण हामीले नै बनाउने हो। हामीले नयाँ संविधानले नयाँ परिणाम दियो भन्ने अनुभूति गराउनै पर्छ। यसमा तपाईंहरुले गम्भीरतापूर्वक काम गर्नुहोला।

९. जनताको साना कुरालाई सम्बोधन गर्नुस्

मैले साना–साना कुरामा पनि ध्यान दिन खोजेको छु। हाम्रा लागि साना कुरा जनताका लागि ठूला कुरा हुन्। हामीले साना सम्झेर जनताका ठूला कुरामा खेलबाड गर्नु हुँदैन। साना–साना कुरामा परिणाम निकाल्न सक्यौं भने पनि त्यसले ठूलो परिणाममा उपलब्धि हासिल गर्ने वातावरण बन्छ ।

१०. संसद्‍मा गरेको सम्बोधनलाई पालना र कार्यान्वयन गर्नुस्

मेरो तपाईहरुप्रति विश्वास छ। हामीकहाँ राम्रा नराम्रा दुवै प्रवृत्ति छन्। नराम्रालाई हटाएर राम्रालाई अनुशरण गरौं। मेरो व्यवस्थापिका संसदको सम्बोधनलाई अक्षरशः पालना र कार्यान्वयन गर्नतिर सोच्न म सचिवज्यूहरुलाई निर्दिष्ट गर्न चाहन्छु। यो राजनीतिक संक्रमणको व्यवस्थापनको कार्ययोजना हो। मैले अनुगमनमा आउँदा सबै निकायमा परिवर्तनको अनुभूति भएको देख्न पाउनेछु।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.