दुवै खुट्टा नभएका चिनियाँ नागरिकको सफल आरोहण

|

सोलुखुम्बु : यस सिजनको मंगलबारसम्म करिब ५० आरोहीले सगरमाथाको सफल आरोहण गरेको छन्। आरोहण सुरु भएको दोस्रो दिन सोमबार मात्रै ४० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

आरोहण सुरु भएको तेस्रो दिन मंगलबार भने मौसम प्रतिकूलताका कारण आरोहण भएको कुनै पनि जानकारी प्राप्त नभएको सम्पर्क अधिकृत श्रेष्ठको बताए। यस सिजनमा बैशाख ३० देखि आरोहण सुरु भएको होे।

सिजनको पहिलो दिन आठ जना नेपाली टोलीले चुचुरोमा पाइला टेकेको सम्पर्क अधिकृत श्रेष्ठले बताए। अहिले अधिकांश आरोही क्याम्प चारमा पुगेर बसेका छन् भने केही आरोही सगरमाथा आधार शिविरमा नै रहेका छन्। 

दुवै खुट्टा नभएका पनि चुचुरोमा

दुवै खुट्टा नभएका ७० वर्षीय चिनियाँ नागरिक सिए बोयोले सोमबार बिहान सगरमाथाको सफल आरोहण गरेका छन्। इमाजिन टे«क्स एण्ड एस्पिडिसन प्रा.लि. मार्फत सगरमाथाको आरोहणमा गएका उनले सफलतापूर्वक सगरमाथाको आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठले बताए। सम्पर्क अधिकृत श्रेष्ठका अनुसार उनीसँगै सात चिनियाँ आरोहीले सोमबार सफल आरोहण गरेका छन्। 

सन् २०१५ मा पनि आरोहण अनुमति लिएका बोयो भूकम्पका कारण आधार शिविरबाटै फर्किएका थिए। शारीरिक रूपमा कमजोर भएका नागरिकले सगरमाथा आरोहण गरेको यो पाँचौँ रहेको पर्यटन विभागले जनाएको छ। 

एकै मौसममा दुई कीर्तिमान

यस सिजनामा नेपाली महिला आरोही निमा जाङ्मु शेर्पाले सगरमाथा र ल्होत्सेको आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेकी छन्। आरोही शेर्पाले गत वैशाख १६ मा ल्होत्से हिमालको सफल आरोहण गरेका थिइन् भने सोमबार सगरमाथाको सफल आरोहण गरेकी हुन्। 

सगरमाथा आरोहणका लागि यस वर्ष चार नेपालीसहित ३८ आरोहण दलका ३६४ आरोही सगरमाथाको आधार शिविर गएका छन्। यसमध्ये चार समूहमा २० जना नेपाली छन्। अघिल्लो वर्षको यसै मौसममा ४३ वटा समूहका ३६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.