|

लहान : प्रहरीले विशेष सुराकीको आधारमा सिरहाको लहान–८ स्थित होटलबाट नक्कली पेस्तोल, तरवार र प्रतिबन्धित लागूऔषधसहित होटल संचालकलाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले विशेष सुराकीको आधारमा बुधबार दिउँसो लहान ३ बस्ने ज्ञान कुमार कामैतलाई लहान ८ स्थित बाबा होटलबाट नक्कली पेस्तोल, तरवार र प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश चन्दले जानकारी दिए । 

प्रहरीले कामैतको होटल खानतलासी गर्ने क्रममा ओछ्यानमुनि प्लाष्टिकमा पोको बनाएर लुकाइएको लागूऔषध बरामद भएको जनाएको छ। खानतलासीको क्रममा फेनारगन ९८ एम्पुल, डाईजिल्याव ३१ एम्पुल, नोफिन १९ एम्पुल, लुपिजेसिक ८६ एम्पुल, नाईट्राजेपाम ५८ ट्याब्लेट, नक्कली पेस्तोल एक थान र विभिन्न दरको चार हजार नौ सय भारतीय रुपैयाँ बरामद गरिएको प्रहरी नायव उपरीक्षक चन्दले बताए। 

खानतलासीको क्रममा होटलको कोठाबाट विभिन्न कम्पनीको नौ थान मोवाइलसमेत बरामद गरी कामैतलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 


आपत्तिजनक अवस्थामा दुई समातिए

प्रहरीले बुधबार मध्यान्ह लहान ३ स्थित शान्ति लजको चेक जाँचको क्रममा आपत्तिजनक अवस्थामा भेटिएको भन्दै एक महिला र पुरुषलाई नियन्त्रणमा लिई केही सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। 

प्रहरीले लजबाट आपत्तिजनक अवस्थामा भेटिएको भनिएका भारत विहार मधुवनी जिल्ला खुटौना थाना कलरीपट्टी ग्राम पञ्चायत ३ बस्ने २३ वर्षीय जयप्रकाश मण्डल र निशादेवी मण्डललाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट म्याद थपको अनुमतिसहित अनुसन्धान थालिएको जनाएको छ। लज संचालिका शान्तिदेवी महतो भने फरार रहेकाले खोजी भईरहेको प्रहरी नायव उपरीक्षक चन्दले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.