कञ्चनपुर : प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालीकामा रहेको पर्यटकीय क्षेत्र मुड्काले प्रयाप्त भौतिक पूर्वाधारको अभावमा पर्यटकलाई तान्न सकेको छैन्।
पौराणिक कालदेखि धार्मिक क्षेत्रका रुपमा पहिचान कायम राखेको यस क्षेत्र सम्म पुग्नका लागि सडक, यातायात, विद्युत र पर्यटकलाई बस्नका लागि सुविधायुक्त होटेल र धर्मशाला नहुदा पर्यटकलाई यस क्षेत्रले लोभ्याउन नसकेको हो। चारै तिर हरियो सालको वनले घेरिएको मुडाकामा टीनको छाना भएको सामान्य धर्मशाला र नेपाल विकास पर्यटन बोर्ड र स्थानिय सामुदायिक वनको रु आठ लाखको लगानीमा मन्दिर बाहेका अन्य भौतिक पूर्वाधार यस क्षेत्रमा छैन्।तालको संरक्षणका लागि जनताको तटबन्ध कार्यालयको दुई लाख पचास हजारको लागतमा सामान्य खाले टेवा पर्खाल निर्माण गरेको बाहेक अन्य विकासका गतिविधि यस क्षेत्रमा भएका छैनन्।
लाखौं रुपैंया खर्चेर नजिकैको खोलाबाट तीन बर्ष अघि पिउने पानी ल्याउनका लागि पाईप विछयाईएको भएपनि पर्यटकीय क्षेत्रमा पानी नपुग्दै पाईपमा चुना भरिएपछि योजना निष्प्रभावि भएको छ। पर्यटकीय क्षेत्र जोड्नका लागि स्थानिय बासिन्दाले स्वस्फुर्त रुपमा दुई बर्ष अघि श्रमदान गरेर बनाएको सडक ठाउँ ठाउँमा बर्षातको पानीका कारण पहिरो गई क्षतिग्रस्त भएपछि यात्रुहरु लाई हिडन मुश्किल हुन थालेको छ।
सडक निर्माण भए देखि हाल सम्म सडक मर्मतको सामान्य कार्य बाहेक अन्य कार्य नगरिएको कारण हिडन समेत मुश्किल हुन थालेको बैजनाथ सनातन धर्म संरक्षण समितिका पूर्व अध्यक्ष दुर्गा दत्त भट्टले बताए। मुड्का क्षेत्र सम्म पुग्ने पर्यटकलाई सडकको अवस्था खराव भएका कारण सवारी साधन मुश्किलले त्यस क्षेत्र सम्म पुग्ने गरेका छन्। यस क्षेत्र सम्म विद्यालयका विद्यार्थी, धार्मीक भक्तजनहरु यस क्षेत्रको दर्शन गर्नका लागि पुग्ने गरेका छन्। यातायातका साधन पर्यटकीय क्षेत्र सम्म पुर्याउनका लागि सडकको स्तरोन्नतीको कार्य गरिनु पर्ने स्थानिय बासिन्दाको भनाई रहेको छ। नगरपालीकाले यस क्षेत्रको विकास लागि योजना बनाई रहेको नगरप्रमुख दिलबहादुर ऐरले बताए।
आन्तरिक पर्यटकहरु यस क्षेत्रमा पुगेर अबलोकन गर्ने र तराईको दृष्यावलोकन गर्न पाउदा आनन्दीत हुने गरेको बैजनाथ सनातन धर्म संरक्षण समितिका डम्बर बहादुर ऐरले बताए ।पूर्व पश्चिम राजमार्ग भन्दा झण्डै ११ किलो मिटर उत्तर चुरेको फेदीमा रहेको यो क्षेत्र प्राचिनकालमा पहाड बाट चौपाया सहित हिउदका बेला बसाई सार्नेहरुको आश्रय स्थलका रुपमा रहेको थियो ।
पहाड बाट झर्ने व्यक्तिहरुले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आएका पछि यो क्षेत्र अन्य समुदायका व्यक्तिहरुका लागि पनि धार्मिक धरोहरका रुपमा विकसित हुदै गएको हो। मुडका क्षेत्रको दर्शन गरेमा मनोवांच्छित फल पाईने जनविश्वासका कारण यस क्षेत्रमा असोज देखि अषाढ महिना सम्म दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ।
मुडका धाम क्षेत्रमा रहेका सिद्धवावाको प्राचिन मन्दिर र मन्दिर नजिकै ठुलो तलाउ रहेको छ । तलाउमा बर्षेनी बर्षातको पानीसँगै आउने माटो, ढुङ्गा र बालुवाका कारण पुरिदै जान थालेको छ। ताल परिदै जादा त्यसमा रहेका जलचरको अबस्था संकटमा परेको छ। मुडका क्षेत्रमा रहेको तलाउमा मणीवाला सर्प वस्ने रहेका कारण यस क्षेत्रको नाम मुडका धाम रहेको स्थानीय वुढापाकाहरुको भनाई रहेको छ।
थारु भाषामा मुड भन्नाले शिर लाइ बुझने गरिएकाले सबै भन्दा अग्लो भाग भएकाले मुड बाट मुडका भएको एकथरीको भनाई रहेको छ। समुन्द्री सतह वाट झण्डै तिन सय मिटर उचाईमा रहेको मुडकामा प्रत्येक वर्षको फागुन चैत महिनामा मेला लाग्ने गर्दछ।
क्षतिग्रस्त सडक मर्मत गर्न र विद्युत पुर्याउने व्यवस्था नहुदा सम्म यस क्षेत्रको विकासले फडको मार्न नसक्ने भएकाले यस क्षेत्र लाई जिल्लाकै नमुना क्षेत्रका रुपमा विकास गर्नका अग्रसर हुनु पर्ने समितिका अध्यक्ष भरत बहादुर ऐरले बताए। आफ्नो ठाउँको विकास हामी आफैले नगरे कसैले चासो नराख्ने भएकाले आफैबाट विकासको थालनी गरेर उदाहरणीय कार्य गरेर देखाउनु पर्ने उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।