|

धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका रहेका छन् भने संघीय संसदका लागि एक निर्वाचन क्षेत्र र प्रादेशिक संसदका लागि दुई निर्वाचन क्षेत्र छन्।धनकुटाका विभिन्न पर्यटकीय तथा व्यापारिक केन्द्रहरूमध्ये अग्रणी स्थान ओगट्न सफल पाख्रिबास नगरपालिका पनि एक हो। प्रायः वर्षभरि नै चिसो हावापानी भइरहने यस नगरपालिकाको रौनक कृषि अनुसन्धान केन्द्रले बढाएको छ। भोजपुर जिल्लाका लागि कोसी राजमार्ग छुट्ने स्थल पनि पाख्रिबास नै हो। 

पाख्रिबास नगरपालिकाको पूर्वमा छथर जोरपाटी गाउँपालिका र धनकुटा नगरपालिका रहेका छन् भने पश्चिममा भोजपुर जिल्ला रहेको छ। त्यस्तै, उत्तरमा महालक्ष्मी नगरपालिका र दक्षिणमा शहीदभूमि गाउँपालिका पर्छन्। पाख्रिबास नगरपालिकाकोे वडा १, ५, ७, ८, ९ र १० ग्रामीण क्षेत्रमा पर्छन् भने २, ३ र ६ वडा अर्धशहरी क्षेत्र र बाँकी रहेको ४ नम्बर वडा भने शहरी क्षेत्रमा पर्छ। गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पाख्रिबास नगरपालिकाका नगर प्रमुखमा वृषबहादुर राई निर्वाचित भएका छन्। 

२०४४ सालदेखि नै राजनीतिमा सक्रिय राईले २०४६ सालबाट २०५४ सालसम्म शिक्षक भएर सेवा गरे। त्यो समयमा पनि उनी विभिन्न संघसंस्था हुँदै कम्युनिस्ट राजनीतिमा लागिरहे। २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा मुगा गाउँ विकास समितिको अध्यक्ष भएर २०५९ सालसम्म काम गरेका राई २०७४ सालको असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पाख्रिबास नगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन्।

उनै राईसँग नगरमा भइरहेको विकास निर्माणको काम र नगरको समृद्धिबारे थाहाखबरकर्मी ईश्वर थापाले गरेको कुराकानी प्रस्तुत छ।

नगरपालिका विकासमा के कस्ता कामलाई प्राथमिकतामा राख्नुभएको छ? 

पाख्रिबासमा पूर्वाधारकै कुरा अगाडि छ। मेरो प्रमुख लक्ष्य पाख्रिबास नगरपालिकाको सदरमुकाम पाख्रिबासदेखि विशेष गरेर वडा कार्यालयहरूसम्म जोड्ने सडकहरूलाई बाह्रै महिना चल्न सक्ने बनाउन घटीमा पनि ग्राभेलिङ गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ र नगरको खानेपानीलाई हेर्ने भनेर लागिरहेका छौँ। विद्युतको अवस्थालाई वृद्धि गर्ने भनेर हामी लागिरहेका छौँ। नगरको शिक्षाको गुणस्तरलाई वृद्धि गर्ने भनेर लागिरहेका छौँ। त्यही क्रममा जाल्पादेवी माविमा यस पटक संस्थागत विद्यालयबाट २०० को हाराहारीमा धेरै विद्यार्थीहरू भर्ना हुने काम भएको छ। त्यसलाई हामीले अभियानको रूपमा चलाएका छौँ। 

पाख्रिबासलाई शैक्षिक हब बनाउने हाम्रो योजनाका साथ अगाडि बढ्दा पाख्रिबासमा कृषि क्याम्पसको यसैपालि स्थापना भएको छ। बिएस्सी एजी पढाइ हुन थालेको छ। त्यसबाहेक कृषिलाई प्राथमिकताका साथ लिएर जाने क्रममा छौँ। कृषिमार्फत् नगरको विकास गर्ने कुरामा हामी अगाडि बढिरहेका छौँ।

शिक्षाको गुणस्तर वृद्धि भनेर धेरै विद्यालयले अंग्रेजी माध्यमबाट पढाउन थालेका छन्, पाख्रिबासमा पनि भएको त्यही हो?

अंग्रेजी माध्यम भन्नेचाहिँ होइन, सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुनुपर्छ भन्ने पनि होइन, नगरपालिकाको प्रमुख उदेश्य के हो भने अहिलेकै अवस्थालाई गुणस्तरयुक्त बनाउने भनेर हामी विशेष गरेर सरकारी विद्यालयहरूको शिक्षाको गुणस्तर बढाउने काममा लागेका छौँ। त्यो क्रममा जाँदा विद्यालयहरूमा धेरै समस्याहरू भेटिए। म सबै प्रावि, निमावि र माविमा धेरै पटक पुगेँ। त्यहाँको समस्याको समाधान गर्ने कामको हामीले सुरुवात गरेका छौँ। 

पाख्रिबास नगरपालिका यही अहिलेको शिक्षालाई गुणस्तरीय बनाउन लागिरहेको छ। अहिलेको जुन प्रचलन छ, नानीहरूलाई बोर्डिङ नै पढाउनुपर्ने भन्ने किसिमको मानसिकता रहेको छ, सरकारी विद्यालय रित्तिँदै गएको अवस्था छ, यही कारणले गाउँहरू रित्तिँदै गएको अवस्था छ। यो क्रमलाई रोक्ने भनेर पनि हामीले सरकारी विद्यालयको गुणस्तर माथि लैजानका निम्ति प्रयासका साथ काम गरिरहेका छौँ। 

हामीले शिक्षाको गुणस्तर उकास्छौँ भन्ने सन्देश जनतालाई दिइसकेपछि त्यसमा एक खालको परिणाम निस्कन लागेको मलाई अनुभूति भएको छ र जाल्पादेवी माविमा विभिन्न संस्थागत विद्यालयहरूबाट विद्यार्थीहरू आउनु उपलब्धि ठानेको छु। 

स्थानीय तह संचालनमा नीतिगत वा व्यावहारिक केही समस्या छन् कि?

धेरै समस्याहरू छन्। स्थानीय तहको सरकार भने पनि हाम्रो कतिपय कानुनहरू केन्द्र र प्रदेशसँग नबाझिने हुनुपर्ने अहिलेको संविधानमा उल्लेख भएअनुसार प्रदेशको कानुन अहिलेसम्म बनिनसकेको अवस्थामा हामीले कानुन बनाएर अगाडि जान गाह्रो छ। यस्ता कारण पनि यसको प्रमुख असर शिक्षामै देखेको छु मैले। शिक्षाका कतिपय कुराहरू हामीले लागू गर्न सकेका छैनौँ। कृषिका कतिपय कुराहरूमा हामी कानुन बनाएर जान सकिरहेका छैनौँ। हामी धेरै अन्योलमा छौँ र प्रदेश कानुन सम्भव भएसम्म छिटो बनेदेखि स्थानीय तहको सरकारले एक खालको कानुन बनाएर अगाडि जान्थ्यो। योभन्दा अझ रफ्तारमा स्थानीय तहको काम हुन्थ्यो जस्तो लाग्छ। 

ती नीतिगत वा व्यावहारिक समस्यालाई समाधान गर्न कसले के गर्नुपर्छ जस्तो लाग्छ?

स्थानीय तह सबैभन्दा तल्लो तहको सरकार हो। हामीसँग धेरै अधिकार भए तापनि बाध्यात्मक अवस्था छ। केन्द्रको र प्रदेशको कानुनसँग नबाझिने कानुन बनाउनुपर्ने भएकाले केन्द्र सरकार र प्रदेश सरकारले नै तदारुकता देखाएर त्यो कानुन बनाइदिए हामी थुप्रै कानुनहरू यहाँ निर्माण गर्न सक्छौँ। यसका लागि केन्द्र र प्रदेश सरकार नै पहिला अग्रसर हुनुपर्छ।

नगरवासीका आकांक्षा र असन्तुष्टिहरू धेरै छन्। यस्तो हुनु पनि सामान्य कुरा हो हाम्रो जस्तो देशमा। एउटा स्पिरिटका साथ काम गर्ने भनेर कामहरू सुरु गरियो तर सबैभन्दा बाधकको रूपमा दरबन्दीअनुसारको कर्मचारी नहुनु नै रह्यो।

तपाईंले चुनावताका गरेका घोषणा वा प्रतिवद्धताहरू केके थिए?

मैले धेरै प्रतिवद्धता पनि गरेको थिइनँ। मैले मात्रै जनतालाई सडक, बिजुली, खानेपानी र शिक्षा, यी चार कुरालाई म ध्यान दिन्छु भनेको थिएँ। मैले अघि नै भनेँ, सडकहरू विशेष गरेर पाख्रिबासको केन्द्रदेखि वडा कार्यालयहरूसम्म पुर्‍याउने मैले भनेको थिएँ। शाखाहरूका कुराभन्दा पनि ती चारवटा सडकहरू जस्तो : पाख्रिबास–सान्ने, पाख्रिबास–फलाँटे, पाख्रिबास–मुगा र पाख्रिबास–चुम्बाङ सडक पुर्‍याउने पहिलो लक्ष्य हुन्छ भनेको थिएँ। त्यसअनुसार हामी अगाडि बढेका छौँ र ती सडकहरूलाई हामीले पहिलो प्राथमिकतामा राखेर काम गरेका छौँ।

एकपल्ट सानो हावा चल्दा सात दिनसम्म बत्ती आउँदैन हाम्रोमा। पोलहरूको अवस्था अत्यन्तै नाजुक छ। यसलाई सुधार गर्नेछु भनेको थिएँ। यसमा पनि हामीले काम गरिरहेका छौँ।

खानेपानीको समस्याको समाधानको विषयमा हामीले एउटा वृहत खानेपानी योजनाको डिपिआर गरिरहेका छौँ। पाख्रिबास– ८ को भुल्केदेखि पाख्रिबास– ७ राम्चे डाँडासम्म लिफ्ट सिस्टमद्वारा खानेपानी ल्याउने र पाख्रिबास नगरपालिकाका सबै वडामा यो खानेपानी पुर्‍याउन सकिन्छ भन्ने अभिप्रायले काम गरिरहेका छौँ। यीबाहेक कृषि, पर्यटनमा पनि हामी काम गरिरहेका छौँ। 

नगरमा सम्भावना के कस्ता देख्नुहुन्छ?

नगरमा प्रशस्तै सम्भावना छन्। कृषि पहिलो संभावना हो यहाँको। यहाँको माथिल्लो क्षेत्रमा दूध र तरकारीका लागि अत्यन्तै संभावना छ। तल्लो क्षेत्र फलफूल, बाख्रापालन व्यवसाय तथा तरकारी खेतीका लागि उपयुक्त छ।

यहाँका धेरै खोलाहरूमा पानी त्यत्तिकै बगेर गइरहेको छ। त्यसलाई हामीले व्यवस्थापन गर्न सक्यौँ र व्यवसायमूलक खेतीमा हामीले हात लगायौँ भने कृषकले नगदेबालीको रूपमा धेरै आयआर्जन गर्न सक्ने संभावना देखिएको छ। गएको असार १४ मा हामी निर्वाचित भएर असार १९ गते कार्यभार सम्हालेका हौँ। एक महिनाभित्र हामीले प्रथम नगरसभा गरिसक्नुपर्ने बाध्यात्मक अवस्था भएको हुनाले हामीले कृषिमा राम्रो बजेट विनियोजन गर्न सकेनौँ। हामी यसपालि कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्ने तयारीमा छौँ।

अरू दलका प्रतिनिधिसँग के कस्तो समन्वय र सहकार्य भइरहेको छ? उहाँहरूको सहयोग कतिको पाउनुभएको छ?

पाख्रिबास नगरपालिका ऐतिहासिक छ। मैले प्रतिपक्षका साथीहरूको कुरालाई सुनेर अघि बढ्ने जमर्को गरेको छु। उहाँहरूको उचित राय सल्लाहलाई समेटेर जानेछु। 

जनप्रतिनिधिले गरेको काममा कर्मचारीले कतिको सहयोग गरेका छन्?

कर्मचारीहरूबाट मलाई सहयोग भएको छ। केही कुराहरूमा समस्या छ तर मलाई लाग्छ पाख्रिबासमा कर्मचारी साथीहरूबाट अत्यन्तै ठूलो सहयोग भएको छ। काम गर्नुहुन्छ, उहाँहरूको खटाइ धेरै छ। २९ जनाको दरबन्दीमा तीन जनाले मात्रै काम गरिरहनुभएको छ। 

तपाईंले गरेका काममा नगरबासीको प्रतिक्रिया कस्तो पाउनुभएको छ?

नगरवासीका आकांक्षा र असन्तुष्टिहरू धेरै छन्। यस्तो हुनु पनि सामान्य कुरा हो हाम्रो जस्तो देशमा। एउटा स्पिरिटका साथ काम गर्ने भनेर कामहरू सुरु गरियो तर सबैभन्दा बाधकको रूपमा दरबन्दीअनुसारको कर्मचारी नहुनु नै रह्यो। भएका कर्मचारीको सरुवाले अर्को समस्या निम्त्यायो। पाख्रिबासमा आठ महिनाभित्रमा तीन जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भयो। यस कारण पनि हामीले भनेजस्तो काम गर्न सकेनौँ। 

अहिले हामी बजेटको परिचालनको अन्तिम बिन्दुमा छौँ। हामी बजेट फ्रिज हुन नदिने पक्षमा छौँ। हाम्रो बजेटको शत प्रतिशत काम हुन्छ। त्यहीअनुसार काम पनि भएको छ। 

तपाईंले अगाडि भनेबाहेकका तपाईंको कार्यकालमा गर्ने पछिल्ला विशेष योजना केके छन्? ती योजना पूरा गर्ने आधार के हुन्?

पाँच वर्षमै त्यत्रो ठूलो सपना मैले देखेको छैन र पाँच वर्ष यथेष्ट समय पनि होइन। अब १५ वर्ष पछाडि पाख्रिबासलाई कस्तो बनाउने भनेर हामीले गुरुयोजना बनाउँदै छौँ। यो वर्ष हामी गुरुयोजना बनाउँछौँ। पाख्रिबासको शिक्षाको गुणस्तरलाई केही अगाडि लैजान सकियो, पाख्रिबासको सबै वडामा बाह्रै महिना चल्ने सडक पुर्‍याउन सकियो, पाख्रिबासको विद्युतको गुणस्तरलाई कायम गर्न सकियो र खानेपानी बढाउन सकियो भने मेरो पाँच वर्षे अवधि उपलब्धिपूर्ण भयो भन्ने मलाई लाग्नेछ।

पाँच वर्षपछि यो स्थानीय तहको स्वरूप कस्तो हुनेछ?

पर्यटनको क्षेत्रमा पनि काम हुनेछ। राम्चे भ्यू टावर र बालउद्यानको यसै पटक टेन्डर भएको छ, काम भएको हुनेछ। जौटारमा चिडियाखाना स्थापना गर्ने काममा अगाडि जानेछौँ। राम्चे भ्यू टावरबाट प्याराग्लाइडिङ गराउने योजना छ, जबकि त्यस ठाउँदेखि नेपालकै होचो उपत्यका अवलोकन र मकालु हिमशृंखलाको अवलोकन गर्न सकिने भएकाले हामी त्यसतिर अगाडि बढेका छौँ। त्यस कारण पाख्रिबासमा पर्यटकको उल्लेख्य वृद्धि हुनेछ भने कृषिले जनताको आय वृद्धि गर्ने गरी काम भएको हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.