|

लहान : मधुमेहको कारणले बाबु गुमाएका सिरहाका दुई टुहुरा दाजुभाइ आमाको कारणले समस्यामा परेका छन्। बाबु बितेपछि आमाको काख खोजिरहेका दुई दाजुभाई घरमा भएका गरगहना र नगद लिएर आमा अर्कैसँग हिँडेपछि समस्यामा परेका हुन्।

सिरहाको अर्नमा गाउँपालिका ३ का १७ वर्षीय मणिगौतम कुशवाहा र उनका १२ वर्षीय भाई राजीव कुशवाहा बाबु सत्येन्द्र महतोको मृत्युपछि आमा उर्मिलादेवी महतोबाहेक अन्य साहारा थिएन, तर पतिको निधन भएको करिब १५ महिनापछि नै पछिल्लो कार्तिकमा अर्कै पुरुषसँग हिँडेपछि टुहुराहरु समस्यामा परेका हुन्।

दुई भाइ छोराहरुको विचल्ली बनाएर उर्मिला अहिले सिरहाको लहान नगरपालिका–१ कृष्णटोलमा मोतिया साहसँग बसिरहेकी छन्। ‘बाबुले जोडेको सुनको सिक्री, नाकको फुली, कुण्डल, पाउजुसहित घरमा रहेको करिब पाँच लाख रुपैयाँ लिएर आमा अर्कैसँग हिँडिन्’ टुहुरा मणि गौतमले सुनाए।

यौन दुर्व्यवहारको आरोप

दिवंगत पतिले जोडेको गरगहना र नगद लिएर अर्कैसँग हिँडेकी उर्मिलाले छिमेकीलाई उचालेर गाउँकी किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै छोरालाई घरमा बस्नसमेत नदिने वातावरण बनाइन्। ‘आमाले लिएर हिँडेको गरगहना, नगद र आमासहित दुई दाजुभाइको संयुक्त नाममा रहेको ६ कठ्ठा तीन धुरभन्दा बढी जग्गा उकास्नै अप्ठ्यारो छ,’  मणिगौतमले गुनासो गरे, ‘किशोरीलाई यौन दुव्र्यवहार गरेको फत्तुर लगाएपछि केही समय गाउँमा बस्नै सकिएन।’

शान्ति सुरक्षा माग्दै निवेदन

आमाले घरबाट लगेको गहगहना, नगद फिर्ता गर्न आग्रह गर्दा उल्टै धम्की आउन थालेपछि मणिगौतमले जिल्ला प्रशासन कार्यालय सिरहामा शान्ति सुरक्षा माग्दै निवेदन दिएका छन्।

‘गहगहना, नगद फिर्ता र संयुक्त नाममा रहेको जग्गामध्ये कानुनबमोेजिम दुई भाइको हिस्सा लाग्ने जग्गा नामसारी गर्न आग्रह गरेँ,’ उनले भने, ‘उल्टै अपरिचति फोनबाट ज्यानकै धम्की आउन थालेपछि ज्यान सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्याालयमा निवेदन हालेको हुँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.