लहान : सिरहाको धनगढीमाई नगरपालिकाले नगर क्षेत्रको वैज्ञानिक र व्यवस्थित ढंगले एकीकृत नगर विकास गुरुयोजना तयार गर्न ड्रोनको प्रयोग गरेको छ। नगर क्षेत्रको १४ वडामा पर्ने वस्तीको डिजिटल नक्सांकन गरी नगरको भौतिक पूर्वाधार निर्माणसहित एकीकृत नगर विकास गुरुयोजना बनाउन ड्रोनको सहयोग लिइएको नगर प्रमुख हरिनारायण चौधरीले बताए।
धनगढीस्थित नगरपालिका कार्यालय परिसरबाट बुधबार साँझ नगर प्रमुख चौधरी, उपप्रमुख फूलकुमारी श्रेष्ठ, प्रवक्ता प्रकाश योञ्जन र विभिन्न वडाध्यक्षसहित विभिन्न दलका नेताहरूको उपस्थितिमा ड्रोन उडाएर परीक्षण समेत गरिएको छ।
ड्रोनले नगरमन करिब ७० वटा बस्तीको दुई सय फिटमाथिबाट विभिन्न एङ्गलबाट लिने तस्वीरबाट एकीकृत डिजिटल नक्सा तयार गरिने नगर प्रमुख चौधरीले बताए। उनले भने, ‘नक्सांकनपछि नगरपालिकाका हरेक बस्तीको दूरी, सडक, खानेपानी, विद्यालय, ढल, विद्युतीकरण, सिंचाइ, स्वास्थ्य संस्थाबारे यथार्थ जानकारी पत्ता लगाइने छ।’ नगरपालिकाले ड्रोनको प्रयोगका लागि सूचना प्रविधि विज्ञ प्रसन्न महर्जनाई परामर्शदाताको रुपमा खटाएको छ।
एप्सबाट घरधुरी सर्वेक्षण
नगरपालिकाले प्रत्येक वडामा गणक परिचालन गरी एप्समार्फत् घरधुरी सर्वेक्षण गरिरहेको छ। ‘जीपीएस ट्रयाकिङ्सहित स्मार्ट फोनबाट एप्सको प्रयोग गरी नगरभित्रको आर्थिक, सामाजिक, शैक्षिक, पशुपालन, सम्पदाहरुको सर्वेक्षण गरिंदैछ,’ नगरका प्रवक्ता प्रकाश योञ्जनले भने ‘जेठको मध्यसम्म घरधुरी सर्वेक्षणको तथ्याङ्क संकलनपछि त्यसको प्रशोधन, विश्लेषण गरी नगरको एकीकृत विकास गुरुयोजना तयार गरिनुका साथै नगरपालिकाको एप्समा राखिने छ।’
नगरपालिकाले करको दायरा बढाउन सर्वेक्षण गरिरहेको भन्ने हल्लाले केही वडामा सर्वेक्षणमा समस्या सिर्जना भएको नगर प्रमुख चौधरीले बताए। उनले भने, ‘सर्वेक्षण विशुद्ध नगरको वैज्ञानिक र व्यवस्थित विकास योजना तयार गर्ने उद्देश्यले थालिएको हो। यसमा हरेक दल, जनप्रतिनिधि, सामाजिक कार्यकर्ता, समाजसेवीको सहयोगको जरुरी छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।