|

लहान  ः विगत २३ वर्षदेखि अवरुद्ध रहेको सप्तरीको राजविराजस्थित विमानस्थलमा बिहीबारदेखि औपचारिक रूपमा विमान सेवा थालनी गरिएको छ। विस २०७३ असोजदेखि निर्माण थालनी गरिएको विमानस्थल स्तरोन्नति र पक्की धावन मार्ग निर्माण सम्पन्न भएपछि बिहीबार एक समारोहबीच उडान सुचारु गरिएको हो। 

श्री एयरलाइन्सको ५० सिट क्षमताको ९ एन एएमए विमान बिहीबार १०ः५४ बजे अवतरण गरेसँगै विमान सेवाको विधिवत् उद्घाटन गरिएको हो। विमानमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, पूर्वपर्यटनमन्त्री जितेन्द्र नारायण देवलगायतका नेताहरू अवतरण गरेका थिए।

विमान सेवा उद्घाटन गर्दै मन्त्री अधिकारीले पुरानो विमानस्थल भएर पनि कच्ची धावन मार्गको कारणले सेवा अवरुद्ध हुने गरेको भए पनि अब नियमित विमान सेवा संचालन हुने बताए। उनले पुराना विमानस्थललाई सुचारु गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको दावी गर्दै राजविराज विमानस्थल यात्रु कम भए कार्गो हवका रूपमा समेत विकास गरिने प्रतिवद्धता जनाए। उद्घाटनको क्रममा मन्त्री अधिकारीले मुनाफाभन्दा सुविधा प्रदान गर्ने हिसाबले विमान सेवा सञ्चालन गर्न आफूसँगै आएका श्री एयरलाइन्सका प्रबन्ध निर्देशक सुधीर मित्तललाई आग्रह गरे। 

विमान सेवा उद्घाटन समारोहमा संघीय समाजवादी फोरमका अध्यक्ष यादवले भारतीय सीमा क्षेत्रसँग जोडिएका सडकको स्तरोन्नति गर्दै राजविराज विमानस्थललाई दिगो रूपले संचालन गर्न सुझाव दिए। पूर्वपर्यटनमन्त्री देवले नियमित सेवा संचालन गर्नका लागि आग्रह गर्दै त्यसो भए यात्रुमा विश्वास हुने र यात्रु कम हुने अवस्था नआउने औँल्याए। 

विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार ५०० मिटर र ३० मिटर चौडा रहेको छ । ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन भएको विमानस्थलको स्तरोन्नतिको काम करिब एक महिनाअघि सकिएपछि बुधवार श्री एयरलाइन्सको विमान परीक्षण उडान गरिएको थियो। 

राजविराज बजारदेखि चार किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिका (साविक इटहरी विष्णुपुर)मा रहेको विमानस्थल निर्माणका लागि स्थानीय रुद्रनारायण सिंहले ५५ बिघा जग्गा उपलब्ध गराएपछि विसं २०१६ सालमा तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले राजविराज विमानस्थलको शिलान्यास गरेका गरेका थिए। कच्ची धावन मार्गका कारण पटक–पटक सञ्चालन र बन्द हुँदै आएको राजविराज विमानस्थलमा २०५२ साल वैशाखदेखि उडान ठप्प भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.