|

लहान : सिरहाको गोलबजार नगरपालिका १० धोवियाधारस्थित दलित बस्तीका समुदायको ओत लाग्ने झुपडी हुरी बतासले उडाएदिएपछि रात गुजार्न सामुदायिक घर धाउन बाध्य भएका छन्। गएको वैशाख २७ मा आएको हावा हुरीका कारण उनीहरुको बास उठाइदिएको हो।  

बस्तीका मुनिलाल सदाय भन्छन् ‘दुःख गरेर डठ्याएको झुपडी पनि हुरी बतासले उडायो, साँझ बिहान चुलो बाल्न धौ धौ भएका बेला कसरी अर्को झुपडी बनाउने?’ उनका छिमेकी रामलाल सदायको पनि त्यस्तै गुनासो छ । ‘सामुदायिक घरमा सुत्न नगए अन्त जाने ठाउँ नै छैन’ रामलाल भन्छन् । धोवियाधारको दलित बस्तीका मुनिलाल, सुलेन्द्र सदाय पनि हेरक साँझको खानापछि आफ्ना छोराछोरी र श्रीमती लिएर त्यही घरमा रातभर आश्रय लिन बाध्य छन् । 

शारीरिक रुपले अपाङ्गता भएका मुनिलाल छ महिने काखे छोरोसहित छ जनाको परिवारलाई अहिले त्यही पाहुना घरले रातभरको आश्रय दिने गरेको छ। लौरोको सहयोगमा हिंडडुल गर्न बाध्य मुनिलाल रकम नभएकाले झुपडी मर्मत गर्न नसक्ने अवस्थामा रहेको गुनासो गर्छन्। ‘म स्वयम् अशक्त छु, छिमेकी गाउँघरमा मागेर गुजारा गरिरहेको छु’ उनले दुःखेसो गर्दै भने ‘बल्लतल्ल बस्ने झुपडी बनाएको थिएँ, त्यो पनि हुरी बतासले उडायो, कसरी बनाउने?’ 

हुरी बतासले भत्किएको घर ममर्त गर्न दैनिक ज्याला मजदूरीको भरमा बिहान बेलुकाको चुलो बालिरहेका रामलाल पनि समस्या रहेको गुनासो गर्छन्। ‘हरेक दिन ज्याला मजदुरी नगरे भोकै बस्नु पर्ने बाध्यता छ’ उनले भने ‘हुरी बतासले बिचल्ली बनायो।’ 

घुर्मी खोलाको किनारमा रहेको बिपन्न बस्तीका मुसहरहरुका लागि हुरी बतासले उडाएको घर नहुँदा त्यही सामुदायिक घर नै आश्रयस्थल बनेको छ, पछिल्लो दुई हप्तादेखि। हुरी बतासमा जोगिएको १६ घरका दलितहरुले सामुदायिक घरमा नअटेका छिमेकीलाई आफ्नो झुपडीको बरण्डा, गोठमा आश्रय दिइरहेको लिलिया सदाय बताउँछिन्। ‘घर बचेकाहरु आफ्नै झुपडीमा ओत लाग्ने गर्छन् बाँकी सबै सामुदायिक घरमा कोचिएर बस्नुको बिकल्प छैन्।’

हुरी बतासले गाउँ नै विस्थापित हुनेगरी क्षति पुर्याउँदा पनि कतैबाट राहत पाउन नसकेको गुनासो गरेका छन्। स्थानीय विरोचन सदाय भन्छन् ‘चुनावका बेला दैनिक दर्जनौ नेता भोट देउ, घर, बिजुली, पानी, स्कूल दिन्छौं भन्दै आउँथे, अहिले विपत्का बेला कोही आउँदैनन् ।’ 

अर्बौंको क्षति 

पछिल्लो वैशाख २७ गते बिहान आएको भिषण हुरी बतासले जिल्लामा अर्बौंको क्षति भएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार पछिल्लो हुरी बतासले जिल्लाका एक सय २६ घरधुरीका छ सय ७७ जना पूर्ण रुपले प्रभावित भएका छन्। हुरी बतासले ११ प्रहरी युनिट, आधा दर्जन सरकारी कार्यालयमा क्षति पुग्नुका साथै एक जनाको मृत्यु भएको, तीन जना घाइते, केही पशु चौपायालाई गम्भिर चोटपटक लागेको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए। 

नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादवका अनुसार हुरी बतासले कृषि तथा फलफूल खेतीतर्फ करिब ७० प्रतिशत क्षति भएको छ। जिल्ला सभापति यादवका अनुसार हुरी बतासले पाँच अर्ब ७५ करोड ४६ लाख बराबरको क्षति भएको औंल्याए। 

राहतका लागि स्थानीय तह

हुरी बतासमा घर गुमाएकाहरुलाई पछिल्लो मन्त्रिपरिषद्को निर्णय अनुसार प्रति परिवार २५ हजार रुपैयाँ दिइने निर्णय भएपनि जिल्लाका स्थानीय तहले पनि सक्दो गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी पण्डितले आग्रह गरे। ‘वास्तविक पीडितहरुको नाम सिफारिशदेखि स्थानीय तहबाट गर्न सकिने सहयोगका लागि अनुरोध गर्दछु’ प्रजिअ पण्डितले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.