|

धनकुटा : धनकुटामा २३ वर्षीय युवाले सूचना यन्त्र निर्माण गरेका छन्। धनकुटाको सहिदभूमि गाउँपालिका- ४ स्थित खोकु घर भएका कोखमान राईले उनले नै नाम दिएका अटोमेटिक फोन रिडायल सिस्टम (एपिआरएस) बनाएर सार्वजनिक गरेका छन्। राईले यो एपिआरएसबाहेक रिमोट गाडी, डोजर आदि बनाइसकेको बताएका छन्।

सानै उमेरदेखि जिज्ञासु स्वभावका राई करिब एक महिना एपिआरएस बनाउने कार्यमा लागेका थिए। उनलाई आफैँले बनाएको आधुनिक सामान बनाउने शोख थियो। तर, आर्थिक अभावका कारण केही ढिला भएको उनी बताउँछन्।

‘एपिआरएस’ उनले काठका टुक्रा तथा लिस्टी, आल्मुनियम तथा टिनका साना पाता, डिसी मोटर, हाइड्रोलिक, साना रबरका पाङग्रा, स्विच, तार, पेजजस्ता सामान्य सामानहरुको प्रयोग गरी निर्माण गरेका हुन्। प्राय बाटोमा फालिएका टुक्रा–टाक्री सामानलाई जोरजाम गरी एपीआरएस निर्माण गरेको राईले बताए।  उनको लगनशीलता मिहिनेतलाई देखेर हौसला गर्नेहरु बढ्दै गएको उनी बताउँछन्।

उनको एपिआरएसमा भित्री भागमा मोबाइलको सिमकार्ड जडान गरिएको छ।  बिजुली वा इन्भर्टर जोडेर अन गरेर राखेपछि त्यसको क्षेत्रमा कतै केही भएमा त्यसमा अग्रीम मिलाएर राखिएको नम्बरमा फोन आइरहने गर्छ। त्यसले आठ वटासम्म मोबाइल खबर गर्ने राईको दाबी छ।

एक पटक मात्रै होइन निरन्तर फोन आइरहने गर्दछ। यसलाई कम खर्चमा सिसि क्यामेराको सट्टामा प्रयोग गर्न सकिने उनी बताउँछन्। यसरी सिसिक्यामेरा प्रयोग गर्दा तीव्र गति इन्टरनेट चाहिने भए पनि एपिआरएसलाई सामान्य फोनको नेटवर्कमा प्रयोग गर्न सहज हुने एपीआरएस निर्माणकर्ता राईले बताए।

धनकुटाबाटै स्नातक तहसम्म अध्ययन गरेका राईले सुरुमा फुर्सदको समयमा यस्ता सामान आविष्कारमा लागेको र अब पेसा नै यही गर्ने तयारीमा लागेको बताएका छन्। कोखमानका बुबा देबलमानले आधुनिक सामान बनाउँछु भनेर दिनरात खटिइरहँदा आफूलाई पूर्णविश्वास नलागेको बताउँछन्।

सुरु गरेको काम पूरा गरेरै छाड्ने बानीले यो सामान बनाउन सम्भव भएको बुबा देबलमान बताउँछन्। कोखमानले आफूले तयार पारेको एपीआरएस पटकपटक प्रयोग गरेर देखाइसकेका छन। ‘सामग्री जुटाएर बनाउन थाल्यो, छोराले यस्तो सामान नै बनाउन सक्छ भन्ने त लागेको थिएन, तर सफल भएर छाड्यो,’ कोखमानका बुबा देवलमानले खुसी व्यक्त हुँदै भने, ‘आफ्नै छोराले बनाएको सामान देख्दा खुसीको सीमा नै छैन।’

आफ्नो प्रतिभा धेरै प्रस्तुत गर्न नपाएपनि प्रस्तुत गरेका ठाउँमा निरुत्साहित गर्ने काम भएको उनले दुखेसो गरे। हालसम्म आफन्तको सहयोग बाहेक कतैबाट कुनै सहयोग नपाएको कोखमानले बताए। देशमा धेरै यस्ता आविस्कारहरु जन्मिए पनि राज्य वा सरोकारवाला पक्षले यस्ता कार्यको विकासमा ध्यान नदिएको कोखमानको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.