|

नेपाललाई स्थानीय तहमा विभाजन गर्दा धनकुटा जिल्लाका साविकका तेलिया, ताँखुवा, परेवादिन र हात्तीखर्क गाउँ विकास समितिहरूलाई मिलाएर छथर जोरपाटी गाउँपालिका बनाइएको छ। यस गाउँपालिकामा छवटा वडा छन्। यस गाउँपालिका १०२.८३ वर्ग किलोमिटरमा फैलिएको छ। प्रायः वर्षभरि नै चिसो हावापानी भइरहने यो गाउँपालिका तरकारीको राजधानीका रूपमा परिचित छ र यहाँ प्रधानमन्त्री कृषि आधुनिक परियोजनाअन्तर्गत ताजा तरकारीको पकेट क्षेत्र पनि सञ्चालनमा छ।

छथर जोरपाटी गाउँपालिकाको पूर्वमा तेह्रथुम रहेको छ भने पश्चिममा धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिका रहेको छ। त्यस्तै, उत्तरमा महालक्ष्मी नगरपालिका र दक्षिणमा साँगुरीगढी र चौबिसे गाउँपालिका पर्छन्। गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट छथर जोरपाटी गाउँपालिका अध्यक्षमा शेरबहादुर लिम्बू निर्वाचित भएका छन्। 

विद्यार्थी संगठनबाटै राजनीतीमा प्रवेश गरेका लिम्बू सुरुमा चुलाचुली माविमा कक्षा ६ मा पढ्दा अनेरास्ववियुमा आबद्ध थिए। उनले विद्यार्थी संगठन हुँदै युवा संगठनमा काम गरेपछि तत्कालीन एमालेको क्षेत्रीय कमिटीको एक कार्यकालको सचिव, एक कार्यकालको अध्यक्ष हुँदै जिल्ला कमिटीको सदस्य भएर राजनीतिमा सक्रिय लिम्बू २०७४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्। उनै लिम्बूसँग गाउँपालिकामा भइरहेका विकास निर्माणका काम र गाउँपालिकाको समृद्धिबारे थाहाखबरकर्मी ईश्वर थापाले गरेको कुराकानी –

गाउँपालिका विकासमा के कस्ता कामलाई प्राथमिकतामा राख्नुभएको छ? 

खास गरेर विकास निर्माणको काममा पूर्वाधार निर्माण र जनताको आर्थिक, सामाजिक स्तर उकास्ने खालका कामहरूमा विशेष प्राथमिकता दिइएको छ। त्यसका निम्ति कृषि व्यवसाय, पशु व्यवसायलाई व्यावसायिकीकरण गर्ने, आधुनिकीकरण गर्ने, पर्यटनको विकास गर्ने र त्यसका आधारबाट जनजीवनमा आयस्तर वृद्धि गर्दै जनतालाई समृद्धितर्फ लैजाने लक्ष्यसहित कार्यक्रम अगाडि बढाइएको छ।

गाउँपालिकामा के कस्ता प्रमुख समस्या छन्?

मुख्य गरेर पूर्वाधार, सडक, खानेपानीको ठूलो समस्या छ यहाँ। गाउँ बस्तीहरूमा अहिले पनि खानेपानीको राम्रो व्यवस्थापन हुन सकेको छैन। पक्की सडक संजालले छोएको छैन। बाह्रै महिना चल्ने सडकहरू छैनन्। यी मुख्य समस्याहरू छन्। 

ती समस्यालाई समाधानका लागि केके गर्दै हुनुहुन्छ?

सबै वडाहरूबाट सडकलाई गाउँपालिकाको केन्द्र जोरपाटीसम्म जोड्ने काम तीब्र रूपमा अगाडि बढाइएको छ। अब धेरै सडक कोर्ने भन्दा पनि भएका सडकहरूको स्तरोन्नति गर्ने काम भएको छ। खास गरेर ती सडकलाई बाह्रै महिना चल्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ।

खानेपानीका विषयमा हामीले जमिनमुनिको पानी डिप बोरिङ गरेर तान्ने प्रविधिको प्रयोग गरेका छौँ। वडा नम्बर– २ जोरपाटीमा हामीले त्यो काम सम्पन्न पनि गरेका छौँ। यो परीक्षणकालमा रहेको छ र यो सफल भयो भने अरूअरू क्षेत्रमा, जहाँ खानेपानीको समस्या छ, त्यहाँ पनि काम गर्न सकिन्छ कि भनेर योजना बनाइरहेका छौँ। जहाँ डिप बोरिङ गरिएको छ, त्यहाँ गाउँपालिकाको ६० प्रतिशत र स्थानीय उपभोक्ताको ४० प्रतिशत लगानीमा काम गरिरहेका छौँ।

स्थानीय तह सञ्चालनमा नीतिगत वा व्यावहारिक केही समस्या छन् कि?

नीतिगत अस्पष्टताहरू त धेरै छन्। संघ, प्रदेशको कानुन नबनसिकेको सन्दर्भमा हामीले संविधानमा व्यवस्था भएको एकल अधिकारको प्रयोग गरेर स्थानीय तहका विभिन्न कामहरू सम्पन्न गर्ने क्रममा, स्थानीय नियमहरू, ऐनहरू बनाउने सन्दर्भमा पनि केही जटिलताहरू, केही अप्ठ्याराहरू छन् भन्ने महसुस गरिरहेका छौँ। 

ती नीतिगत वा व्यावहारिक समस्यालाई समाधान गर्न कसले के गर्नुपर्छ जस्तो लाग्छ?

खास गरेर संविधानको साझा सूचीमा रहेका अधिकारहरूको बारेमा कानुनहरू निर्माण गर्ने सन्दर्भमा संघले, प्रदेशले कानुन स्पष्ट बनाएर हामीलाई अधिकार प्रत्यायोजन गरेमा हामीलाई सहज हुनेछ। एकल अधिकारमा भएका विषयहरूमा हामी आफैँ कानुन बनाउन थालेका छौँ। कानुन बनाइरहँदा पनि यस प्रदेशले बनाएपछि मात्रै बनाउनुपर्छ भन्नेजस्ता कुराहरूले बाधा अड्चन पनि आइरहेका छन्। 

लामो समयपछि जनप्रतिनिधि पाउँदा जनताले विकासको आशा गरेका छन, के काम भइरहेको छ?

लामो समयपछि जनताले आफ्ना निर्वाचित प्रतिनिधि पाएका छन्। सोहीबमोजिम जनताको अपेक्षा पनि धेरै रहेको छ। सीमित स्रोत साधनले असीमित चाहनाहरूलाई पूरा गर्नुपर्ने हाम्रो बाध्यता छ। आजका जनता सचेत पनि छन्, शिक्षित पनि छन्, बुझेका पनि छन् र यो दुनियाँलाई नजिकबाट हेर्ने अवसर पनि प्राप्त गरेका छन्। सोहीबमोजिम आफ्नो जीवनलाई ढालेर आफ्नो समाज र गाउँपालिकालाई परिवर्तित भएको देख्न चाहन्छन्। त्यसअनुरूप हामीले राज्यले दिने सेवाहरू शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सञ्चार नाम मात्रको होइन, गुणस्तरीय सेवाको अपेक्षा पनि गरिरहेका छन्। त्यो सबै सेवा प्रवाहका निम्ति जति हामीलाई स्रोत साधनको आवश्यक पर्ने हो, त्यो स्रोत साधन अभाव भएको महसुस भएको छ।

यस गाउँपालिकामा जनताले प्रत्यक्ष अनुभव गर्ने खालका केके काम भइरहेका छन्?

यस गाउँपालिकामा हामीले खास गरेर सडकको स्तरोन्नति गरेका छौँ। सडकहरूको सीमा निर्धारण गरेरै हामी अगाडि बढेका छौँ। सडक चौडा बनाएका छौँ। अब निकट भविष्यमै छवटै वडा कार्यालयदेखि गाउँपालिकाको केन्द्रसम्म बाह्रै महिना चल्ने बनाउँदै छौँ। खानेपानीको सन्दर्भमा डिप बोरिङ र अन्य तरिकाले खानेपानी व्यवस्थापनको व्यवस्थापनको काम अगाडि बढाइरहेका छौँ। पशुपालन र कृषिलाई व्यावसायिक गर्नका निम्ति व्यावसायिक कृषि फार्म सञ्चालक, पशु फार्म सञ्चालकहरूलाई अनुदानको व्यवस्था गरेका छौँ। त्यस्तै गरेर विभिन्न तालिमहरू दिइरहेका छौँ। सिँचाइका कार्यक्रमलाई पनि अगाडि बढाएका छौँ। यो ढंगबाट हामीले अगाडि बढ्ने प्रयत्न गरिरहेका छौँ। यो क्षेत्र खास गरेर तरकारी पकेट जोन, दूध उत्पादनको राम्रो क्षेत्र भएको हिसाबले तरकारी र दूधलाई विशेष जोड दिने प्रयत्न गरेका छौँ। 

तपाईंले चुनावताका गर्नुभएका घोषणा वा प्रतिवद्धताहरू पूरा हुँदै छन् त?

खास गरेर पूर्वाधार निर्माणसँग सम्बन्धित विषयहरू नै थिए घोषणापत्रमा। हामीले घोषणापत्रमै उल्लेख गरेका थियौँ कि छवटै वडाबाट केन्द्रसम्म चल्ने सडकहरू बाह्रै महिना चल्न सक्ने बनाउनुपर्छ, खानेपानी व्यवस्थापन गर्नुपर्छ। शिक्षा गुणस्तरीय, सर्वसुलभ ढंगबाट पाउनुपर्छ भन्ने मुख्य कुरा थिए। आर्थिक, सामाजिक रूपान्तरण गर्ने मुख्य कुरा थियो। स्थानीयलाई स्वरोजगार गर्ने कुराहरू थिए। मैले अहिले यी कुराहरूमै केन्द्रित रहेर कार्यक्रम अगाडि बढाउने प्रयत्न गरिरहेको छु।
यसलाई ठ्याक्कै मापन गर्न त अहिले नै सकिन्न तर हामी घोषणापत्रमै आधारित भएर अगाडि बढेको हुँदा सम्भवतः केही समय पछाडि अनुभूति हुनेगरी वा देख्नेगरी यसमा परिवर्तन आउनेछ।

यो गाउँपालिका तपाईंको नजरमा के सम्भावना बोकेको क्षेत्र हो?

यो गाउँपालिका तरकारीको राम्रो सम्भावना भएको क्षेत्र, दूध उत्पादनको राम्रो सम्भावना भएको क्षेत्र हो। त्यस्तै, पर्यटनको राम्रो संभावना भएको क्षेत्र र छथर जोरपाटीको वडा नम्बर ३ र ४ को तल्लो क्षेत्रलाई बदाम पकेट क्षेत्र घोषणा गर्न सकिन्छ। फलफूलको राम्रो सम्भावना रहेको छ यहाँ। यिनैलाई समृद्ध बनाएर यहाँको आर्थिक क्षेत्र उकास्न सकिने सम्भावना देखिएको छ।

अरू दलका प्रतिनिधिसँग के कस्तो समन्वय भइरहेको छ?

पूर्वाधारका पाटाहरू सडक, शिक्षा, खानेपानी, स्वास्थ्यको अवस्था, जनताको आय स्तरको अवस्था, त्यसैगरी सेवा प्रवाहको अवस्थामा तुलना हुनेगरी काम गरेर अगाडि बढ्ने सोचाइमा छौँ।

छथर जोरपाटी गाउँपालिकाको अध्यक्ष भएपछि त्यो अर्थमा भाग्यमानी ठान्छु आफूलाई किनभने निर्वाचनकै बेला पनि हाम्रो अरू पार्टीसँग लामो दूरी थिएन। हामीले एकअर्कामा स्वस्थ राजनीतिक प्रतिस्पर्धा गर्दै अगाडि बढ्यौँ। विजयी भइसकेपछि पनि उहाँहरूको सकारात्मक सहयोग सल्लाह सुझावहरू प्राप्त भइरहेका छन्। हामीले तय गरेका गाउँसभा र योजना निर्माण गर्नुभन्दा अगाडि सर्वदलीय बैठकहरू बस्ने र उहाँहरूको राय सुझावलाई संकलन गरेर सम्बोधन गर्ने प्रयास गरेका छौँ। 

विकास निर्माणका कामहरूमा समेत उपभोक्ता समिति निर्माणदेखि लिएर टोल विकास संस्था अन्य संघसंस्थाहरू गठनलगायत हरेक काममा सहकार्य भइरहेको छ। उहाँहरूबाट पनि सकारात्मक सल्लाह सुझाव आइरहेको छ। मैले यही अनुभूति गरेको छु।

तपाईंले गरेको काममा कर्मचारीहरूले कतिको सहयोग गर्नुभएको छ कि छैन?

थोरै मात्रामा कर्मचारी भएको हिसाबमा केही समस्या त छन् तर उपलब्ध र सीमित कर्मचारीहरूबाट सहयोग नै छ। नीतिगत रूपमा हामीले पास गरेका कार्यक्रम र योजनाहरूलाई कार्यान्वयन गर्ने सन्दर्भमा उहाँहरूको सकारात्मक भूमिका नै छ। तथापि, कर्मचारीको अभाव अर्को समस्याको रूपमा रहेको छ। प्राविधिक पनि कम भएको हिसाबले त्यो पनि समस्या रहेको छ। योचासहँ अब छिट्टै प्रदेश र संघबाट समाधान हुन्छ भन्ने मैले अपेक्षा गरेको छु। अरू यहाँ भएका कर्मचारीहरूबाट सहयोग नै छ।

अब बाँकी रहेका तपाईंको कार्यकालका विशेष योजना के छन्? ती योजना पूरा गर्ने आधार के हुन्?

खास गरेर हामी हाम्रो वस्तुगत परिवेश के छ भनेर तथ्यांक लिएर अगाडि बढ्ने प्रयत्नमा छौँ। अहिले कुनकुन क्षेत्रको वस्तुगत परिस्थिति के हो र आगामी चार वर्षमा हामी के गर्न सक्छौँ? भन्ने योजना बनाएर हामी अगाडि बढ्ने प्रयत्नमा छौँ। त्यो हिसाबले पूर्वाधारका पाटाहरू सडक, शिक्षा, खानेपानी, स्वास्थ्यको अवस्था, जनताको आय स्तरको अवस्था, त्यसैगरी सेवा प्रवाहको अवस्थामा तुलना हुनेगरी काम गरेर अगाडि बढ्ने सोचाइमा छौँ।

तपाईंको कार्यकालपछि यो गाउँपालिका कस्तो अवस्थामा देख्न सकिन्छ त?

भौगोलिक हिसाबले समस्या भएको कारणले अहिले भएका सबै सडकलाई कालोपत्रे गर्ने भन्न त सकिन्न तर बाह्रै महिना चल्न सक्ने सडकहरूको निर्माण गर्ने उद्देश्य रहेको छ। खास गरेर व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिँदै केही समय पछाडि प्राविधिक जनशक्ति उत्पादन हुनेगरीको शिक्षा जनताले पाउने व्यवस्था गरिनेछ। अनि स्वास्थ्य क्षेत्रमा घण्टौँ हिँडेर मात्रै स्वास्थ्य सेवा लिने नभईकन आफ्नो नजिकै स्वास्थ्य सेवा पाउने व्यवस्था गर्ने सोच अगाडि बढेको छ। त्यो अवस्था हुनेछ। पर्यटनको समग्र विकास गर्दै पर्यटनको माध्यमबाट जनताको आयस्तरमा वृद्धि गरिएको अवस्था देखिनेछ। कृषि र पशुलाई आधुनिकीकरण गरेर केही ठूला कृषि र पशु फार्महरू सञ्चालन भएको अवस्था देख्न सकिनेछ। गाउँपालिकाको आफ्नै भवन पनि छैन र गाउँपालिकाको आफ्नै भवन व्यवस्थापन गर्न सके राम्रो हुने भन्ने पनि लागेको छ। त्यसमा पनि अगाडि बढ्नेछौँ।

तपाईंले गरेका काममा स्थानीयको प्रतिक्रिया कस्तो पाउनुभएको छ?

लामो समयपछि आफ्नो प्रतिनिधि पाएको जनताका अपेक्षा अलिक धेरै छन् र पूरा गर्न सकिएको छैन। स्रोत र साधन सीमित छ। ती सीमित स्रोत र साधनले धेरै आवश्यकताहरूलाई सम्बोधन गर्न सकिएको छैन भने अर्कोतर्फ बीसौँ वर्ष कर्मचारीतन्त्रले चलाइरहेको बेलामा केही मान्छेहरूले पहुँचको आधारबाट जुन प्रवृत्तिबाट सेवा सुविधा लिन्थे, त्यसलाई हामी आइसकेपछि अलिक जनमुखी, अलिक जनताको प्रत्यक्ष फाइदा हुने किसिमको काम गर्ने प्रयत्न गर्दा केही अप्ठ्यारो महसुस उहाँहरूले गर्नुभएको छ जस्तो लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.