|

सोलुखुम्बु : सात वर्षअघि सोलुदूधकुण्ड नगरपालिका–४ निवासी याङ्जी शेर्पाको घरमा २० वटा चौरी गाई थियो। अहिले चौरी गाईको गोठ रित्तो छ।

पछिल्लो समय यहाँका किसानमा व्यवासायिक चौरीपालनप्रतिको मोह घट्दै गएको छ। चौरीपालनको आकर्षण घटेसँगै व्यवसाय नै संकटमा पर्दै गएको चौरीपालक किसानहरु बताउँछन्।

एक दशकअघि यस क्षेत्रमा व्यवसायिक चौरीपलन गर्ने कृषक यथेष्ठ थिए। तर, अहिले उक्त संख्यामा एक तिहाइले घटेको स्थानीय चौरीपालक लिखुपिके–१ का दावा शेर्पा बताउँछन्। ‘लिखुपिकेको पिके र झाप्रे क्षेत्रमा मात्र करिब २० घरले चौरी पाल्थे,’ उनले भने, ‘अहिले छ घरले मात्र पालेका छौं।’

सोलुखम्बुको लिखुपिके गाउँपालिकामा पर्ने पिके, झाप्रेलगायत माथिल्लो क्षेत्रमा व्यवसायिक चौरीपालन गरिन्छ। पछिल्लो समय खर्कको अभाव, जंगली जनावरबाट बचाउन नसक्नु, दूध, दहीलगायत दुग्ध पदार्थले उचित मूल्य नपाउनु लगायत कारण चौरी गाईपालन गर्ने किसान घट्दै गएको गोलीका तेण्डुप शेर्पाले बताए। उनले भने, ‘यवसायिक चौरीपालनका लागि सरकारले स्पष्ट नीति ल्याउनुपर्छ।’

घिउको मूल्यवृद्धि

चौरीपालनमा कमी आएपछि यस क्षेत्रमा चौरीको घिउसहित दुग्ध पदार्थको मूल्य बढेको छ। घिउको उत्पादन कमी भए पनि माग बढेकाले मूल्य बढेको छ वर्षदेखि चौरीको घिउ बेच्दै आएका सोलुदूधकुण्ड नगरपालिका–३ का मिङ्मार शेर्पाले बताए। उनले भने, ‘बजारमा माग बढी छ, तर चौरी गोठमा घिउ छैन।’ 

यसअघि यहाँका चौरी गोठबाट एक पटकमा २०० किलोसम्म घिउ संकलन गरेको व्यापारीहरुको भनाइ छ। तर, केही वर्ष यता ५० किलो पनि बल्लतल्ल संकलन हुने उनीहरु बताउँछन्। चालु आर्थिक वर्षमा मात्र घिउको मूल्य प्रतिकिलो १०० रुपैयाँ बढेर ९०० रुपैयँ पुगेको छ। यही अनुपातमा अन्य परिकारको समेत मूल्य बढेको छ।

घट्यो चिज उत्पादन

यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ चौँरीगाईको दूधबाट उत्पादित चिज हो। स्वादिलो स्थानीय चिज पर्यटक मात्र होइन, स्थानीय बासिन्दाले समेत खोजी खोजी किन्छन्। जिल्लाबाहिर जानेले कोसेलीका रुपमा चिजलाई लैजाने गरेका छन्। तर पछिल्लो समय चिज उत्पादनमा कमी आएको पीके चिज उत्पादन केन्द्रका इन्चार्ज कर्णबहादुर जिरेलले बताए।

सरकारले ०१३ मा स्थापना गरेको केन्द्रको वार्षिक उत्पादन क्षमता १२ हजार किलो भए पनि अहिले एक हजार किलोमा सीमित भएको जिरेलले बताए। उनले भने, ‘चौंरी पाल्ने किसान घटेकाले उत्पादनमा कमी आएको छ।’


यस्तै, निजी क्षेत्रबाट करिब २० वर्षदेखि तत्कालीन टाक्सिन्दु गाविसको रिङ्मुमा सञ्चालित नुम्बुर भ्यु चिज उद्योगले वार्षिक एक हजार २०० किलो चिज उत्पादन गर्दै आएको छ। उद्योगका सञ्चालक फुग्याल्जेन शेर्पा चिज उत्पादनका लागि ४० वटा चौँरीगाई पालेको बताउँछन्। एक किलो चिज उत्पादनका लागि करिब १० लिटर दूध आवश्यक पर्ने गर्दछ। 

०३० मा याक (गोरु) र नाक (गाई)को संख्या वृद्धि गर्ने तथा दुग्धजन्य पदार्थको उत्पादन गर्ने उद्देश्यसहित खुम्जुङमा स्थापना गरिएको स्याङ्बोचे याक विकास फार्मले हालसम्म दुग्धजन्य वस्तुको उत्पादन गर्न सकेको छैन। 
२९३ रोपनीमा फैलिएको उक्त फार्मको करिब ५० प्रतिशत जग्गा उपयोग भए पनि बाँकी त्यत्तिकै छ। अहिले १६८ रोपनी जग्गा घाँस उत्पादन र चरन क्षेत्रका रुपमा प्रयोग भइरहेको फार्मका प्रमुख ललन यादवले जानकारी दिए। 

फार्ममा याक र नाकको संख्या घट्दै गएपछि नेपाल–चीन सीमा क्षेत्र नाङ्पालापास हुँदै तिब्बतबाट केही वर्षअघि पाँच वटा याक र २५ वटा नाक ल्याएपछि संख्यायामा वृद्धि भई ९५ वटा पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.