|

लहान : सिरहाको गोलबजार नगरपालिका–२ को पर्यटकीय स्थल कुम्भीखाडी दह जोड्ने मैनाबत्ती खोलामा निर्माणाधीन पुल बाढीले भत्काएको छ। पुलको स्ल्याब बाढीको बहाव थेग्न नसकेर भत्किएको हो।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको ४५ लाख रुपैयाँ लागतमा पुल निर्माण भइरहेको थियो। करिब ८० प्रतिशत काम सम्पन्न भएको पुलको स्ल्याब बाढीले भत्काएको हो। पानीको बहावअनुसार डिजाइन नगरी हचुवाको भरमा ह्युमपाइप हालेर स्ल्याब निर्माण गरिएकाले सामान्य बाढीले भत्किएको स्थानीय रामदयाल साहको भनाइ छ। ‘स्थानीय बासिन्दाले चुरेबाट निस्किने खहरे खोला भएकाले ह्युमपाइपले काम गर्दैन भन्दा पनि बेवास्ता गरियो’ साहले भने ‘जबरजस्ती ह्युमपाइप हालेर वर्षातको समयमा काम गरेकाले पुल निर्माण नसकिंदै भत्कियो।’ 

स्थानीयको आवश्यकताभन्दा पनि विकास समितिले आफ्नै आवश्यकताअनुसार वर्षायाममा पुल निर्माण गरेकाले पुल भत्किएको स्थानीय संजयकुमार साहको भनाइ छ। उनले भने, ‘खहरे खोलामा ह्युमपाइपले काम गर्दैनथ्यो, जबर्जस्ती हालेर बजेटको दुरुपयोग मात्र गरियो।’

निर्माण उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर सुनवारले आफूहरुले विकास समितिले उपलब्ध गराएको डिजाइन स्टिमेटअनुसार निर्माण गरेको बताए। उनले भने, ‘राष्ट्रपति चुरे मधेस संरक्षण विकास समितिले दिएको डिजाइन स्टिमेटकै आधारमा पुल बनाएका हौं, उपभोक्ता समितिले हेरफेर गरेको छैन।’ अध्यक्ष सुुनुवारले उपभोक्ता समितिले निर्माणको क्रममा कुनै कमजोरी नगरेको दावी गरे। विकास समितिमार्फत् खटिएका प्राविधिकको निर्देशनमै निर्माण भइरहेको उनको भनाइ छ।

साइट इञ्चार्जको रुपमा काम गरिरहेका जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लहानका इञ्जिनियर रामकृपाल चौधरीले स्ल्याब पुलको छेउमा प्रोटेक्सनको काम गर्न नभ्याइएकाले पुलको केही भाग बाढीले क्षति पु¥याउको बताए। ‘ढिलोगरी सम्झौता हुँदा समयमा काम थाल्न सकिएन,’ इञ्जिनियर चौधरीले भने, ‘क्रेटिङ्का लागि तारजाली नभेटिएको र बाढीले बगाएर ल्याएको झाडी बुट्यानले ह्युमपाइप थुनिएपछि छेउबाट भङ्गालो बन्दा पुलको एप्रोचहरु भाँचिएको हो।’

उपभोक्ता समिति र राष्ट्रपति चुरे मधेस संरक्षण विकास समितिबीच गत वैशाख २ मा पुन निर्माण गर्ने सम्झौता भएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.