|

थाहाखबर डटकम आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ। ठीक दुई वर्षअघि ‘निष्पक्ष सक्रियताको अभ्यास’ भन्ने मूल मन्त्रसहित हामी नेपाली पत्रकारिताका क्षेत्रमा शून्यबाट उपस्थित भएर अाज मुलुकका केही लोकप्रिय अनलाइनमध्येमा पर्न हामी सफल भएका छौँ।

यसबीचमा मुलुकले निकै ठूला राजनीतिक उपलब्धि हासिल गरिसकेको छ। देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेपछि बनेको नयाँ संविधानको मूल पक्षको कार्यान्वयन भइसकेको छ– तीनै तहका निर्वाचन सम्पन्न भएर। संविधानअनुसार निर्वाचित स्थानीय, प्रदेश र केन्द्रीय सरकार निर्माण भई कार्यारम्भसमेत गरिसकेका छन्। यसबीचमा नेपाली संचार माध्यमले जे भूमिका निर्वाह गरेका छन्, त्यसमा हामीले पनि केही थप सकारात्मक योगदान दिने जमर्को गरेका छौँ।हामीले सबै वा तीनै तहका निर्वाचनमा निर्वाचन पोर्टलमार्फत् त्यसबारे सम्पूर्ण सूचना र जानकारी दिने प्रयत्न गरेका थियौँ, जुन हाम्रा लागि अत्यन्तै खुसी र गर्वको विषय हो।

त्यसबाट हाम्रा पाठक/श्रोता/दर्शकले समयमै सूचना र जानकारी प्राप्त गरी दिएका प्रतिक्रिया र हौसला हाम्रा लागि प्रेरणाका मूल स्रोत हुन्। हामीले हाम्रो मूल मन्त्र नै ‘निष्पक्ष सक्रियताको अभ्यास’ राखेका छौँ, यसर्थ पनि हामी हाम्रो व्यावसायिक सीमा, मर्यादा र आचरणबाहिर कहिल्यै गएका थिएनौँ र जानेछैनौँ भन्ने प्रण पुनः गर्छौं। आजको अत्याधुनिक प्रविधिको उच्चतम सदुपयोग गर्दै अनलाइन पत्रकारितालाई थप मर्यादित, व्यावसायिक र तीब्र बनाउँदै आमजनको सूचनाको हक र भोकलाई धेरै हदसम्म पूरा गर्ने हाम्रो दायित्वबाट हामी कदापि विचलित हुँदैनौँ।

मर्यादित पत्रकारिता, शालीन प्रस्तुति अहिलेको आवश्यकता हो। यो विषयलाई राज्यले वा राज्यका निकायले भन्दा स्वयं पत्रकारिता क्षेत्रले नै मनन् गर्नु सबैभन्दा उत्तम हुनेछ। संचार क्षेत्रमा  देखिदै आएको अराजकताको अन्त्य जरुरी छ, तथापि त्यसका नाममा राज्यको निरंकुशता वा हस्तक्षेप भने स्वीकार्य हुनसक्दैन। यस सन्दर्भमा दलहरूले पनि सत्तामा हुँदा र प्रतिपक्षमा रहँदा समान भूमिका निर्वाह गर्न जरुरी छ ।

मुलुक अहिले संघीयतामा प्रवेश गरिसकेको छ। सातवटा प्रदेशहरू प्रदेशसभा निर्वाचनपश्चात् क्रियाशील छन्– आआफ्नै संसद र सरकारमार्फत्। हामीले अब केन्द्रमा मात्र नभएर हरेक प्रदेश र त्यहाँका स्थानीय तहसम्म पुग्नुपरेको छ। र, यसलाई सहजीकरण गर्नेछ– आजको अत्याधुनिक प्रविधिले। यसर्थ हामीले प्रविधिको भरपूर उपयोगको नीति लिएका छौँ र त्यही प्रविधिमार्फत् हामीले स्थानीयस्तरका सूचना, स्थानीय समाजका आवश्यकता, चाहना, असन्तुष्टि, माग र धारणाहरू प्रस्तुत गरी नीतिनिर्मातासम्म पुर्‍याउन र नीतिनिर्माण तहका सूचना र जानकारीहरू स्थानीय तहसम्म पुर्‍याई जनता र जनप्रतिनिधिबीचको पुलको रूपमा रहने प्रतिवद्धता पनि व्यक्त गर्दछौँ।

यसरी नै हाम्रो उद्देश्य हरेक आवाजविहीन समुदायको आवाजका रूपमा प्रस्तुत हुनु पनि रहेकाले तल्लो विपन्न, सीमान्तकृत, दलित, उत्पीडित, उपेक्षित समुदायका आवश्यकता, धारणा, माग र असन्तुष्टिलाई उजागर गर्ने काममा पनि हाम्रो विशेष सक्रियता रहनेछ। यो दुई वर्षको अवधिमा हामीलाई हाम्रा शुभेच्छुक सूचनादाता, विज्ञापनदाता, लेखक, साहित्यकार, कलाकार, विभिन्न पेसाकर्मी, व्यवसायी, पाठक/श्रोता/दर्शकले गरेको विश्वास र दिएको माया हाम्रा निम्ति अत्यन्तै प्रेरणादायी रह्यो। हामी तपाईं समग्रमा हार्दिक आभार र धन्यवाद भन्छौँ।

'एक नम्बर भन्नेहरुलाई हाम्रो उपस्थिति चुनौतीपूर्ण' 

अनलाइनको भीडमा विश्वसनीय बन्न सकोस् थाहाखबर 

फोटोमा हेर्नुस् थाहाखबरको औपचारिक शुभारम्भ 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.