|

धनकुटा : प्रदेश १ को पुरानो बजार हो धनकुटा। मुलुक संघीयता शासन लागू हुनअघि धनकुटा जिल्लाको सदरमुकाम पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम थियोे।

वि.सं. २०१९ अघि प्रशासनिक इकाइ नै रहेको धनकुटा वि.सं. २०१९ बैशाख १ मा धनकुटा जिल्ला भनी नामाकरण गरिएको हो। यस जिल्लाको पूर्वमा तेह्रथुम र पाँचथर, पश्चिममा भोजपुर र उदयपुर, उत्तरमा संखुवासभा जिल्ला र दक्षिणमा मोरङ र सुनसरी जिल्ला रहेका छन्। ८९१ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको धनकुटामा सात वटा स्थानीय तह छन्।

धनकुटा पुरानो प्रशासनिक केन्द्र मात्र नभई यहाँ पर्यटकीय क्षेत्र पनि रहेका छन्। प्रकृतिले सजाएका ती पर्यटकीय क्षेत्रमध्ये केहीले चर्चा पाएका छन् भने केही प्रचारप्रसारको अभावमा ओझेलमा छन्। ती क्षेत्र मोटरबाट पुग्न सकिन्छ।

भेंडेटार

धनकुटा सदरमुकामबाट २६ किलोमिटर दक्षिणमा रहेको भेडेटार धरानबाट १६ किलोमिटर उत्तरमा पर्दछ। समुन्द्र सतहबाट १४२० मिटरको उचाइमा पहाडको टुप्पोमा अवस्थित सानो तर सुन्दर भेडेटार बजार वि.सं. २०३८ सालमा बेलायती युवराज चाल्र्सको भ्रमण पछि थप चर्चामा रह्यो।

ध्वजेडाँडा

समुन्द्र सतहबाट दुई हजार ४७ मिटरको उचाइमा रहेको ध्वजेडाँडा भेंडेटारबाट १३ किलोमिटर पूर्व साँगुरीगढी गाउँपालिका–५ पर्दछ। साँगुरीगढी गाउँपालिका–५ कै डाँडा बजारबाट एक किलोमिटर पैदल यात्रापछि पुगिन्छ। यहाँबाट पूर्वका १६ वटै जिल्लाहरु देख्न सकिन्छ।

ठूलो रुख

साँगुरीगढी गाउँपालिका–५ लाप्चेटारमा रहेको बरको रुखलाई स्थानीयले करिब २५० वर्ष पुरानो मानेका छन्। यो रुखको फेदको गोलाइ १७ मिटर रहेको छ। यही रुखलाई एसियाकै सबैभन्दा ठूलो रुख भएको स्थानीयको दाबी छ।

 नागबेली पार्क र रानी ताल 

चौबिसे गाउँपालिकामा रहेको नागबेली पार्कमा रहेको छ। यहाँ दैनिक १०० जनाभन्दा बढी पर्यटकले अवलोकन गर्दै आएको व्यवस्थापन पक्षले बताए। पार्कको नजिकै रहेको रानीताल रहेको छ। त्यहाँ बोटिङ र फिसिङ्ग गर्ने गरेका छन्। 

हिले र पाख्रिबास

धनकुटाको पर्यटकीय तथा व्यापारिक केन्द्रहरूमध्ये अग्रणी स्थान ओगटेको हिले र पाख्रिबास बजार करिव १९५० मिटरको उचाइमा रहेका छन्। प्रायः वर्षैभरि नै चिसो हावापानी भइरहने यी बजारहरूको रौनक बीचमा स्थापित कृषि केन्द्रले बढाएको छ। 

शहीद स्मृति पार्क

वि.सं.२०३६ कात्तिकमा छिन्ताङ हत्याकाण्डमा मारिएका १५ शहीदको सम्झनामा यस पार्कको स्थापना गरिएको हो। सहिदभूमि गाउँपालिका–२ मा रहेको यस पार्कमा मदन भण्डारीको समेत शालिक राखिएको छ।

तस्विरहरु : सुरेन्द्र आठपहरिया, धनकुटा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.