|
फोटो : दिपक केसी

काठमाडौं  : नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटालाई हिजोआजका दशैं भन्दा सशस्त्र संघर्षका बेलाको दशैं मन पर्थ्यो। पार्टी शान्ति प्रक्रियामा आएपछि परिवारसँगै घरमा दशैं मनाउँदा पनि उनी सशस्त्र युद्धमा मनाएका दशैं भुल्न सक्दैनन्।

'खुल्लाकालमा मनाएका दशैं भन्दा जनयुद्धकालमा जनमुक्ति सेनाको सुरक्षामा मनाउँदाका दशैं आनन्ददायक लाग्थे' सापकोटा भन्छन्, 'देश र जनताको लागि हजारौंको बलिदान भइरहेको अवस्थामा हामी पनि सामुहिकतामा दशैं मनाइरहेका थियौं।' त्यतिबेला व्यक्तिगत जीवन नै नभएको र हरेक दशैं क्रान्तिकारी भावनाले ओतप्रोत हुने गरेको उनी बताउँछन्। 'हामीले मनाएका ती दिनका हरेक दशैं मेरा लागि अविस्मरणीय  छन्' थाहाखबरसँग उनले भने।

माओवादीले जनयुद्धको समयमा दशैं तिहार जस्ता चाडपर्वलाई शक्ति सञ्चयको अवसरको रुपमा लिन्थ्यो। त्यसैले चाडपर्वका समयमा प्राय युद्धबिरामको घोषणा माओवादीले नै गर्थ्यो। 'दशैंका बेला शक्तिसञ्चय पनि हुन्थ्यो। राँगा, खसीबोका, माछामासु जोरजाम गरेर खान्थ्यौं। दशैं कभर पनि भयो। दुश्मनहरुलाई मोजमस्ती गर्नु थियो। हामीलाई युद्ध जित्नु थियो।' सापकोटा भन्छन् 'त्यसैले उनीहरु मोजमस्तीमा व्यस्त रहँदा हामीले गम्भीर तयारी गर्ने अवसर पाएका थियौं। हामीले दशैंको बिदाको मौका छोपेर अरु सबै मस्तराम भएका बेला आक्रमणका ठूला योजना बनायौं।'  सापकोटाले थाहाखबरसँगको कुराकानीमा तीनवटा दशैंको विशेष सम्झना गरे :

दशैंपछि भयानक आक्रमण

०५८ सालमा म लगायतका हाम्रो टिम युद्धको तयारीमा दोलखामा थियौं। जनमुक्ति सेनाको सुरक्षा घेराभित्र रहेर मनाएको उक्त दशैं पनि विशेष खालका थियो। दशैंका बेला हामीले महत्वपूर्ण र ठूलाठूला आक्रमणका योजनाहरु बनाउँथ्यौं। त्यसैले पनि दशैं हाम्रा लागि महत्वपूर्ण हुन्थ्यो।

पहिलो शान्तिवार्ता भंग भएपछि २०५८ साल मंसिर ८ गते दाङ, सोलुखुम्बुको सल्लेरी र स्याङ्जामा भएको भयानक आक्रमणको तयारी पनि हामीले दशैंकै बेला गरेका थियौं। त्यो वर्ष कात्तिक महिनामा दशैं मनाएका थियौं। हरेक आक्रमणका तयारीहरु हामी दशैंको बेला गर्ने गर्थ्यौं। त्यो वर्ष पनि कात्तिकमा हामीले आक्रमणको तयारी गरेर ती भयानक आक्रमण गरेका थियौं।

युद्धबिरामसँगै सतर्कता पनि

२०५७ सालको दशैंमा हामीले सांगठनिक, वैचारिक, फौजी कारबाही तथा संगठनात्मक कारबाहीको घनिभूत तयारी गर्‍यौं। राजनीतिक, वैचारिक अनि प्राविधिक तालिम पनि दियौं। दशैंमा हामी कारबाहीको तयारीमा जुट्ने गर्थ्यौं। किनभने जनताले ढुक्क र आनन्दसँग दशैं मनाउन पाउन् भनेर युद्धविराम गर्ने गर्थ्यौं। युद्धविराम गर्दा पनि हामी सतर्कताका साथ बस्ने गर्थ्यौं। किनकी दोरम्बा हत्याकाण्ड पनि युद्धविरामकै बेलामा भएको थियो।  

दशैंमा प्रचण्डको प्रशिक्षण

२०५६ सालमा हामी युद्धको तयारीमा थियौं। दश वर्षका दशवटै दशैं हामीले भयानक आक्रमणको तयारीमा बितायौं। अहिलेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग २०५६ सालमा ताप्लेजुङ जिल्लामा मनाएको दशैं मलाई अहिले जस्तै लाग्छ।

सांगठनिक तथा फौजी हमलाको हिसाबले हामीले त्यति ठूलो तयारी गरेनौं। तर उक्त दशैंमा हामीले अध्यक्षबाट प्रशिक्षण लियौं। मेरो जीवनका लागि उक्त दशैं र दिन एक महत्वपूर्ण वर्ष हो। उल्लासमय ढंगमा जनमुक्ति सेनाको सुरक्षा घेराभित्र मनाएको त्यो दशैं बहुआयमिक खालको थियो।

एक आपसमा खुसी साटासाट गर्दै विजयको यात्रा हामीले त्यहाँबाट पनि तय गरेका थियौं। एकातिर हामी सबै राजनीतिक कमिसारहरु, पार्टीका नेता अनि कार्यकर्ताहरु, जनवर्गीय संगठनका नेताहरु, जनमुक्ति सेनाका सम्पूर्ण पंक्ति मिलेर मनाएको त्यो दशैं वास्तवमा बहुआयमिक थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.