|

लहान : ‘कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, सञ्चार र पूर्वाधार, धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार’ भन्ने मूल नारासहित सम्पन्न धनगढीमाई नगरपालिकाको दोस्रो नगरसभाले करिब ६० करोड रुपैयाँ बराबरको बजेटसहित विभिन्न निर्णयहरु गरेको जनाएको छ।

नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष ०७५/०७६ को बजेट, नगरको विकास र समृद्धिका लागि दूरगामी महत्व राख्ने तीन ऐन, एक कार्यविधिलगायतका प्रस्तावहरु पारित गरेको जानकारी दिइएको छ।

५९ करोड ९९ लाख ७२ हजार बजेट

दोस्रो नगरसभाले आव ०७५/७६ का लागि ५९ करोड ९९ लाख ७२ हजारको बजेट पारित गरेको नगर प्रमुख हरिनारायण चौधरीले बताए। नगर प्रमुख चौधरीका अनुसार नगरसभामार्फत क्षेत्रगत बाँडफाडअन्तर्गत आर्थिक विकासतर्फ तीन करोड १८ लाख रुपैयाँ, सामाजिक विकासतर्फ पाँच करोड २० लाख रुपैयाँ, पूर्वाधार विकासतर्फ १४ करोड ९३ लाख रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै, वातावरण तथा विपद् व्यवस्थापनतर्फ एक करोड ५२ लाख रुपैयाँ र संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनतर्फ तीन करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको नगर प्रमुख चौधरीले पत्रकार सम्मेलनमा बताए। नगर सभाले आव ०७५/७६ का लागि बजेट सीमाअनुसार कुल आन्तरिक आय (मालपोत तथा राजस्‍व बाँडफाँडसमेत) अनुमानित पाँच करोड ५७ लाख १० हजार रुपैयाँ पारित गरेको छ।

चालु आवका लागि नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानबाट १३ करोड ६७ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ३१ लाख ६८ हजार, केन्द्र सरकारबाट ससर्त अनुदान १२ करोड ९१ लाख, राजश्व बाँडफाडबाट ९ करोड ४२ लाख ५६ हजार, प्रदेश सरकारबाट ससर्त अनुदान एक करोड, सामाजिक सुरक्षा कार्यक्रमबाट पाँच करोड ९० लाख प्राप्त गरिएको नगरपालिकाका प्रवक्ता प्रकाश योञ्जनले बताए।

नगर प्रवक्ता योञ्जनका अनुसार पछिल्लो आव ०७४/७५ मा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, सडक बोर्ड नेपाल लगायतको खर्च हुन नसकेर सरेर आएको अनुमानित नौ करोड ४४ लाख १० हजार रुपैयाँ चालु आवमा रकमान्तर गरिएको छ।

पुँजीगततर्फ २७ करोड ९० लाख

(४६.५०%), वडा स्तरीय योजनाका लागि १२ करोड ४६ लाख (१४.६८%) र नगर स्तरीय योजनाका लागि १५ करोड ४४ लाख सात हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, चालुतर्फ आठ करोड ८१ लाख १७ हजार (२४.१२%), अन्य क्षेत्र २३ करोड २८ लाख ४८ हजार रुपैयाँ र सशर्त बहुवर्षीय लगायत ३८.८० प्रतिशत रकम विनियोजन गरिएको छ।

हरेक वडामा कालोपत्रे, पुराना घरलाई निःशुल्क नक्सा

दोस्रो नगरसभाले चालु आवमा नगरको १३ वटै वडामा एक/एक किमीका दरले कालोपत्रे गरिने योजना पारित गरेको छ। पारित योजनाअनुसार पुराना इँटा जोडेका घरहरुको नगरपालिकाले निःशुल्क नक्सा बनाइदिने, त्यस्ता घरहरुलाई राजस्‍वमा ५० देखि ८० ८० प्रतिशतसम्म छुट दिने नीति रहेको प्रवक्ता योञ्जनले बताए।    

नीति तथा कार्यक्रमदेखि आर्थिक ऐनसम्म पारित

दोस्रो नगरसभाले आव ०७५/७६ को नीति तथा कार्यक्रमदेखि विनियोजन ऐन, २०७५, आर्थिक ऐन, धनगढीमाई नगरको सहकारी ऐन पहिलो संशोधन २०७५, नगर विपद् जोखिम न्यूनीकरण तथा र व्यवस्थापन ऐन २०७५, नगरपालिका न्यायपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन २०७५, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५, स्थानीय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि, २०७५ समेत पारित गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.