|

लहान : सप्तरीको दक्षिणवर्ती बलान बिहुल गाउँपालिका–१ मा १० दिनेदेखि अन्धकार छ। विद्युत महसुल नबुझाएको कारण देखाउँदै नेपाल विद्युत प्राधिकरणले आपूर्ति बन्द गरेपछि सिंगो गाउँ नै अन्धकारमा बस्न बाध्य भएको हो।

यस क्षेत्रका चार घरपरिवारले दुई वर्षदेखिको एक लाख ६७ हजार रुपैयाँ विद्युत महसुल नबुझाउँदा प्राधिकरणले आपूर्ति बन्द गरेको हो। ग्रामीण सामुदायिक विद्युतीकरणअन्तर्गत ग्रामीण सामुदायिक विकास केन्द्रमार्फत सञ्चालित विद्युतीकरणमा प्राधिकरणको ८० र स्थानीयले २० प्रतिशत लगानीमा उक्त वडाका करिब ३०० घरधुरीले विद्युत उपभोग गरिरहेको केन्द्रका कर्मचारी शक्तिराम यादवले बताए। गाउँका प्रायः सबै उपभोक्ताहरुले बुझाएको एक लाख तीन हजार रुपैयाँ साउन १६ मा प्राधिकरणको रुपनी केन्द्रमा बुझाए पनि एक लाख ६६ हजार रुपैयाँ बक्यौता रहेकाले विद्युत आपूर्ति बन्द रहेको यादवले जानकारी दिए।

केन्द्रका अनुसार पछिल्लो दुई वर्षदेखि विद्युत उपभोग गरेबापत स्थानीय श्रीराम पासवानले ६० हजार, कासिन्द्र चौधरीले ५२ हजार, रामअवतार यादवले ४५ हजार र वीरेन्द्र करुविया यादवले १० हजार रुपैयाँ तिर्न बाँकी रहेको छ।

महसुल बुझाउन पटक पटक मौखिक र लिखित ताकेता गरे पनि नटेरेपछि साउन १० मा उनीहरुलाई पक्राउ गरिएको थियो। त्यसबेला उनीहरुले साउन १३ सम्म बक्यौता रकम तिर्ने भाका राखे पनि भाका नाघिसक्दा पनि महसुल तिर्न आलटाल गरिरहेकाले स्थानीयहरुको भनाइ छ।

टुकी बालेर प्रसूति

वडामा रहेको स्वास्थ्य चौकीमा समेत विद्युत् नभएपछि गत बिहीबार राति प्रसूति गराउन आएकी वडा नं. ३ दुधैलाकी भुल्लीदेवी पासवानको टुकी बालेर प्रसूति गराइएको स्वास्थ्य चौकी इञ्चार्ज चन्दीलाल साफीले बताए। त्यस्तै, पथराहाकी घुर्नीदेवी रामको पनि टुकी बालेरै प्रसूति गराइएको इञ्चार्ज साफीले सुनाए।

गर्मी र वर्षात्को समयमा सर्पदंशको घटना भएकाले बिजुली नहुँदा समस्या भएको स्थानीय दुर्गी रामले गुनासो गरे। ‘विद्युत नहुँदा बालबालिका टुकी बालेर पढ्न बाध्य छन्,’ उनले भने, ‘गाउँमा किुटानी पिसानी मिल समेत बन्द भएको छ, मोबाइल चार्ज गर्न पनि सीमावर्ती गाउँ बेलही जानुपर्ने बाध्यता छ।’

के भन्छ प्राधिकरण ? 

प्राधिकरणको साइट इञ्चार्ज इञ्जिनियर धिरेन्द्र यादवका अनुसार गाउँलेहरुले बक्यौता रकम नबुझाउँदा विद्युत आपूर्ति रोकिएको हो। यसका साथै ट्रान्सफर्मरसँगै जडान गरिएको टिओडी मिटर पनि बिग्रिएकाले समस्या भएको इञ्जिनियर यादवको भनाइ छ।

बक्यौता रकम बुझाएपछि टिओडी मिटर पनि मर्मत हुने र विद्युत आपूर्ति सुरु हुने प्राधिरकणले बतायो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.