|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको गोवाको दुई दिने भ्रमणपछि सोमबार स्वदेश फर्किएका छन्। भारतको गोवामा भएको ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनमा सहभागी हुन गएका उनले चिनियाँ राष्ट्रपति सि जिनपिङ, श्रीलंकाका राष्ट्रपति मैत्रीपला सिरिसेना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेट गरेका थिए।

तर प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग संयुक्त रुपमा भेटेको विषय नेपालमा विशेष चर्चा भयो। नेपालका सञ्चार माध्यम र सामाजिक सञ्जालमा यसको सकारात्मक र नकारात्मक दुवै खालको टिप्पणी भयो। सोमबार स्वदेश फर्किने क्रममा प्रधानमन्त्री प्रचण्डले भेटघाटको विषयलाई यसरी प्रष्ट्याए। पढ्नुस् उनले भेटवार्ताबारे त्रिभुवन विमानस्थलमा पत्रकारहरुलाई गराएको जानकारीको सम्पादित अंश : 

ढुंगा खोज्दा देउता मिल्यो

चिनियाँ राष्ट्रपति सि जिनपिङसँग औपचारिक वार्ता सकिएपछि ब्रिक्स सदस्य राष्ट्र प्रमुखहरु रिट्रिटका लागि त्यही बाटो भएर आउने भएकाले हामीले केहीबेर प्रतिक्षा गर्नुपर्ने भयो। परराष्ट्रमन्त्री लगायतका टिम अर्को कोठामा र म प्रधानमन्त्रीको हैसियतले विशेष कार्यकक्षमा बसिरहेको बेला अचानक चीनका राष्ट्रपति म बसेकै कोठामा आउनुभयो।

समय मिलाएर चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग वान टु वान कुरा गर्ने मन त थियो नै। त्यहाँ त ढुङ्गा खोज्दा देउता मिलेजस्तो भयो। म बसिरहेको ठाउँमा चीनका राष्ट्रपति आएपछि सीधासीधा कुराकानी भयो। उहाँको नेपाल भ्रमण, विगतमा भएका सम्झौता कार्यान्वयन, नेपालको विकासको आवश्यकता, शान्ति प्रक्रियालाई पूर्णता दिने तथा संविधानको कार्यान्वयन गर्ने विषयमा हामीबीच कुराकानी भयो। २० मिनेटजति उहाँसँग नेपालको हितका बारेमा सीधासीधा कुरा गर्ने ऐतिहासिक अवसर थियो त्यो।

त्यही बीचमा भारतीय प्रधानमन्त्री मोदीजी पनि त्यहीँ आइपुग्नुभयो। किनभने ब्रिक्सका सबै राष्ट्रप्रमुखहरु त्यहाँ जुट्ने कार्यक्रम थियो। तर बाटोमा आउँदा कसैको प्लेन ढिला भएको, कसैको बाटो अप्ठ्यारो परेको कारणले ढिलो भयो। मोदीजी आइपुगेपछि हामी तीन जना भयौँ। त्यो पनि नेपाल राष्ट्र र जनताको लागि सुखद संयोग हुन पुग्यो।

संयोगवश बसाइँका क्रममा मोदीजी चाहिँ मेरो दक्षिणतिर, चिनियाँ राष्ट्रपति सी चाहिँ मेरो उत्तरतिर र म बीचमा परेँ। अनि ठ्याक्कै मैले त्यही भनिहालेँ, ‘दुई विशाल छिमेकी राष्ट्रहरुको बीचमा’ भन्नेबाटै मैले कुराकानी सुरु गरेँ। निकै खुशियालीको माहौल थियो त्यो। दुवैजना हाँस्नुभयो।

‘मैले त सुरुदेखि नै त्रिदेशीय साझेदारीको विषय उठाउँदै आएको छु, आज चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीलाई सँगै राखेर मैले आफ्नो कुरा राख्ने अवसर पाएको छु। यद्यपी नेपाल सानो छ। आर्थिक दृष्ट्रिकोणले पछाडि पनि परेको छ। तर पनि भारत, चीन र नेपालको बीचमा त्रिदेशीय साझेदारी भयो भने तपाईहरुले गर्दै गरेको आर्थिक उन्नतिबाट हामीले फाइदा उठाउन चाहन्छौँ’ भनेर मैले आफ्नो कुरा राखेँ।

त्यसपछि दुवै जना नेताले निकै सकारात्मक माहौलमा तपाई सानो देश भनेर केही मान्नु पर्दैन, तपाईले धेरै ठूलो काम गर्नुभएको छ। सानो र ठूलोको कुरा होइन। सानो र ठूलोको कुरा होइन भन्नुभयो। तर त्यो भेटमा कुनै समझदारी वा सहमति भयो भन्ने कुरा होइन। किनकी त्यो औचापरिक रुपमा तय भएको कार्यक्रम थिएन। त्यसक्रममा एउटा सकारात्मक धारणा व्यक्त भयो।

'चिनियाँ फिलोसफर हान सुइन चाहिँ भ्रमण गर्दै जाँदा गुजरात पुगेका रहेछन्। त्यहाँ पुग्ने दार्शनिक चाहिँ फेरि राष्ट्रपनि सिको गाउँको परेछन्' बडो विचित्रको ऐतिहासिक संयोग मोदीजीले सुनाउनुभयो। अनि राष्ट्रपति सिले चाहिँ हाम्रो गाउँका फिलोसफलर गुजराँत गएकव रेकर्ड नै छ भन्नुभयो। यसरी सम्बन्ध हाम्रो धेरै ऐतिहासिक छ भन्ने प्रसंग जोडियो। त्यही बेला मैले पनि बुद्धले भारत, चीन र नेपाललाई राम्रोसँग जोडेको छ। त्यसैगरी जानकी, पशुपतिजस्ताले पनि जोडेको छ र आधुनिक युगमा विज्ञान प्रविधिले जोडेको छ भन्ने कुरा राखेँ।

नेपालमा अहिले भइरहेको राजनीतिक प्रक्रिया, संविधान कार्यान्वयनको प्रक्रिया सबैमा हाम्रो पूर्ण समर्थन हुन्छ भनेर बीचमा रहेका मलाई भनेकोमा मेरो र नेपालीको लागि गौरवको विषय हो। मेरो विचारमा नेपालको लागि ठूलो कुरा प्राप्ति भयो। कहिलेकाहीँ संयोगले साह्रै ठूला उपलब्धी पनि हुन्छन्, कहिलेकाही दुर्घटना पनि हुन्छन्। यो चाहिँ यस्तो संयोग भयो जो दुर्लभ नै पाउने कुरा हो। त्यसलाई मैले नेपाल राष्ट्र र जनताको पक्षमा अधिकतम सदुपयोग गरेकोमा बडो गर्वले मेरो छाती फुलेको छ।

मिडियाप्रति दुखेसो

तर मिडियामा चाहिँ विचित्रका टिप्पणी आएको रहेछ। मलाई बडो नमीठो लागेको छ। कतिपय पत्रिकाले मैले चीनका राष्ट्रपतिलाई भेट्न ५ मिनेट ढिलो गरेँ भन्ने कुरालाई पनि समाचार बनाएको देख्दा मेरो मन नराम्रोसँग दुखेको छ। नेपाल के भयो भन्ने मलाई चिन्ता लागेको छ। परराष्ट्रमन्त्री यही हुनुहुन्छ हामी चाहिँ चिनियाँ राष्ट्रपतिलाई एक घण्टा अगाडिदेखि कुरेर बसेका थियौँ। किनभने धेरै कारणले समयको व्यवस्थापन भएको थिएन।

६ बजेर १० मिनेटमा कुरा गर्ने भनेर हामी गएर बसेका थियौँ। तर ७ बजेर १० मिनेट जाँदासम्म भेट्ने वातावरण मिलेन। राष्ट्रपति सि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको कुराकानी नै ढिलो सुरु भयो। हामी पर्खेर बसेका थियौँ, हाम्रो यहाँको स्थापित पत्रिकाले प्रधानमन्त्री दाहालले सि जिनपिङलाई ५ मिनेट कुराए भनेर समाचार लेख्नु भनेको त मलाई नेपाल के भयो भन्ने लागेको छ। यस्तो नकारात्मक दिमाग हाम्रो भयो र नकारात्मक कुरा भन्नमै हामीलाई आनन्द आउने हो भने देशलाई हामीलाई कहिले विकास गरौँला?

मैले के ठानेको छु भने यो पटक नेपाल र नेपालीको शीर ठाडो हुने गरी हाम्रो प्रतिनिमण्डलले अन्तर्राष्ट्रिय मञ्चहरुमा राम्रो भूमिका निर्वाह गरेका छौं। मैले सकेको मिहिनेत गरेँ भन्ने मलाई लागेको छ। तपाईहरुले सि जिनपिङ, प्रधानमन्त्री नरेन्द्र मोदी र म बसेर गरेको कुराकानी त देख्नुभयो नि। यसलाई पनि सकारात्मक भन्न नसक्ने, त्रिदेशीय साझेदारीको कुरा, शान्ति सम्झौता र संविधान कार्यान्वयनको कुरा, नेपाललाई दुवै देशको सहयोग चाहियो भनेर दुवै राष्ट्र प्रमुखलाई भनेको कुरा गर्व गर्न नसक्ने हामी कसरी प्रगति गरौँला भन्ने मलाई चिन्ता लागेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.