|

धनकुटा : धनकुटाको पर्यटकीयस्थल साँगुरीगढी गाउँपालिका वडा नं. ६ सिम्सुवा खोलामा अवस्थित नमस्ते झरनाको निर्माण कार्य सम्पन्न भएको छ। गत असार १ गते इटहरी उपमहानगरपालिका-९ घर भएका विक्रम तामाङ परिवारसँग झरना घुम्न आउँदा अचानक ढुंगा खसेर घाइते भएपछि उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको घट्नापछि झरना जोखिमपूर्ण भएको भन्दै व्यवस्थापन समितिले सर्वपक्षीय छलफलपछि नमस्ते झरनामा अनिश्चितकालको लागि पर्यटक आवागमन बन्द गरेको थियो।

झरना आवागमन बन्द गरेर करिब एक महिनाभन्दा बढी लगाएर झरना घुम्न आउने पर्यटकको सुरक्षाको लागि झरनाको दायाँबायाँ माछिकाँडे जाली लगाइएको छ। व्यवस्थापन समितिका संस्थापक अध्यक्ष अग्नि लिम्बूका अनुसार झरनामा ढुंगा नझर्ने गरी माछीकाँडे जाली लगाउने काम सकिएको छ।

नमस्ते झरनामा जान बन्द गरिएपछि पूर्वी तराईसहित भारतको दार्जेलिङ, बिहारलगायतका ठाउँबाट आउने सयौँ पर्यटक निराश हुने गरेका छन्। झरनाको चिसो पानीमा रमाउन तराईसहित भारतबाट दैनिक ४ सयको भन्दा बढी पर्यटक आउने गरेका थिए। तीमध्ये अधिकांश भारतीय पर्यटक हुन्।

नेपालमा सार्वजनिक बिदाको दिन शनिबार र भारतको सार्वजनिक बिदाको दिन आइतबार झरना अवलोकनको लागि दैनिक १५ सयसम्म पर्यटक आउने गरेको झरना समितिको दाबी छ। तर, झरना व्यवस्थापन समितिले एक महिनायता झरना प्रवेशमा रोक लगाएसँगै दैनिक सयौँ पर्यटक निराश हुँदै झरनाको प्रवेशद्वारबाट फर्कन बाध्य भएका छन्। झरना हेर्न नपाउँदा दुखी भएको इटहरी सुनसरीका मोहन कार्कीले बताए।

यस्तै, झरना प्रवेशमा रोक लगाएपछि झरना आसपास सञ्चालित तीन दर्जनभन्दा बढी होटलहरु अहिले सुनसान अवस्थामा छन्। झरना आसपासका क्षेत्रमा मात्र नभई धनकुटाको भेडेटार, मूलघाट तथा सुनसरीको धरान, इटहरीलगायतका क्षेत्रमा समेत सञ्चालित होटल व्यवसायमा प्रत्यक्ष असर पुगेको व्यवसायी बताउँछन्। झरना परिसरमा होटल सञ्चालन गरिरहेका पर्शुराम थापाले भाडा तिर्न नसक्ने अवस्था आएकाले झरना नखुले होटल बन्द अवस्थामा पुगेको बताए।

झरना सञ्चालनमा नआउँदा धनकुटाका पर्यटकीयस्थलको आर्थिक गतिविधिसमेत घट्नुको साथै दैनिक सयौँ पर्यटक निराश हुँदै फर्कन बाध्य छन्। जोखिमपूर्ण बनेको झरनाको चाँडै व्‍यवस्थापन गरी प्रवेश खुलाउन स्थानीय बासिन्दा, होटल व्यवसायी तथा पर्यटकको माग छ। यता, झरना व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार लिम्बूले अबको केही दिनमा औपचारिक रुपमा झरनामा पर्यटक आवतजावत खुला गर्ने बताए। उनले झरनामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको लागि अबको दिनमा थप सुरक्षा व्यवस्था अपनाइने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.